शुक्रबार र शनिबार भारी वर्षा र तीव्र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

शुक्रबार कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा र हिमपातको आकलन गरिएको छ। साथै, तराई र पूर्वी पहाडी जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन गृह मन्त्रालयले आग्रह गरेको छ।

प्रतीकात्मक तस्वीर

काठमाडौँ— आगामी चैत ६ गते शुक्रबार र ७ गते शनिबार देशका विभिन्न भागमा भारी वर्षा, हिमपात तथा तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना देखिएका भन्दै गृह मन्त्रालयले उच्च सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ। 

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै प्रतिकूल मौसमका कारण हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि विशेष सावधानी अपनाउन सूचित गरेको हो। 

विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा भारी वर्षा र हिमपात हुने आकलन गरिएको छ भने तराई र पूर्वी पहाडी जिल्लाहरूमा तीव्र हावाहुरीको जोखिम रहेको छ।

मौसम पूर्वानुमानअनुसार शुक्रबारदेखि दाङ र नेपालगन्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रहरूमा र शनिबारदेखि पूर्वी क्षेत्रका विराटनगर, धनकुटा तथा धरान आसपासका जिल्लामा झन्डै ११९ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चल्न सक्ने देखिएको छ। प्रि-मनसुनको अवधि भएकाले यस्तो शक्तिशाली हावाहुरीका कारण रूख ढल्ने, कच्ची संरचना र घरका छाना उड्ने तथा विद्युत् र सञ्चार सेवा अवरुद्ध हुन सक्ने जोखिम रहन्छ। 

प्राधिकरणले नागरिकलाई अत्यावश्यक कामबाहेक यात्रामा ननिस्कन र घरबाहिर रहेको अवस्थामा तत्काल सुरक्षित स्थानमा आश्रय लिन अनुरोध गरेको छ। प्राधिकरणअन्तर्गत विपद् प्रतिकार्य शाखाका उपसचिव रामबहादुर केसीले जारी गरेको सूचनामा हावाहुरी चलेका बेला घरका झ्याल–ढोका राम्रोसँग बन्द गर्न, आगोका स्रोत निभाउन र सवारीसाधन चलाइरहेको भए तत्काल रोकेर सुरक्षित ठाउँमा बस्न सुझाव दिइएको छ।

यसैगरी, भीडभाड भएको स्थानमा रहेका व्यक्तिलाई नआत्तिन र भागदौड नगरी संयमताका साथ सुरक्षित स्थानतर्फ जान भनिएको छ। भौतिक सुरक्षाका दृष्टिले कमजोर संरचना, अग्ला रूख, टेलिफोन र बिजुलीका खम्बा तथा तारमुनि नबस्न प्राधिकरणले अनुरोध गरेको छ। विद्युतीय तार लत्रिएको अवस्थामा त्यसलाई नछुन र सो समयमा विद्युतीय उपकरणको प्रयोग नगर्नसमेत आग्रह गरिएको छ। नागरिकलाई आगामी दिनमा पनि जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने आधिकारिक सूचना नियमित रूपमा अध्ययन गरी आवश्यक सतर्कता अपनाउन मन्त्रालयले अपिल गरेको छ।

null