नेप्से परिसूचकमा दोस्रो दिन पनि उच्च अंकको गिरावट

सोमबार पनि नेप्से परिसूचक ४७.७१ अंकले घटेर २८३१.३९ को बिन्दुमा सीमित भएको छ।

काठमाडौँ— नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन ७१ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार दोस्रो दिन पनि उच्च अंकको गिरावट देखिएको छ। सोमबार नेप्से परिसूचक ४७.७१ अंकले घटेर २८३१.३९ को बिन्दुमा कायम भएको छ। यो १.६५ प्रतिशतको गिरावट हो। 

आज ३४१ कम्पनीको ३ करोड १६ लाख ६ हजार ७१७ कित्ता शेयर १ लाख ५९ हजार ३२८ पटक खरिदबिक्री हुँदा १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार १६८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ। आज २३७ कम्पनीको शेयर मूल्य घट्दा २६ वटाको मात्र बढेको छ। रिलाइन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिजलाईन इनर्जी र होटल फरेस्ट इनको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै सोलु हाईड्रोपावरको शेयर मूल्य ७.७९ प्रतिशतले घटेको छ।