वैशाख २८ गते संसद्को अधिवेशन आह्वान गर्न सरकारको सिफारिस

सरकारले आगामी वैशाख २८ गते दिउँसो २ बजे बस्ने गरी संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

काठमाडौँ– सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको बैठकले वैशाख २८ गते दिउँसो २ बजेका लागि संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमित पोखरेलले जानकारी दिए।

यसअघि २०८२ चैत २७ गते संघीय संसद्को अधिवेशन अन्त्य गरिएको थियो। बीचमा वैशाख १७ गते बिहीबारका लागि अधिवेशन आह्वान गरिएकोमा सरकारले त्यसलाई स्थगित गराएको थियो।

अधिवेशन स्थगित भएलगत्तै सरकारले 'संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३' सहितका अध्यादेशहरू जारी गरेको थियो।