एएफसी एशियन कप छनोट: अन्तिम खेलमा नेपाल लाओससँग पराजित

एएफसी एशियन कप छनोट फुटबलअन्तर्गत समूह ‘एफ’को आफ्नो अन्तिम खेलमा नेपाल आयोजक लाओससँग १–० गोलअन्तरले पराजित भएको छ।

काठमाडौँ— एएफसी एशियन कप छनोट फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा नेपाल लाओससँग पराजित भएको छ। लाओसको नेसनल रंगशालामा मंगलबार भएको खेलमा नेपाल १–० गोलअन्तरले पराजित भएको हो।

खेलको पहिलो हाफमा रक्षात्मक प्रदर्शन गरेको नेपालले दोस्रो हाफको सुरुवातमै गोल खाएको थियो। लाओसका कप्तान बोउनफचान बोन्कोंगले खेलको ४८औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

नेपालले गोल फर्काउन निकै प्रयास गरे पनि सफल हुन सकेन। एशियन कप छनोटबाट यसअघि नै बाहिरिसकेको नेपालले समूह ‘एफ’का ६ खेलबाट मात्र ३ अंक जोड्न सक्यो। नेपालले यसअघि घरेलु मैदानमा भएको खेलमा भने लाओसलाई पराजित गरेको थियो।