सहकारीका बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने तयारी

सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम आगामी जेठ पहिलो सातादेखि प्राथमिकताका आधारमा फिर्ता गर्ने तयारी थालेको छ।

काठमाडौँ– सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने भएको छ। गत वैशाख ९ गतेदेखि काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विवरण संकलन गरी भुक्तानीको तयारी गरेको हो।

समितिको अध्ययन अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्नेछ। तीमध्ये अधिकांश साना बचतकर्ता छन्। पाँच लाख रुपैयाँभन्दा कम बचत गर्नेलाई साना र सोभन्दा बढी बचत गर्नेलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। कुल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्नेको संख्या १८ हजार रहेको समितिका सदस्य सचिव रविन ढकालले जानकारी दिए।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि धेरै काम भइसकेको र अब वितरण शुरू हुने बताए। “सहकारी बचतकर्ताको रकम फिर्ता गर्नेबारे धेरै काम गरिसकेका छौँ। साना बचतकर्ताको रकम पहिले फिर्ता गर्छौं,” उनले भने।

समितिले आफ्नो कार्यविधि तय गर्दै बचत फिर्ता र कर्जा असुलीलाई प्राथमिकता दिने नीति अवलम्बन गरेको छ। मागदाबी गरेका बचतकर्ताको रकम फिर्ता गर्ने कार्य जेठ पहिलो सातादेखि शुरू हुने र मागदाबी गर्न छुटेकाहरूका लागि साउन पहिलो साता पुनः समय दिइने समितिले जनाएको छ।

नेपाल सरकारबाट चक्रीय कोषमा विनियोजित रकम समितिको कोषबाट नपुग भएमा सापटीका रूपमा मात्र खर्च गरिने स्पष्ट पारिएको छ। सदस्य सचिव ढकालले कर्जा असुलीका लागि समितिले कानुन बमोजिम कठोर नीति अवलम्बन गर्ने जानकारी दिए।