गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण हटाउन स्थानीयको माग

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा रहेका अतिक्रमित संरचना खाली गराउन स्थानीय बासिन्दा र भक्तजनले माग गरेका छन्।

काठमाडौँ— गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरेर बनेका संरचना खाली गर्न स्थानीय र भक्तजनले माग गरेका छन्।

धार्मिक, सांस्कृतिक, पुरातात्त्विक एवं ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण गोकर्णेश्वर मन्दिर क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना खाली गराउन वर्षौंदेखि भक्तजनले माग गर्दै आएका छन्। मन्दिर क्षेत्रको जग्गा अतिक्रमणले स्थान अभाव भई यहाँ हुने धार्मिक एवं सांस्कृतिक गतिविधिमा असहज हुँदै आएको छ।

गोकर्णेश्वर नगरपालिका–४ मा पर्ने मन्दिर क्षेत्रको जग्गा अतिक्रमण भएका कारण प्रत्येक वर्ष भाद्र कृष्ण औँसी, आश्विन कृष्ण पक्ष (पितृ पक्ष) र पौष कृष्ण औँसीका मेलाहरूमा हजारौँ भक्तजनलाई समस्या हुने गरेको छ। यस क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी १४ वटा घर निर्माण भएको वडाध्यक्ष जयराम महतले जानकारी दिए।

मन्दिरमाथि करिब ६५० रोपनी जग्गामा सामुदायिक वन छ। यज्ञडोल (जगडोल) सामुदायिक वनमा हाल राष्ट्रिय शहीद तथा निजामती स्मारक निर्माण भइरहेको छ। मन्दिरसँगै जोडिएको सार्वजनिक जग्गामा बनेका १४ वटा घर पछिल्लो समय सहयोगी माध्यमिक विद्यालयलाई भोगाधिकार दिइएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देलले बताए। यो क्षेत्रलाई पहिलेदेखि नै व्यवस्थित बनाउन खोजिए पनि काम हुन सकेको छैन।

गोकर्णेश्वर मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउन काठमाडौँ उपत्यका विकास प्राधिकरणसम्म पनि प्रस्ताव पुगेको थियो। प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीले मन्दिर क्षेत्रको जग्गामा बनेका घर भत्काएर सुन्दरीजल जाने सडक पनि सारेर मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। त्यसबेला वडाले सहयोग नगरेका कारण काम हुन नसकेको गोकर्णेश्वर मन्दिर जीर्णोद्धार एवं छाना पुनर्निर्माण समितिका अध्यक्ष कोमलबहादुर विष्टले बताए।

मन्दिर क्षेत्रको जग्गामा घर बनाएकाहरूको अन्यत्र पनि घर-जग्गा रहेको वडा कार्यालयले जनाएको छ। अन्यत्र अतिक्रमित संरचना खाली गराइरहेका बेला यहाँका संरचना पनि खाली गरिनुपर्ने स्थानीयवासी र भक्तजनको गुनासो छ।