रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

सर्वोच्च अदालतले धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेजीविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै निर्वाचनमा विजयी नेकपाका उम्मेदवार मातृका यादवको शपथको बाटो खुलेको छ।

काठमाडौँ— सर्वोच्च अदालतले धनुषा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह 'कमल'को उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको इजलासले साहको पक्षमा अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो। अदालतको यो निर्णयसँगै निर्वाचन आयोगले विजयी घोषणा गरिसकेका नेकपाका उम्मेदवार मातृका यादवका लागि सांसद पदको शपथ ग्रहण गर्ने कानुनी बाटो खुलेको छ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी दायित्व पूरा नगरेको भन्दै कर्जा सूचना केन्द्रले साहको 'कमल निर्माण सेवा प्रालि'लाई कालोसूचीमा राखेको थियो। सोही आधारमा निर्वाचन आयोगले मतदानको दुई दिनअघि, फागुन १८ गते, साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। यद्यपि, समय अभावका कारण मतपत्रमा साहको चुनाव चिह्न यथावत् राखेरै मतदान सम्पन्न भएको थियो।

मतदानपश्चात् निर्वाचन अधिकृतको कार्यालयले नेकपाका उम्मेदवार यादवलाई विजयी भएको प्रमाणपत्र प्रदान गरेको थियो। साहले आफ्नो उम्मेदवारी खारेजी र यादवलाई विजयी घोषणा गर्ने आयोगको निर्णय दुवैलाई चुनौती दिँदै सर्वोच्चमा रिट दायर गरेका थिए। अदालतले साहका दुवै रिटलाई एकैसाथ राखी सुनुवाइ गरेको थियो।

यसअघि, कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको विषयमा साहले दायर गरेको अर्को एक रिटमा न्यायाधीश सारङ्गा सुवेदीको इजलासले केन्द्रबाट प्राप्त पत्रका आधारमा उनी कालोसूचीमा नरहेको ठहर गर्दै अन्तरिम आदेश जारी गरेको थियो। तर, उम्मेदवारी खारेजीसँग सम्बन्धित पछिल्लो रिटमा सर्वोच्चका न्यायाधीशद्वय शर्मा र पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।