निकोलस मदुरोलाई दोस्रो पटक सुनुवाइका लागि बिहीबार न्यूयोर्कस्थित एक अदालतमा उपस्थित गराइएको छ। मदुरोसँगै उनकी पत्नी सिलिया फ्लोरेसलाई पनि तीन महिनादेखि ब्रुकलिनको जेलमा राखिएको छ।
भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोलाई बिहीबार दोस्रो पटक न्यूयोर्कको एक अदालतमा सुनुवाइका लागि उपस्थित गराइएको छ। अमेरिकी सेनाले भेनेजुएलाको राष्ट्रपति भवनमा छापा मारी पक्राउ गरेपछि उनलाई गत जनवरीमा अमेरिका पुर्याइएको थियो। उनलाई ‘नार्को–आतंकवाद’, कोकिन कारोबार, मेसिनगन र विध्वंसक उपकरणहरू राखेको तथा ती उपकरण प्रयोग गरी षड्यन्त्र गरेको चार वटा गम्भीर अभियोगमा न्यायिक कारबाहीका लागि अदालतमा पेश गरिएको हो।
मदुरोसँगै उनकी पत्नी सिलिया फ्लोरेसलाई पनि तीन महिनादेखि ब्रुकलिनको जेलमा राखिएको छ। मदुरोले आफूलाई ‘युद्धबन्दी’ दाबी गरेका छन्। उनले नार्को–आतंकवाद, कोकिन आयात र घातक हतियार राखेको अभियोगमा आफू दोषी नभएको अडान लिँदै आएका छन्। बिहीबारको सुनुवाइमा मदुरोले आफ्नो मुद्दा खारेज गर्नुपर्ने माग दोहोर्याउने सम्भावना छ। यता, उनको मुद्दा हेरिरहेका वकिलहरू भने पूर्व नेताको कानुनी शुल्क कसले तिर्ने भन्ने विषयमा अदालतको निर्णयको पर्खाइमा छन्।
भेनेजुएला सरकारले उक्त खर्च बेहोर्न खोजे पनि वासिङ्टनको प्रतिबन्धका कारण उनका वकिल ब्यारी पोलाकले अमेरिकी लाइसेन्स लिनुपर्ने हुन्छ, जुन अहिलेसम्म जारी गरिएको छैन। पोलाकले अदालतमा पेश गरेको निवेदनमा लाइसेन्सको आवश्यकताले मदुरोको कानुनी प्रतिनिधित्वको संवैधानिक अधिकार उल्लंघन गरेको तर्क गर्दै प्रक्रियागत आधारमा मुद्दा खारेज गर्न माग गरेका छन्।
मदुरो र फ्लोरेसलाई बोकेको प्रहरी लस्कर बिहान ४ बजे नै जेलबाट म्यानह्याटन अदालत पुग्न निस्किएको एएफपीका पत्रकारहरूले बताएका छन्। ब्रुकलिनको ‘महानगरीय कैदी केन्द्र’ मा हिरासतमा रहेका मदुरोलाई इन्टरनेट वा अखबारको पहुँच नभएको कोठामा एक्लै राखिएको छ।
भेनेजुएला सरकार निकट स्रोतलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार जेलमा रहँदा मदुरोले बाइबल पढ्ने गर्छन् र उनका केही सहकर्मीले अझै पनि उनलाई ‘राष्ट्रपति’ भनेर सम्बोधन गर्छन्। उनले आफ्नो परिवार र वकिलसँग फोनमा अधिकतम १५ मिनेट मात्र कुराकानी गर्न पाउने व्यवस्था छ। वकिलहरूका अनुसार मदुरो मानसिक रूपमा ‘सशक्त’ छन्। उनका छोरा निकोलस मदुरो गुएराले आफ्ना पिताका सम्बन्धमा सोधिएको प्रश्नमा भने, “हामी ठीक छौँ किनकि हामी लडाकु हौँ।”
मदुरो र उनकी पत्नीलाई अमेरिकी कमान्डोले गत जनवरी ३ को बिहान भेनेजुएलाको राजधानीमा लडाकु विमानको सहयोगमा हवाई आक्रमण गरी नियन्त्रणमा लिएर गोप्य रूपमा अमेरिका पुर्याएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
