प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा

यस वर्षको प्रि–मनसुन अवधिमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायु अत्यधिक सक्रिय हुँदा विगत ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा मापन गरिएको छ।

काठमाडौँ– नेपालमा यस वर्षको प्रि–मनसुन अवधिमा विगत ४५ वर्षयताकै सर्वाधिक वर्षा रेकर्ड भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सो अवधिमा देशभर औसत ३३९.७७ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन सामान्य अवस्थाको औसत २२६.३ मिलिमिटरको १४५.५ प्रतिशत हो। 

विभागका मौसमविद् सञ्जिव अधिकारीले यस समयमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायु सक्रिय हुनुका साथै अत्यधिक गर्मी भएकाले प्रि–मनसुनमा अत्यधिक वर्षा भएको जानकारी दिएका छन्।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ मा भएको ३३९.७७ मिलिमिटर वर्षा उपलब्ध अभिलेखमै सबैभन्दा उच्च हो। यसअघि सन् १९९० मा ३३१.४० मिलिमिटर वर्षा भई उच्च रेकर्ड कायम भएको थियो।

तथ्यांकअनुसार सन् २००० मा ३२३.१९ मिलिमिटर, सन् २०२१ मा ३१७.८८ मिलिमिटर र सन् २०२० मा ३१५.७८ मिलिमिटर वर्षा भएको थियो। यस वर्षको वर्षाले ती सबै पूर्वकीर्तिमानहरूलाई उछिनेको विभागले जनाएको छ।

विभागका अनुसार प्रि–मनसुन अवधिमा औसतभन्दा उल्लेख्य बढी वर्षा हुनु जलवायु प्रणालीमा देखिएको परिवर्तनको संकेत हुन सक्छ। यस अवधिमा देशका विभिन्न क्षेत्रमा चट्याङ, हावाहुरी, असिना तथा भारी वर्षाका घटनासमेत बढेको पाइएको छ।