स्पेनतर्फ गइरहेको एक क्रुज जहाजमा हान्ताभाइरस संक्रमण देखिए पनि यो सजिलै नसर्ने र समुदायमा महामारीका रूप लिने खतरा न्यून रहेको डब्लूएचओले जनाएको छ।
स्पेनतर्फ गइरहेको एक क्रुज जहाजमा घातक हान्ताभाइरस संक्रमण फैलिएको घटनाले अन्तर्राष्ट्रिय चासो बढिरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सर्वसाधारणमा यसको जोखिम अत्यन्त कम रहेको जनाएको छ। संगठनले यो भाइरस सामान्य रूपमा सजिलै नसर्ने र मुख्यतः अत्यन्त निकट सम्पर्कबाट मात्र फैलिने भएकाले व्यापक महामारीको खतरा नरहेको स्पष्ट पारेको छ।
डब्लूएचओका प्रवक्ता क्रिस्टियन लिन्डमेयरले शुक्रबार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा हान्ताभाइरस गम्भीर र घातक हुन सक्ने भए पनि यसको संक्रमण क्षमता सीमित रहेको बताए। उनका अनुसार यो भाइरस सङ्क्रमित व्यक्तिको अत्यन्त निकटमा लामो समय बस्ने मानिसहरूमा मात्र सर्ने सम्भावना बढी हुन्छ।
हाल स्पेनको टेनेरिफ टापुतर्फ गइरहेको 'एमभी होन्डियस' नामक क्रुज जहाजमा देखिएको संक्रमणले विभिन्न देशका स्वास्थ्य निकायलाई सतर्क बनाएको छ। जहाजमा हालसम्म तीन यात्रुको मृत्यु भइसकेको छ भने डब्लूएचओको पछिल्लो विवरणअनुसार पाँच जनामा संक्रमण पुष्टि भएको छ। थप तीन जनामा संक्रमणको आशङ्का गरिएको छ र उनीहरूको परीक्षण तथा निगरानी जारी रहेको जनाइएको छ।
लिन्डमेयरले सङ्क्रमित व्यक्तिसँग एउटै क्याबिनमा रहेका यात्रुहरूमा समेत सबैमा संक्रमण नदेखिएको उल्लेख गर्दै भाइरस सजिलै नफैलिने तथ्यलाई जोड दिए। उनले कतिपय अवस्थामा सङ्क्रमित व्यक्तिसँग लामो समय सँगै बसेकाहरू पनि संक्रमणमुक्त रहेको जानकारी दिए।
उनका अनुसार हान्ताभाइरसको फैलावटलाई कोभिड-१९ सँग तुलना गर्न मिल्दैन। उनले यो भाइरस कोभिडजस्तो हावामार्फत तीव्र गतिमा समुदायमा फैलिने प्रकृतिको नभएको स्पष्ट पारे। त्यसैले अहिलेको अवस्थालाई लिएर अनावश्यक त्रास फैलाउन नहुने डब्लूएचओको भनाइ छ।
डब्लूएचओले सम्पर्क पहिचान (कन्ट्याक्ट ट्रेसिङ) प्रक्रिया प्रभावकारी रूपमा अघि बढिरहेको जनाएको छ। सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका यात्रु तथा चालक दलका सदस्यहरूलाई निगरानीमा राखिएको छ। लिन्डमेयरले निकट सम्पर्कमा रहेका व्यक्तिहरू पहिचान गर्न सकिने भएकाले संक्रमण नियन्त्रण सम्भव रहेको बताए।
एमभी होन्डियस क्रुज जहाजले अप्रिल १ मा अर्जेन्टिनाको दक्षिणी क्षेत्र उशुआयाबाट आफ्नो यात्रा शुरू गरेको थियो। जहाज एटलान्टिक महासागर पार गर्दै केप भर्डेतर्फ जाँदै थियो। यात्राका क्रममा जहाजले विभिन्न दुर्गम टापुहरूमा रोकिने कार्यक्रम पनि राखेको थियो।
जहाजमा संक्रमण कसरी शुरू भयो भन्नेबारे अनुसन्धान जारी छ। स्वास्थ्य अधिकारीहरूले यात्रुहरूको गतिविधि, उनीहरूको सम्पर्क इतिहास तथा जहाजमा रहेका सम्भावित संक्रमण स्रोतबारे अध्ययन गरिरहेका छन्। हाल जहाजमा रहेका अन्य यात्रुको स्वास्थ्य अवस्था निगरानीमा राखिएको बताइएको छ।
डब्लूएचओले सदस्य राष्ट्रहरूलाई सतर्क रहन आग्रह गरे पनि तत्काल अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध आवश्यक नरहेको जनाएको छ। संगठनले तथ्यमा आधारित स्वास्थ्य सतर्कता अपनाउन र अफवाह तथा अतिरञ्जित सूचना फैलिन नदिन पनि आग्रह गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
