फिलिपिन्सको सक्रिय मेयन ज्वालामुखीबाट निस्किएको बाक्लो खरानी र तातो लाभाका कारण आसपासका गाउँहरू प्रभावित भएका छन् भने ३०० भन्दा बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
फिलिपिन्सको प्रसिद्ध मेयन ज्वालामुखीबाट एक्कासि खसेको बाक्लो खरानीले जनजीवन प्रभावित बनाउँदा ३०० भन्दा बढी परिवार विस्थापित भएका छन्। अधिकारीहरूका अनुसार ज्वालामुखीको ढलानमा जम्मा भएको लाभा अचानक खस्दा ठूलो मात्रामा खरानी फैलिएको हो, जसका कारण आसपासका बस्तीहरू तत्काल खाली गराउनुपरेको थियो।
ज्वालामुखीबाट कुनै ठूलो विस्फोट नभए पनि यसको दक्षिणपश्चिमी ढलानमा जम्मा भएको लाभाको भण्डार अचानक खस्दा 'पाइरोक्लास्टिक प्रवाह' उत्पन्न भएको थियो। फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका निर्देशक टेरेसिटो बाकोलकोलका अनुसार तातो चट्टान, खरानी र ग्यास मिसिएको यो प्रवाह तीव्र गतिमा तल झरेकाले आसपासका क्षेत्रमा त्रास फैलिएको हो।
यस घटनाबाट कुनै मानवीय क्षति नभए पनि तीन सहरका ८७ वटा गाउँमा खरानीको बाक्लो बादल फैलिँदा जनजीवन प्रभावित भएको छ। दृश्यता अत्यन्त न्यून हुँदा सवारी आवागमनमा समेत समस्या आएको अधिकारीहरूले बताएका छन्। ज्वालामुखीको फेदमा रहेको क्यामालिग सहरका मेयर कालोय बाल्डोका अनुसार मुख्य राजमार्गमा समेत दृश्यता शून्यजस्तै भएको थियो। उनले केही स्थानीय बासिन्दा डराएको भए पनि प्रशासनले उनीहरूलाई संयमित रहन आग्रह गरेको जानकारी दिए।
खरानीका कारण कृषि र पशुपालनमा पनि असर परेको छ। विशेष गरी तरकारी खेतीमा क्षति पुगेको छ भने क्यामालिग क्षेत्रमा चार वटा भैँसी र एउटा गाईको मृत्यु भएको बाल्डोले बताए। अहिले उक्त क्षेत्रमा सफाइ र पुनःस्थापनाको काम जारी छ।
निर्देशक बाकोलकोलका अनुसार हाल अवस्था केही शान्त देखिए पनि जोखिम टरेको छैन। समुद्र सतहदेखि २,४६२ मिटर उचाइमा रहेको मेयन ज्वालामुखी यसको सुन्दर शङ्कु आकारका कारण पर्यटकीय आकर्षण मानिन्छ। तर, यो फिलिपिन्सका २४ सक्रिय ज्वालामुखीमध्ये सबैभन्दा बढी सक्रिय पनि हो। यसअघि जनवरीमा साना विस्फोटहरूको शृङ्खलापछि अधिकारीहरूले यसलाई 'स्तर ३' को जोखिममा राखेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
