युद्धविराम अवधिसम्म होर्मुज जलमार्ग पूर्ण रूपमा खुला गर्ने इरानको घोषणा

इरानी विदेशमन्त्री अब्बास अराघचीले लेबनानमा भएको युद्धविरामको भावनाअनुरूप 'स्ट्रेट अफ होर्मुज' सबै व्यावसायिक जहाजका लागि खुला गरिएको घोषणा गरेका छन्।

इरानी विदेशमन्त्री अब्बास अराघचीले युद्धविरामको बाँकी अवधिका लागि स्ट्रेट अफ होर्मुज पूर्ण रूपमा खुला गरिएको जानकारी दिएका छन्। लेबनानमा भएको युद्धविरामको भावनाअनुरूप इरानको बन्दरगाह तथा समुद्री संगठनले तोकेको मार्गबाट सबै व्यावसायिक जहाजहरू आउजाउ गर्न सक्ने उनले स्पष्ट पारेका हुन्।

सामाजिक सञ्जाल 'एक्स'मार्फत एक विज्ञप्ति जारी गर्दै मन्त्री अराघचीले समन्वयित मार्ग प्रयोग गरी व्यापारिक जहाजहरू सञ्चालन हुन सक्ने उल्लेख गरे। गत फेब्रुअरीमा इरानमाथि भएको अमेरिका–इजरायली आक्रमणको प्रतिशोधमा इरानले यो जलमार्ग हप्तौँसम्म बन्द गरिदिएको थियो। त्यसको जवाफमा अमेरिकाले यसै हप्ताको सुरुमा होर्मुजमा नौसैनिक नाकाबन्दी गर्ने घोषणा गरेको थियो।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको यो कदमको स्वागत गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मा लेखेका छन्, "इरानले भर्खरै घोषणा गरेको छ कि होर्मुज जलमार्ग पूर्ण रूपमा खुला छ र यात्राका लागि तयार छ। धन्यवाद!" अमेरिका र इरानबीच भएको दुई हप्ताको यो युद्धविराम आगामी अप्रिल २२ मा समाप्त हुँदै छ।

होर्मुज जलमार्ग विश्वकै एक महत्त्वपूर्ण ढुवानी मार्ग हो, जसबाट विश्वको लगभग २० प्रतिशत तेल र प्राकृतिक तरल ग्यास ढुवानी गरिन्छ। उत्तरतर्फ इरान र दक्षिणतर्फ ओमान तथा संयुक्त अरब इमिरेट्स (यूएई)ले घेरिएको यो करिडोरले खाडीलाई अरब सागरसँग जोड्छ। यसको प्रवेश र निकास मार्ग करिब ५० किलोमिटर चौडा छ भने सबैभन्दा साँघुरो बिन्दुमा यो करिब ३३ किलोमिटर मात्र छ।

यति साँघुरो भए पनि यो जलमार्ग विश्वका ठूला कच्चा तेल बोक्ने ट्यांकरहरूका लागि पर्याप्त गहिरो छ। अमेरिकी ऊर्जा सूचना प्रशासनको अनुमान अनुसार, सन् २०२५ मा मात्रै यस मार्गबाट प्रतिदिन करिब २ करोड ब्यारेल तेल र तेलजन्य उत्पादनहरू ढुवानी भएका थिए। यो प्रतिवर्ष लगभग ६०० अर्ब डलर बराबरको ऊर्जा व्यापार हो।

यस जलमार्गको विशिष्ट भूगोलका कारण इरानले यसलाई राजनीतिक र रणनीतिक लाभका लागि प्रयोग गर्दै आएको छ। जहाजहरूको आवतजावत रोक्न सहज हुने भएकाले इरानले यसलाई दबाबको माध्यम बनाउँदा विश्वबजारमा तेलको मूल्यमा प्रत्यक्ष असर पर्ने गरेको छ। इरानसहित इराक, कुवेत, कतार, साउदी अरेबिया र युएईको तेल पनि यही मार्गबाट विश्व बजारमा पुग्ने भएकाले यहाँ हुने सानो अवरोधले पनि विश्वव्यापी ऊर्जा सुरक्षामा ठूलो धक्का पुर्‍याउने विश्लेषकहरू बताउँछन्।