नेप्से परिसूचक १४ अंकले बढ्यो, १३ अर्बभन्दा बढीको कारोबार

बिहीबार नेप्से परिसूचक १४.२१ अंकले बढेर २९५०.१६ को विन्दुमा कायम भएको छ भने १३ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

काठमाडौँ— यो साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ। बिहीबार नेप्से परिसूचक १४.२१ अंकले बढेर २९५०.१६ को विन्दुमा कायम भएको छ।

आज ३४३ कम्पनीका ३ करोड ४ लाख ३८ हजार ३१५ कित्ता शेयर १ लाख ४२ हजार ७३४ पटक खरिदबिक्री हुँदा १३ अर्ब १६ करोड २२ लाख ९९ हजार १७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा विकास बैंक ०.०५, जीवन बिमा ०.०४ र व्यापार समूह २.८४ प्रतिशतले घटेका छन् भने अन्य सबै समूहका उपसूचक बढेका छन्। बैंकिङ ०.३७, वित्त ०.१७, होटल तथा पर्यटन १.५६, जलविद्युत् १.५६, लगानी ०.५१, उत्पादन तथा प्रशोधन १.५०, लघुवित्त ०.२०, निर्जीवन बिमा ०.४३ र अन्य समूह ०.६५ प्रतिशतले बढेका हुन्।

आज रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर र होटल फरेस्ट इनको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्य ७.४८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ९४ करोड २९ लाख ८० हजार ४६ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएको शेयर संख्याका आधारमा भने सबैभन्दा बढी नेसनल हाइड्रोपावरको १४ लाख ८३ हजार ३३१ कित्ता शेयर किनबेच भएको छ।