उत्तर कोरियाले गर्‍यो क्लस्टर क्षेप्यास्त्रको परीक्षण

उत्तर कोरियाले हालै छोटो दूरीको ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्दै नयाँ क्लस्टर वारहेड क्षमताको सफल परीक्षण गरेको छ।

उत्तर कोरियाले आइतबार गरेको पछिल्लो क्षेप्यास्त्र परीक्षणमा क्लस्टर हतियारको प्रयोग गरिएको सरकारी सञ्चारमाध्यम केसीएनएले सोमबार पुष्टि गरेको छ। आणविक हतियार सम्पन्न उक्त मुलुकले छोटो दूरीका धेरै ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्दै आफ्नो नयाँ वारहेड क्षमताको परीक्षण गरेको हो।

कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)का अनुसार नेता किम जोङ उनको प्रत्यक्ष निगरानीमा गरिएको यो परीक्षणमा ‘रणनीतिक ब्यालेस्टिक मिसाइलमा प्रयोग हुने क्लस्टर बम वारहेड र खण्डित माइन वारहेडको विशेषता र शक्तिको परीक्षण’ गरिएको थियो।

उत्तर कोरियाले पछिल्ला हप्ताहरूमा ब्यालेस्टिक मिसाइल, एन्टी–वारसिप क्रुज मिसाइल तथा क्लस्टर हतियार प्रणालीसहित विभिन्न सैन्य परीक्षणहरू गर्दै आएको छ। यसले क्षेत्रीय सुरक्षा अवस्था थप तनावपूर्ण बनाएको अन्तर्राष्ट्रिय विश्लेषकहरूको भनाइ छ। ओस्लो महासन्धि (क्लस्टर बम प्रतिबन्ध)मा दुवै कोरिया पक्ष राष्ट्र नभएकाले यो परीक्षणले कूटनीतिक बहससमेत सिर्जना गरेको छ। दक्षिण कोरियाले भने उत्तरको पछिल्लो गतिविधिलाई ‘उक्साहटपूर्ण’ भन्दै तत्काल रोक्न आग्रह गरेको छ।

केसीएनएका अनुसार परीक्षणमा ‘ह्वासोङपो–११ए’ सामरिक ब्यालेस्टिक मिसाइल प्रयोग गरिएको थियो। पाँच वटा मिसाइल करिब १३६ किलोमिटर टाढाको लक्ष्य क्षेत्रमा प्रहार गरिएको र त्यसले १२.५ देखि १३ हेक्टर क्षेत्रफलमा अत्यधिक घनत्वको विस्फोट प्रभाव देखाएको बताइएको छ।

रिपोर्टअनुसार नेता किम जोङ उनले परीक्षणको नतिजाप्रति ‘गहिरो सन्तुष्टि’ व्यक्त गरे। उनले क्लस्टर वारहेड विकासले निश्चित लक्ष्य क्षेत्रमा उच्च घनत्वको प्रहार क्षमता र परिशुद्धतामा वृद्धि गर्ने बताए। विशेषज्ञहरूको विश्लेषणमा यो प्रणालीले बहु रकेट लन्चर र छोटो दूरीका ब्यालेस्टिक मिसाइलबीचको प्राविधिक दूरी घटाउने उद्देश्य राखेको छ।

कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका अनुसन्धानकर्ता होङ मिनका अनुसार यस्तो क्षमताले सियोल र अमेरिकी सैन्य अड्डाहरू उत्तर कोरियाको प्रहारको दायराभित्र आउन सक्छन्। सियोल विश्वविद्यालयका प्राध्यापक याङ मू–जिनका अनुसार पछिल्ला परीक्षणहरूले उत्तर कोरिया अगाडिको मोर्चाबाटै प्रत्यक्ष प्रक्षेपण गर्न सकिने प्रणाली परिचालनको नजिक पुगेको संकेत गर्छन्।

दक्षिण कोरियाली रक्षा मन्त्रालयले उत्तर कोरियालाई लगातारको क्षेप्यास्त्र परीक्षण रोक्न आग्रह गर्दै यसले क्षेत्रीय तनाव बढाइरहेको जनाएको छ। साथै, अमेरिकासँग ‘दृढ संयुक्त रक्षा स्थिति’ कायम रहेको बताउँदै कुनै पनि उक्साहटको कडा जवाफ दिने चेतावनी दिएको छ। विश्लेषकहरूका अनुसार पछिल्ला परीक्षणहरूले उत्तर कोरियाले दक्षिण कोरियासँगको सम्बन्ध सुधारको प्रयासलाई अस्वीकार गरेको संकेत गर्छ।

उत्तर कोरियाले संयुक्त राष्ट्रसंघका प्रतिबन्धहरूलाई चुनौती दिँदै निरन्तर हतियार विकास गरिरहेको छ। विश्लेषकहरूले प्योङयाङले रुससँगको सैन्य सहकार्यमार्फत सैन्य प्रविधि र नौसैनिक आधुनिकीकरणलाई तीव्र बनाएको औँल्याएका छन्। रुस–युक्रेन युद्धमा उत्तर कोरियाको सहयोग र बदलामा प्राप्त हुने भनिएको सैन्य प्रविधिले क्षेत्रीय भूराजनीति थप जटिल बनेको छ।