ताइवान यात्रा र निषेधित प्रेम कथाले जित्यो बुकर पुरस्कार

कथाको मुख्य पात्र एक काल्पनिक जापानी लेखिका आओयामा चिजुको हुन्, जो सरकारद्वारा प्रायोजित ताइवान यात्रामा जान्छिन्। उनीसँगै उनको ताइवानी अनुवादक ओ चिजुरु पनि छिन्, जोसँग उनी प्रेममा पर्छिन्।

काठमाडाैँ– ताइवानी खाना र निषेधित प्रेमको कथामा आधारित उपन्यास ताइवान ट्राभलगले यो वर्षको प्रतिष्ठित अन्तर्राष्ट्रिय बुकर पुरस्कार जितेको छ। 

मन्डारिन चिनियाँ भाषाबाट अनुवाद गरिएको उपन्यासले यो सम्मान पाएको पहिलो पटक हो। ताइवानकी याङ शुआङ जीद्वारा लिखित र ताइवानी-अमेरिकी लिन क्विङले अनुवाद गरेको यस पुस्तकले तत्कालीन ताइवानको सामाजिक-सांस्कृतिक र राजनीतिक चित्रण गरेको छ।

यात्रीले भ्रमण गरेका ठाउँहरू वा अनुभवहरूको बारे व्याख्यान समेटिएको चलचित्र, पुस्तक वा सचित्रलाई ट्राभलग भनिन्छ। 

ताइवानमा जापानको नियन्त्रण रहेका बेला सन् १९३० को दशकको परिवेशलाई यस उपन्यासमा समेटिएको छ। यसले ताइवानका विभिन्न परिकारहरू मार्फत दुई महिलाको यात्रालाई चित्रण गर्दछ।

उपन्यासलाई पुरानो यात्रा संस्मरणको अनुवाद जस्तै प्रस्तुत गरिएको छ, जसमा काल्पनिक फुटनोटहरू पनि समावेश छन्। जब यो पुस्तक २०२० मा प्रकाशित भयो, धेरै पाठकहरूले यो वास्तवमा एक ऐतिहासिक दस्तावेज हो भन्ने सोचेका थिए।

निर्णायक मण्डलकी अध्यक्ष नताशा ब्राउनले यसलाई "अत्यन्तै आकर्षक र बुद्धिमत्तापूर्ण रूपमा लेखिएको, परिष्कृत उपन्यास" भनेर वर्णन गरिन्।

कथाको मुख्य पात्र एक काल्पनिक जापानी लेखिका आओयामा चिजुको हुन्, जो सरकारद्वारा प्रायोजित ताइवान यात्रामा जान्छिन्। उनीसँगै उनको ताइवानी अनुवादक ओ चिजुरु पनि छिन्, जोसँग उनी प्रेममा पर्छिन्। त्यस समयमा ताइवानमा महिला-महिलाबीचको प्रेमसम्बन्धलाई 'अपराध'को दृष्टिमा हेरिन्थ्यो। 

उपन्यासले यी दुई पात्रहरू मार्फत प्रेम, संस्कृति, औपनिवेशिक इतिहास र शक्ति जस्ता विषयवस्तुहरूको अन्वेषण गर्दछ।

यस पुस्तकले फिक्सन (अनुवादित साहित्य) विधामा उक्त पुरस्कार प्राप्त गरेको हो। यस पुरस्कारको राशि ५० हजार पाउन्ड स्टर्लिङ रहेकोमा लेखक र अनुवादकबीच बराबर बाँडिन्छ।