यी प्रदेशमा आज पानी पर्ने सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ।

फाइल तस्वीर

काठमाडौँ- नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी र मधेश प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा मधेश प्रदेशको थोरै स्थानहरूमा साथै बाँकी तराई भूभागका एक-दुई स्थानमा  मेघगर्जन/चट्याङसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज राति हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।  मधेश प्रदेशलगायत बाँकी हिमाली भूभागका  एक-दुई स्थानमा पनि मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।