इबोला संक्रमित मुलुकबाट अमेरिका प्रवेशमा प्रतिबन्ध

पूर्वी र मध्य अफ्रिकामा फैलिएको इबोला प्रकोपका कारण अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले ग्रीन कार्ड धारकसहित केही मुलुकका नागरिकलाई अमेरिका प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएको छ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले पूर्वी र मध्य अफ्रिकामा चलिरहेको इबोला प्रकोपका कारण कानूनी मान्यता प्राप्त स्थायी बासिन्दा (ग्रीन कार्ड धारक) लगायत अमेरिका प्रवेश गर्ने मानिसहरूका लागि अस्थायी प्रवेश प्रतिबन्ध लागू गरेको छ। 

यो विस्तारित प्रतिबन्ध अमेरिकी मानव स्वास्थ्य विभागद्वारा जारी गरिएको अन्तरिम नियम अनुरूप छ, जसले संयुक्त राज्य अमेरिकामा खतरनाक संक्रामक रोगहरूको विस्तार रोक्न संघीय सार्वजनिक स्वास्थ्य निर्देशनहरूमा समेत संशोधन गरेको छ। नयाँ नियमअनुसार विगत २१ दिनभित्र कंगो, युगान्डा वा दक्षिण सुडानमा रहेका मानिसहरूलाई अस्थायी रूपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्न निषेध गरिने छ।

एजेन्सीका अनुसार हालैका दिनमा घोषणा गरिएको इबोला प्रकोपसँग सम्बन्धित प्रवेश प्रतिबन्धहरूको दायरालाई थप विस्तार गरिएको हो। यसअघि सीडीसीले सार्वजनिक स्वास्थ्य संरक्षणका लागि ३० दिने प्रतिबन्ध प्याकेज सार्वजनिक गरेको थियो, जसमा यात्री स्क्रिनिङ र अनुगमनलाई सुदृढ पार्नुका साथै केही गैर-अमेरिकी नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइएको थियो। 

नयाँ नियमले स्थायी रूपमा अमेरिकामा बसोबास गर्ने कार्ड (ग्रीन कार्ड) भएकाहरूलाई समेत तत्काल अमेरिका फर्कन पूर्ण रूपमा निषेध गरेको छ। सार्वजनिक स्वास्थ्यको रक्षा गर्न र आपतकालीन प्रतिक्रिया स्रोतहरूको व्यवस्थापन गर्न आवश्यक देखिएकाले एजेन्सीलाई यो अस्थायी प्रतिबन्ध लगाउने अधिकार दिइएको हो।

सीडीसीका अनुसार संयुक्त राज्य अमेरिकामा हालसम्म इबोला प्रकोपसँग सम्बन्धित कुनै पनि घटनाहरू रिपोर्ट गरिएको छैन भने आम जनताका लागि यसको तत्काल जोखिम निकै कम छ।