नेप्से परिसूचकमा ६४ अंकको वृद्धि, २१ अर्ब २२ करोडको कारोबार

बिहीबार नेप्से परिसूचक ६४.६९ अंकले बढ्दा २१ अर्ब २२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

काठमाडौँ— साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा उच्च अंकको वृद्धि देखिएको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६४.६९ अंक अर्थात् २.३० प्रतिशतले बढेर २,८७७.०३ विन्दुमा पुगेर बन्द भएको हो।

बजार खुलेदेखि नै सकारात्मक देखिएको नेप्सेले दिनभरि नै वृद्धि कायम राखेको थियो। बिहीबारको कारोबारपछि कुल बजार पुँजीकरण ४८ खर्ब ७६ अर्ब १९ करोड रुपैयाँभन्दा माथि पुगेको छ।

नेप्सेका अनुसार दिनभर कुल ३४२ वटा कम्पनीका पाँच करोड ६९ लाख २० हजार ६०८ कित्ता शेयर २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८८६ रुपैयाँमा खरिद–बिक्री भए। कुल एक लाख ९१ हजार २५१ वटा कारोबार भएको आजको बजारमा २४० वटा कम्पनीको मूल्य बढ्दा २२ वटाको घटेको छ भने २ वटाको स्थिर रह्यो।

आज सबै उप-समूहगत सूचकहरूमा हरियाली छाएको छ। विकास बैंक समूह सबैभन्दा बढी ३.९५ प्रतिशतले बढेको छ भने बैंकिङ ३.१६ प्रतिशत र जीवन बीमा २.७६ प्रतिशतले उकालो लागेका छन्। यस्तै, जलविद्युत् २.३०, फाइनान्स १.९४, उत्पादन तथा प्रशोधन १.८९, लगानी १.७७ र होटल तथा पर्यटन समूह १.७५ प्रतिशतले बढेका छन्। लघुवित्त समूह १.२४ प्रतिशतले बढ्दा म्युचुअल फण्ड भने ०.०४ प्रतिशतको सामान्य वृद्धिमै सीमित रह्यो।

आजको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्ससहित पाँच वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा शेयर खरिदबिक्री भयो। अर्कातर्फ, नेपाल लाइफ समृद्धि योजनाका लगानीकर्ताले सबैभन्दा बढी ५.१२ प्रतिशतले गुमाएका छन्।

कारोबार रकमका आधारमा ६७ करोड १६ लाख रुपैयाँसहित ङादी ग्रुप पावर शीर्ष स्थानमा रह्यो। नेशनल हाइड्रोपावर र रिडी पावरको पनि उच्च कारोबार भएको छ। शेयर संख्याका आधारमा भने अपर तामाकोशी हाइड्रोपावरको २५ लाख ४८ हजार २७१ कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ।