ग्राहकलाई दिइने सेवा, सुविधा र प्रविधि प्रयोगमा अब्बल बनेका हाम्रा बैंकहरू दृष्टिविहीनलगायत अपांगता भएका व्यक्तिलाई पनि यस्ता सेवा चाहिन्छन् भनेर मान्न अझै तयार छैनन्।
आँखा नदेख्ने व्यक्तिको हातमा जब कतै पैसा देखिन्छ, त्यो देखेर सोध्नेहरूको पहिलो प्रश्न हुने गर्छ– “पैसा चिन्नुहुन्छ?”
तपाईं बैंक, वित्तीय संस्था वा यस्तै कुनै ठाउँमा हुनुहुन्छ त्यहाँका कोही कर्मचारी छेवैको व्यक्तिलाई देखाएर भन्छन् पनि– “उहाँहरू त छामेरै पैसा पत्ता लगाउनुहुन्छ।”
कोही चाहिँ ‘अस्ति पनि एउटा भाइ–बहिनी आएका थिए। हातमा नापेर पैसा पत्ता लगाउने रहेछन्,’ भन्दा रहेछन्। यसमा हाम्रो उत्तर चाहिँ एउटै हुन्छ, “होला, हामी त सक्तैनौँ।”
हामी दुई पंक्तिकारमध्ये म रोजिता जो स्नातक पढ्न सुरु गरेपछि मात्र एक्लै हिँड्न थालेँ। घरबाट क्याम्पस पुग्न करिब एक घण्टा सार्वजनिक यातायात चढ्नुपर्थ्यो। बस भाडा तिर्न खुद्रा पैसा नहुने र ठूलो रकम दिँदा पनि साटिएको पैसा व्यवस्थापन गर्न झन्झट हुने भएकाले एउटा जुक्ति निकालेको थिएँ। हरेक पटक बुवालाई हजारको नोट दिएर पाँच, दश र बीसका नोट साटेर ल्याइदिन भन्थेँ। पछि मैले बैंकमा गएरै पैसा साट्न थालेँ। यसरी साटिएका खुद्रा पैसा म पर्सका हरेक खल्तीमा पाँच, दश र बीसलाई लस्करै मिलाएर राख्थेँ ताकि कुन रुपैयाँ कुन खल्तीमा छ भनेर सम्झन र भाडा तिर्न सजिलो होस्। यसले गर्दा सहचालकलाई भाडा दिन पनि सजिलो हुन्थ्यो। फिर्ता मागिरहन पनि पर्दैनथ्यो।
आजपर्यन्त हामी दुवै पंक्तिकारको नगद व्यवस्थापन यसैगरी चलिरहेको छ। फरक कति मात्र भने, उतिबेला पाँच, दस र बीस रुपैयाँका नोटले चल्थ्यो, आज आवश्यकता अनुसार पचास र सयका नोट पनि साटेर राख्नुपर्छ।
यो त हाम्रो तरिका भयो। अरू कतिपय साथीहरूले पनि आ–आफ्नो सहजता अनुसार यस्तै तरिका अपनाउँछन्। केहीले माथि उल्लेख गरिए जस्तै हातमा नै नापेर पनि पैसा चिन्छन्। केहीले पैसा नाप्न छालाको ‘मोनी गाइड’ प्रयोग गर्छन्। केहीले ‘क्यास रिडर’ र अन्य एप्लिकेसन प्रयोग गर्छन्। हिजोआज त ‘जेमिनाइ’ लगायतका ‘एआई’को मद्दतले पनि पैसा चिन्न सकिन्छ।
पछिल्लो समय आर्थिक लेनदेन गर्न पैसा बोक्नुपर्ने झन्झट निकै कम भएको छ। निरन्तर रूपमा विकास भइरहेको प्रविधिको सहयोगले गर्दा आँखा नदेख्ने व्यक्तिहरू पनि कसैको मद्दतबेगर नै आर्थिक लेनदेन गर्न सक्षम भएका छन्। ठेलीका ठेली खुद्रा पैसा पनि बोक्नु नपर्ने, फिर्ता आएका पैसा कुन कति हुन् भनेर पनि चिन्ता नहुने र मोबाइलबाटै सहज तरिकाले आर्थिक कारोबार गर्न पाउँदा हामी सक्षम, सबल र स्वाभिमानी भएको महसुस गरिरहेका छौँ।
तर बैंकमा तीतो अनुभव
