यार्सागुम्बा संकलन गर्न लेकतिर लागे छेकम्पारवासी

यार्सागुम्बा संकलनको मुख्य सिजन शुरू भएसँगै गोरखाको चुमनुब्री–७ छेकम्पारका बासिन्दा गाउँ छोडेर लेकतिर लागेका छन्।

गोरखा– गोरखाको हिमाली भेग छेकम्पारका बासिन्दा यार्सागुम्बा संकलन गर्न लेकतिर जान थालेका छन्। चुमनुब्री गाउँपालिका–७, छेकम्पारका बासिन्दा एक साताअघिदेखि नै लेकतिर जान थालेका हुन्।

स्थानीय साङ्पा लामाले ‘सिजन’ सुरु भएसँगै गाउँलेहरू लेकतिर जान थालेको बताए। छेकम्पारवासीको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा भएकाले यसपटक हिउँ नपग्लिँदै उनीहरू लेकतिर लागेको उनले जानकारी दिए।

तिब्बती सीमाना आसपासको छेके र बाजु लगायतका लेकमा पुगेर यार्सागुम्बा संकलन गर्ने गरिन्छ। हरेक याममा याक, चौँरी र घोडामा खाद्यान्नलगायत दैनिक उपभोग्य सामान ढुवानी गर्दै लावालस्करसहित स्थानीय लेकतिर जाने गरेका छन्।

“लेक गएपछि एक महिनासम्म उतै पाल टाँगेर बस्छौँ”, लेकतर्फ जाँदै गरेका फुर्बु लामाले भने, “घर कुर्न बुढापाका गाउँमा बसे पनि अरू सबै उत्तै जाने गरेका छौँ। कोही गइसके, कोही जाँदै छन्।”

यार्सागुम्बा बेचेर वर्षभरिको खर्चको जोहो गर्नुपर्ने भएकाले सबै काम छोडेर लेकतिर जाने गरेको लामाले बताए। यहाँको लेकमा यार्सागुम्बा संकलन गर्न छेकम्पारभन्दा बाहिरका बासिन्दालाई निषेध गरिएको छ। स्थानीयका लागि भने समितिलाई जनही ५०० रुपैयाँ शुल्क तिरेपछि लेकमा जान पाउने नियम बनाइएको छ।

विगतका वर्षहरूमा यार्सागुम्बा संकलन गर्न अभिभावकसँगै बालबच्चा पनि लेकतिरै जाने गर्थे। यस वर्ष भने बुद्ध आधारभूत विद्यालयले आवासीय सुविधासहित पठनपाठनको व्यवस्था मिलाएपछि केही सहज भएको स्थानीयले बताएका छन्। यस कार्यले बालबालिकाको पढाइमा सघाउ पुग्ने विश्वास गरिएको विद्यालयका मुख्य लामा पासाङ फुञ्जोले बताए।

“करुणा स्वास्थ्य संस्थाले ‘जोसेफ फर डिग्निटी’ नामक विदेशी संस्थाको सहयोगमा बुद्ध आधारभूत विद्यालयलाई चुमगुम्बामा ल्याएर आवासीय सुविधासहित पढाउने व्यवस्था गरेका छौँ”, पूर्ववडाध्यक्षसमेत रहेका पासाङले भने, “यस कार्यपछि अभिभावक लेकतिर गए पनि बालबालिका छात्रवासमा बसेर पढ्न पाउने छन्। अब विगतमा जस्तो स्कुल बिदा हुँदैन।”