इस्लामाबादमा वार्ताको टुंगो लागेन, अमेरिकाले 'अवैध' अनुरोध गरेको इरानको आरोप

इस्लामाबादमा भएको वार्ता एक दशकभन्दा बढी समयपछि पहिलो पटक अमेरिका–इरानी प्रत्यक्ष भेटघाट थियो।

अमेरिका-इरानबीच इस्लामाबादमा जारी वार्ता।

काठमाडाैँ– संयुक्त राज्य अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामाबादमा जारी शान्ति वार्ता कुनै निष्कर्षमा नपुगी सकिएको छ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अहिलेसम्म कुनै सम्झौता नभएको बताएका छन्। उनले ऐतिहासिक शान्ति वार्ताको बारेमा पत्रकार सम्मेलन गर्दै भने, "अमेरिकाले आफ्नो कुरा स्पष्ट पारेको थियो, तर इरानले हाम्रा सर्तहरूमा सहमति जनाएन।"

उपराष्ट्रपति भान्सले भने, "अमेरिका र इरानबीच २१ घण्टादेखि वार्ता भइरहेको छ, तर नराम्रो खबर यो हो कि हामी कुनै पनि सम्झौतामा पुग्न सकेका छैनौं।" उनले यसलाई अमेरकाभन्दा पनि इरानको लागि नराम्रो खबर भएको बताए।

यसबाहेक, उनले पाकिस्तानी प्रधानमन्त्री र फिल्ड मार्शल असीम मुनीरप्रति कृतज्ञता व्यक्त गरे। इस्लामाबादको तर्फबाट वार्तामा कुनै कमीकमजोरी नरहेको उनले बताए। इरानले आणविक हतियार राख्न पाउनुपर्ने आफ्नो अडान नछाडेपछि वार्ताले निकास नपाएको उनको भनाइ थियो।

भान्सले भने, "हामीलाई स्पष्ट प्रतिबद्धता चाहिन्छ कि इरानले आणविक हतियार प्राप्त गर्न खोज्नेछैन वा चाँडै आणविक हतियार प्राप्त गर्न सक्ने माध्यमहरू खोज्नेछैन। त्यो संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिको प्राथमिक लक्ष्य हो। हामी यी वार्ताहरू मार्फत यही हासिल गर्न खोजिरहेका छौं।" 

उनले अमेरिका लचिलोपन र राम्रो मनसायका साथ वार्तामा आएको भए पनि दुई पक्ष सहमतिमा पुग्न नसक्नु दुर्भाग्यपूर्ण रहेको बताए। 

उता इरानले भने वार्ताको सफलता विपक्षी पक्ष (अमेरिका)को नियतमा भर पर्ने जनाएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकासँगको शान्ति वार्ताको स्थितिबारे सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गरेका छन्।

सामाजिक सञ्जालमा एक पोस्टमा, बकाईले भने, "वार्ता गहन रह्यो तर यसको सफलता विपक्षी पक्षहरूको गम्भीरता र असल नियतमा निर्भर गर्दछ।"

बकाईले अमेरिकालाई अत्यधिक माग र अवैध अनुरोधबाट टाढा रहन र इरानको वैध अधिकार र हितलाई मान्यता दिन पनि अपील गरे।

उनले वार्ताका क्रममा होर्मुजको जलडमरू, इरानको आणविक कार्यक्रम र इरानमा युद्धको पूर्ण अन्त्य जस्ता मुद्दाहरूमा छलफल गर्ने कुरा उल्लेख गरे।

इस्लामाबादमा भएको वार्ता एक दशकभन्दा बढी समयपछि पहिलो पटक अमेरिका–इरानी प्रत्यक्ष भेटघाट थियो र १९७९ को इस्लामिक क्रान्तिपछिको उच्चस्तरीय छलफल थियो।

भान्सको प्रतिनिधिमण्डलमा विशेष दूत स्टिभ विटकफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर पनि थिए। भान्सले वार्ताको क्रममा ट्रम्पसँग आधा दर्जनदेखि एक दर्जन पटक कुरा गरेको बताए।

इरानको टोलीमा संसदका सभामुख मोहम्मद बाकर कालिबाफ र विदेशमन्त्री अब्बास अराक्ची थिए। इरानी प्रतिनिधिमण्डल शुक्रबार स्वर्गीय सर्वोच्च नेता अयातोल्लाह अली खामेनी र युद्धमा मारिएका अन्यको शोकमा कालो पोशाक लगाएर आइपुगेको थियो। उनीहरूले सैन्य परिसरको छेउमा रहेको स्कूलमा अमेरिकी बम विस्फोटमा मारिएका केही विद्यार्थीहरूको जुत्ता र झोला बोकेका इरान सरकारले जनाएको छ।