इरान र अमेरिकाबीच दुई साताको युद्धविराम, स्ट्रेट अफ होर्मुज खोल्ने सहमति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग दुई साताको युद्धविराममा सहमत भएका छन्।

फाइल तस्वीर

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग दुई साताको युद्धविराममा सहमत भएका छन्। रोयटर्सका अनुसार स्ट्रेट अफ होर्मुज पुनः खोल्न इरानलाई दिएको समयसीमा सकिन दुई घण्टाभन्दा कम समय बाँकी रहँदा ट्रम्पले यस्तो घोषणा गरेका हुन्।

ट्रम्पले यसअघि होर्मुज जलमार्ग नखोलिए इरानको नागरिक पूर्वाधारमाथि विनाशकारी आक्रमण हुने चेतावनी दिएका थिए। उनले “आज राति पूरै सभ्यता ध्वस्त हुन सक्छ” भन्ने अभिव्यक्ति प्रयोग गरेका थिए।

युद्धविराम गराउन मध्यस्थता गरेका पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले शुक्रबार इस्लामाबादमा अमेरिकी र इरानी प्रतिनिधिमण्डलबीच वार्ताको प्रस्ताव गरेका छन्।

सम्झौताअनुसार इरानले स्ट्रेट अफ होर्मुजमार्फत तेल र ग्यास आपूर्ति अवरोध नगर्ने र जलमार्गबाट जहाजलाई सुरक्षित आवागमनको अनुमति दिने जनाएको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले पनि तेहरानले जवाफी आक्रमण रोक्ने बताएका छन्।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै यसलाई “दुवै पक्षीय युद्धविराम” भनेका छन्। उनले दीर्घकालीन शान्ति र मध्यपूर्वमा स्थायित्वतर्फ सहमति अघि बढिरहेको दाबी गरेका छन्।