दुबई विमानस्थलको यात्रु आवागमनमा ६६ प्रतिशतले घट्यो

अमेरिका–इजरायल र इरानबीचको बढ्दो सैन्य तनावका कारण हवाई मार्ग प्रभावित हुँदा विश्वकै व्यस्त दुबई विमानस्थलको यात्रु संख्या घटेर २५ लाखमा झरेको छ।

पश्चिम एशियाको युद्ध र संयुक्त अरब इमिरेट्स (यूएई)मा इरानले गरेको आक्रमणको प्रभावका कारण मार्चमा दुबई विमानस्थलको यात्रु आवागमनमा दुई तिहाइले कमी आएको छ। इमिरेट्सको सञ्चार कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै यात्रुको संख्यामा ६६ प्रतिशतले गिरावट आएको जानकारी दिएको हो।

अन्तर्राष्ट्रिय यात्रु ट्राफिकका लागि विश्वकै व्यस्त मानिने दुबई इन्टरनेसनल विमानस्थलमा यात्रुको संख्या घटेर २५ लाखमा झरेको छ। अमेरिका र इरानबीचको तनावले निम्त्याएको क्षेत्रीय अवरोधका कारण हवाई क्षेत्रको क्षमता र उडान तालिकामा उल्लेखनीय बाधा पुगेको कार्यालयले जनाएको छ।

दुबई सञ्चार कार्यालयका अनुसार यूएई भित्रको हवाई क्षेत्र अहिले पूर्ण रूपमा पुनर्स्थापित भइसकेको छ। दुबईका विमानस्थलहरू उपलब्ध क्षेत्रीय मार्गको क्षमताअनुसार उडान संख्या बढाउन सक्रियताका साथ अघि बढिरहेका छन्।

इरानले इजरायल र अमेरिकाको आक्रमणको बदला लिन गरेको सैन्य कारबाहीका क्रममा तेलसम्पन्न यूएईको हवाई क्षेत्र प्रभावित भएको थियो। जसका कारण दुबई इन्टरनेसनल विमानस्थलका उडानहरू पटक–पटक अवरुद्ध भएका थिए।

सन् २०२६ को पहिलो त्रैमासिकमा समग्र ट्राफिक २१ प्रतिशतले घटेर एक करोड ८६ लाखमा झरेको छ। गत वर्ष नौ करोड ५२ लाख यात्रुलाई सेवा दिएको यस विमानस्थलले यो वर्ष नौ करोड ९५ लाख यात्रु पुग्ने लक्ष्य राखेको थियो।

दुबई विमानस्थलका कार्यकारी प्रमुख पल ग्रिफिथ्सले भने, “विगत केही हप्तामा भएका असाधारण घटनाहरू कुनै पनि प्रमुख विमानस्थलका लागि अकल्पनीय साबित भएका छन्।”