लेबनानमा इजरायली आक्रमण, एकै दिनमा २५० भन्दा बढीको मृत्यु

रोयटर्सका अनुसार बुधबार लेबनानमा भएको आक्रमणमा कम्तीमा २५४ जनाको मृत्यु भएको छ भने ११०० भन्दा बढी घाइते भएका छन्।

लेबनानमा इजरायली आक्रमण, एकै दिनमा २५० भन्दा बढीको मृत्यु
रोयटर्स

काठमाडौँ- अमेरिका–इरानबीच दुई साताको युद्धविराम लागू भएको भोलिपल्टै इजरायलले लेबनानमा अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको छ। रोयटर्सका अनुसार बुधबारको आक्रमणमा कम्तीमा २५४ जनाको मृत्यु भएको छ भने ११०० भन्दा बढी घाइते भएका छन्।

इजरायली सेनाले बेइरुत, बेक्का उपत्यका र दक्षिणी लेबनानमा १० मिनेटभित्र १०० भन्दा बढी हिजबुल्लाह कमाण्ड केन्द्र र सैन्य स्थल लक्षित गरी आक्रमण गरेको जनाएको छ। राजधानी बेइरुतमा मात्रै ९१ जनाको मृत्यु भएको बताइएको छ।

आक्रमणपछि हिजबुल्लाहले युद्धविराम उल्लंघन भएको आरोप लगाउँदै उत्तरी इजरायलतर्फ पुनः रकेट प्रहार गरेको जनाएको छ।  इजरायल–अमेरिकाले “आक्रमण नरोकेसम्म जवाफ जारी रहने” चेतावनी समेत दिएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार लेबनान युद्धविराम सम्झौतामा समावेश नभएको भन्दै हिजबुल्लाहमाथि कारबाही जारी रहने बताएका थिए। ह्वाइट हाउसले पनि लेबनान युद्धविरामको हिस्सा नभएको स्पष्ट पारेको छ।

यसैबीच संयुक्त राष्ट्रसंघीय मानवअधिकार प्रमुखले लेबनानमा भएको ठूलो मानवीय क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। लेबनानका राष्ट्रपति जोसेफ आउनले फ्रान्ससँग कूटनीतिक पहलमार्फत लेबनानलाई पनि युद्धविराममा समेट्न आग्रह गरेका छन्।