ठमेलबाट साढे १ किलो कोकिनसहित तीन विदेशी नागरिक पक्राउ

लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौँको ठमेलबाट पेटभित्र लुकाएर ल्याएको १ किलो ५०० ग्राम कोकिनसहित एक सेनेगाली पुरुष र कोकिन बुझ्न दिल्लीबाट आएका दुई जना भारतीय महिलालाई पक्राउ गरेको छ।

काठमाडौँ– लागूऔषध नियन्त्रण ब्युरोले ठूलो परिमाणको प्रतिबन्धित कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। काठमाडौँको ठमेलस्थित एक होटलबाट १ किलो ५०० ग्राम कोकिनसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा ४३ वर्षीय सेनेगाली नागरिक अमादु सारसहित दुई जना भारतीय महिला ३६ वर्षीया रुबी तथा ३१ वर्षीया सोनी छन्। ब्युरोका अनुसार अन्तर्राष्ट्रिय उडानबाट काठमाडौँ आउने शंकास्पद यात्रीहरूको ‘प्रोफाइलिङ’ र निगरानी गर्ने क्रममा जेठ २६ गते कतार एअरवेजको उडानबाट काठमाडौँ ओर्लिएका सेनेगाली नागरिक सार पक्राउ परेका हुन्। इथियोपियाबाट दोहा हुँदै नेपाल आएका सारको गतिविधि शंकास्पद देखिएपछि ब्युरोले उनलाई पछ्याएको थियो।

ठमेलको एक होटलमा बसेका सारलाई खानतलासी गर्दा उनको साथबाट सुरुमा १६ वटा प्लास्टिक कोटेड कोकिनका क्याप्सुल बरामद भएको थियो। ती क्याप्सुल उनले मुखबाट निलेर पेटभित्र लुकाई ल्याएको खुलेपछि प्रहरीले उनलाई अस्पताल भर्ना गरेको थियो। अस्पतालमा चिकित्सकको सहयोगमा उपचार पद्धतिबाट उनको पेटबाट थप ६० वटा क्याप्सुल निकालिएको ब्युरोले जनाएको छ। सारको पेटबाट जम्मा ७६ वटा क्याप्सुल (१ किलो ५०० ग्राम) कोकिन बरामद भएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कोकिन बुझ्नका लागि भारतको दिल्लीबाट दुई जना महिला काठमाडौँ आइपुगेको खुलेको थियो। सोही सूचनाका आधारमा ब्युरोको टोलीले जेठ ३१ गते ठमेलकै होटलबाट दक्षिण दिल्ली, खानपुर बस्ने रुबी र सोनीलाई समेत पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट कोकिनका अतिरिक्त एक थान राहदानी, दुई थान भारतीय आधार कार्ड र तीन थान मोबाइल फोन बरामद गरेको छ। पक्राउ परेका तीनै जनामाथि ब्युरोले हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले जानकारी दिए।