इरानसँगको ‘वार्ता फलदायी’ भएको ट्रम्पको दाबी, ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न निर्देशन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता सकारात्मक दिशामा अघि बढेको उल्लेख गर्दै पाँच दिनका लागि इरानी ऊर्जा पूर्वाधारमा हुने सैन्य आक्रमण स्थगित गर्न निर्देशन दिएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको पछिल्लो छलफल फलदायी भएको बताएका छन्। उनले सोमबार सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत दुई देशबीच मध्यपूर्वको शत्रुतापूर्ण सम्बन्ध समाधान गर्ने विषयमा सकारात्मक कुराकानी भएको जानकारी दिएका हुन्।

वार्ता प्रक्रिया अघि बढेको भन्दै ट्रम्पले इरानको ऊर्जा प्लान्ट र पूर्वाधारमा हुने भनिएका सबै सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्न अमेरिकी रक्षा विभागलाई निर्देशन दिएका छन्। उनले यसअघि दिइएको चेतावनी बमोजिमको कारबाही तत्काल रोक्न अमेरिकी र इजरायली सेनालाई आग्रह गरेका हुन्।

ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन्, “संयुक्त राज्य अमेरिका र इरानबीच मध्यपूर्वको शत्रुतापूर्ण अवस्थाको पूर्ण समाधानका बारेमा विगत दुई दिनमा निकै राम्रो र उत्पादक कुराकानी भएको छ।”

उनले यो रचनात्मक वार्ता साताभर जारी रहने प्रतिबद्धता आएकाले सैन्य हडताल रोक्न निर्देशन दिएको उल्लेख गरेका छन्।

राष्ट्रपति ट्रम्पका अनुसार यो निर्णय जारी बैठक र छलफलको सफलतामा निर्भर हुनेछ। उनले मध्यपूर्वको द्वन्द्वलाई पूर्ण रूपमा अन्त्य गर्ने उद्देश्यका साथ गहन र विस्तृत छलफल भइरहेको बताएका छन्। 

पोस्टमा उनले लेखेका छन् “म यो जानकारी दिन चाहन्छु कि संयुक्त राज्य अमेरिका र इरानबीच पछिल्ला दुई दिनमा मध्यपूर्वमा हाम्रो शत्रुताको पूर्ण समाधानका बारेमा धेरै राम्रो र उत्पादक कुराकानी भएको छ। यी गहन, विस्तृत र रचनात्मक कुराकानीहरूको आधारमा, जुन यो हप्ताभरि जारी रहनेछन्, मैले रक्षा विभागलाई इरानी पावर प्लान्ट र ऊर्जा पूर्वाधारविरुद्धका सबै सैन्य प्रहारहरू पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएको छु। यो निर्णय जारी बैठक र छलफलहरूको सफलतामा निर्भर रहनेछ। यस विषयमा ध्यान दिनुभएकोमा धन्यवाद! – राष्ट्रपति डोनल्ड जे. ट्रम्प।”