'मेरो लेखनीको केन्द्र मानवीय भावना र संवेदना हो'

'यसपटक मेरो ध्येय पाठकलाई रमाइलो गराउँदै पढाउने र अन्त्यमा भने भावनात्मक रूपमा छुने हो।'

लेखक शिबा शाहले आफ्नो चौथो उपन्यास ‘मदर माइन’ पाठकमाझ ल्याएकी छन्। यसअघि उनले ‘बियोन्ड द इलुजन’, ‘फेसिङ माई फ्यान्टम’ र ‘कान्छी महारानी’ उपन्यास प्रकाशित गरिसकेकी छन्। ‘कान्छी महारानी’ उनको हालसम्म सबैभन्दा रुचाइएको पुस्तक हो। शनिबार विमोचन हुन लागेको ‘मदर माइन’ उपन्यासको सेरोफेरोमा लेखक शिबा शाहसँग उकालोले गरेको कुराकानीको सम्पादित अंश :

आख्यान विधामा कलम चलाउन रुचि राख्ने तपाईंको यसपटकको उपन्यास पहिलेका तुलनामा के फरक छ?

हो, म आख्यान लेखनीमा रुचि राख्छु। यद्यपि, यसभित्र पनि विभिन्न विधा र शैली हुन्छन्। मलाई एकै धारमा लेख्न मन लाग्दैन। मेरो पहिलो पुस्तक ‘बियोन्ड द इलुजन’ आख्यान भएता पनि धेरै हदसम्म आत्मवृत्तान्त (अटोबायोग्राफी) थियो। माओवादी द्वन्द्वकालमा जसरी राजकीय परिवार नेपालबाट लखेटियो, त्यसमध्ये हामी पनि एक थियौँ। ‘फेसिङ माई फ्यान्टम’ मा राजा त्रिभुवनदेखि ज्ञानेन्द्रकालसम्म हाम्रा हजुरआमा, आमा पुस्तादेखि मेरो पुस्ताले भोगेका विषय र राजनीतिक वृत्तान्त समेटेर लेखेकी थिएँ।

‘कान्छी महारानी’ ऐतिहासिक पाटोबाट अध्ययन–अनुसन्धान केन्द्रित उपन्यास थियो। यी सबैका लागि धेरै अध्ययन–अनुसन्धान गर्नुपर्‍यो। यसपटक ‘मदर माइन’ उपन्यासमा भने मैले आफूलाई खुला छाडेकी छु। आमा–छोरी बीचको सम्बन्धका आयामलाई यसमा केलाएकी छु। फ्रि स्टाइल (स्वतन्त्र) शैली रोजेकी छु। यद्यपि, जुनसुकै विधा वा शैलीमा लेखे पनि मेरो लेखनीको अन्तर्य सधैँ मानवीय सम्बन्ध, संवेदना र भावनामा नै केन्द्रित हुने गर्छ।

उपन्यासमा महिलावादी शब्द प्रयोग वा भावभङ्गीबिनै पनि महिलाको चाहना र भावनालाई सूक्ष्म रूपमा अभिव्यक्त गर्नुभएको छ। आमा र छोरीमार्फत के सन्देश दिन खोज्नुभएको हो?

मैले अघि पनि भनेको छु, मानिसका भावना र संवेदना मेरो लेखनीको जग हो। यस्तोमा मेरो उपन्यासका महिला पात्रको मनोभावना, दुःख र सुख सायद त्यही रूपमा व्यक्त भएका छन्। यद्यपि, मैले यसपटक धेरै गम्भीर नभई सरल लेखनी अपनाएकी हुँ। यसपटक मेरो ध्येय पाठकलाई रमाइलो गराउँदै पढाउने र अन्त्यमा भने भावनात्मक रूपमा छुने हो।

उपन्यासमा लैङ्गिक तथा यौनिक समुदायको प्रेम सम्बन्धलाई पनि स्थापित गर्नुभएको छ। यसमा कस्तो प्रतिक्रिया पाउनुभएको छ?

महिला र पुरुषको प्रेमकथा धेरै लेखिएका छन्। मैले यसपटक ट्र्याक चेन्ज गरेकी छु। उपन्यासकी मुख्य महिला पात्र एक समलिङ्गी पुरुषको प्रेममा पर्ने विषयलाई नयाँ अभ्यासका रूपमा प्रस्तुत गर्न खोजेकी हुँ।

उपन्यासमा तपाईंको निजी जीवनका केही प्रतिबिम्ब समाहित छन् कि?

त्यस्तो धेरै त छैन। तर मेरा चिनेजानेका साथीभाइले आफू र आफ्नी छोरीसँगको नोकझोक उस्तै लाग्ने बताएका थिए। यद्यपि, उपन्यासका आमा र छोरी दुवै पात्रमा मेरो आफ्नै बानी केही मात्रामा घोलेकी छु।

“यो जमाना कि त एआई हो या त ओरी” — उपन्यासको एउटा अंशमा उल्लेख गर्नुभएको छ, यसको अर्थ?

मलाई यो पुस्तक समसामयिक बनाउनु थियो। लेख्दालेख्दै सो लाइन फुर्‍यो। हुन पनि यो जमाना कि त एआईको हो कि त ओरीको। बलिउड र इन्स्टाग्रामप्रेमीहरूले यो लाइन अझ राम्रोसँग बुझ्नुहुन्छ।

पुस्तकमा प्रिया पात्रले बलिउडमा प्रवेश पाउनका लागि गरेको दुःख र उनीमाथि भएको शोषणलाई देखाउनुभएको छ। के यो कुनै वास्तविक पात्रको कथा हो?

ठ्याक्कै यही हो भन्दिनँ, किनकि मैले यस्ता पात्रहरूलाई भेट्ने वा समय बिताउने गरेको छैन। तर, म बम्बईमा तीन वर्ष बसेकी थिएँ। त्यो बेला ‘मी टू मुभमेन्ट’ शुरू भएको थियो। छोटो समयका लागि चलेका हिरोइनहरूले आफ्ना निर्देशक र निर्माताविरुद्ध आवाज उठाइरहेका थिए। पत्रिकामा पढ्थेँ। सायद त्यही आधारमा मैले पात्रका भोगाइको कल्पना गर्न सकेँ।

तपाईंको आगामी पुस्तक के विषयमा छ?

मेरो आगामी पुस्तक नैनिताल केन्द्रित छ। मेरो पढाइ र हुर्काइ त्यहीँ भयो। नैनितालले मलाई जे दियो, तिनै सम्झनाको हार्दिकतासहित सो पुस्तक नैनिताललाई अर्पण गर्न चाहन्छु।

आफ्ना पाठकबाट कस्तो अपेक्षा गर्नुभएको छ?

मेरा नेपाली पाठक मप्रति सधैँ इमानदार रहनुभएको छ, यसका लागि म कृतज्ञ छु। यसपटकको उपन्यासको केन्द्र भारतमै छ। एक हिसाबले भन्ने हो भने, यसपाली भारतीय पाठकलाई केन्द्रित गरेकी छु। भारतीय पाठकको नजरमा पर्ने प्रयास यो उपन्यासमार्फत गर्न खोजेकी छु।