मनकामना दर्शन गरी फर्किँदै गरेको माइक्रोबस दुर्घटनामा ६ जनाको मृत्यु

गोरखाको मनकामना मन्दिर दर्शन गरी फर्किँदै गरेको माइक्रोबस दुर्घटना हुँदा ६ जना भारतीय तीर्थयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

प्रतीकात्मक तस्वीर

गोरखा— गोरखाको मनकामना मन्दिर दर्शन गरी फर्किँदै गरेको यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा ६ जना भारतीय नागरिकको मृत्यु भएको छ।

शहीद लखन गाउँपालिका–३, कान्टारमा शनिबार साँझ बा.प्र.०१–००६ ख ८४३० नम्बरको माइक्रोबस दुर्घटनाग्रस्त भएको हो। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख, प्रहरी उपरीक्षक भरतबहादुर विकका अनुसार दुर्घटनामा परी मृत्यु हुने सबै जना भारतीय नागरिक हुन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार माइक्रोबसमा कुल १३ जना यात्रु सवार थिए। दुर्घटनास्थलमा उद्धार कार्य जारी रहेको र घाइते तथा मृतकको पूर्ण विवरण संकलन गर्ने काम भइरहेको प्रहरी उपरीक्षक विकले जानकारी दिए।