विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित ३ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा चीनतर्फ लैजान लागिएको २८ हजार ९०० अमेरिकी डलरसहित प्रहरीले तीन जना नेपाली नागरिकलाई पक्राउ गरेको छ।

फाइल तस्वीर

काठमाडौँ— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन जना नेपाली नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका–१ की ४५ वर्षीया अनिता लामा, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ की ३८ वर्षीया सङ्गीता लामा र सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–७ का ४७ वर्षीय विनोद लामा रहेका विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।

उनका अनुसार चीनको ग्वाङझाउ जान लागेका ती यात्रुहरूलाई विमानस्थलको प्रस्थान क्षेत्रमा खानतलासी गर्ने क्रममा उक्त रकम फेला परेको हो। “चाइना साउदर्नको उडान नम्बर सीजेड ६०६८ मार्फत जान लागेका यात्रुहरूको ह्याण्ड ब्यागेज र शरीर खानतलासी गर्दा अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको डलर बरामद भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो,” प्रवक्ता सिलवालले भने।

प्रहरीका अनुसार अनिता र सङ्गीताको साथबाट १०/१० हजार र विनोदको साथबाट ८ हजार ९०० अमेरिकी डलर बरामद गरिएको छ। पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि ललितपुरको हरिहरभवनस्थित राजस्व अनुसन्धान विभागमा बुझाइएको प्रहरीले जनाएको छ।