२०८० माघ ३ गते हामी पंक्तिकारद्वय कार्यालयको खाजा समय पारेर आफ्नो बैंक खातामा भएको नगद झिक्न एनआइसी एसिया बैंक लिमिटेडको खिचापोखरी शाखामा गएका थियौँ। सौगातसँग एनआइसी एसियाको डेबिट कार्ड (एटीएम कार्ड) त थियो, तर यसको म्याद सकिएपछि नवीकरण गरिएको थिएन। एटीएम दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका निम्ति पहुँचयुक्त छैन र जोखिमपूर्ण पनि छ।
सौगातले कक्षा १२ मा पढ्दैगर्दा आफ्नो दृष्टिविहीनता लुकाएर हस्ताक्षर गरेरै साङ्ग व्यक्तिसरह एनआइसी एसिया बैंकमा खाता खोलेका थिए। उनले मोबाइल बैंकिङ, एटीएम, डिम्याट र डलर कार्डको सुविधा पनि यसै बैंकबाट लिएका थिए। एटीएम नभएकाले र ‘कार्डलेस विथड्र’ पनि दृष्टिविहीनहरूका निम्ति सुरक्षित नठानेर उनी क्युआर मार्फत रकम झिक्न बैंक नै पुगेका थिए।
‘स्मार्ट क्यास काउन्टर’ मा पुगेर उनले आफ्नो मोबाइल बैंकिङ एप खोले। सम्बन्धित कर्मचारिलाई क्युआर देखाउन लगाएर रकम थिचिसकेपछि उनले आफ्नो पिन थिचे र कारोबार भयो।
जब रकम भुक्तानी गर्नुपर्ने भयो, ती कर्मचारीले तपाईंको साक्षी खै? भनेर सोधे।
सौगातको जवाफ थियो, “खाता मेरो, पैसा मेरो, जबाफदेही म, अनि तपाईंलाई किन साक्षी चाहिने? ”
उनले म बुझ्छु भने।
एकैछिनमा फेरि मिल्दैन भने। आधिकारिक मानिस को छन्, उनलाई भेटाउन आग्रह गरिएपछि १ नम्बर काउन्टरमा जान सूचित गरियो। १ नम्बर काउन्टरमा पुगेर एक जना महिलासँग कुरा गर्दा उनीबाट पनि ‘पहिले त्यस्तो नियम नभए पनि अहिले नमिल्ने’ जवाफ प्राप्त भयो।
उनलाई कारोबारको इतिहास हेर्न अनुरोधसहित सौगातको फेरि अनुरोध गयो, “म यहाँ आएको भएर पो तपाईंले मेरो अपाङ्गता थाहा पाउनुभयो, नत्र त एक साङ्ग व्यक्ति पनि तपाईंका निम्ति ग्राहक, म पनि ग्राहक। अनि तपाईंलाई किन समस्या?”
तर यति भन्दा पनि उनी मान्न तयार भइनन्। उल्टो सौगातको खाताबाट काटिएको पैसा फिर्ता गरिदिने तर नगद दिन नमिल्ने बताइन्। अनि हामी पनि निराश भएर कार्यालय फर्कियौँ।
कस्ता बैंक, कसका बैंक?
यो सब भएपछि सौगातले नेपाल राष्ट्र बैंकको गुनासो सुनुवाइ इकाईमा फोन गरे र यिनै कुरा दोहोर्याए। उनलाई त्यहाँबाट सम्बन्धित बैंकको गुनासो सुन्ने अधिकारीको नम्बर उपलब्ध गराइयो। सँगै समस्याको हल भेटिन्छ भन्ने आश्वासन पनि दिइयो।
राष्ट्र बैंकले उपलब्ध गराएको नम्बरमा डायल गर्दा फोन उठेन। त्यसपछि हामीले बैंक (एनआइसी एसिया बैंक) कै वेबसाइटमा नम्बर खोज्यौँ। नम्बर फेला पारेपछि डायल गर्यौँ। अनि उताबाट फोन उठाएपछि कुराकानी शुरू गर्दै सोध्यौँ, “एनआइसी एसिया बैंकमा एक दृष्टिविहीन व्यक्तिले खाता खोल्यो भने के–के सुविधा प्रयोग गर्न सक्छ?”
उताबाट उत्तर आयो, “साक्षी राख्यो भने सबै सुविधा पाउँछ।”
हामीले उनलाई सोध्यौँ, “यदि कुनै दृष्टिविहीनले बिना साक्षी खाता प्रयोग गरिरहेको भेट्नुभयो भने के गर्नुहुन्छ नि?”
उनले उत्तर दिए, “त्यसपछि ती सुविधाहरू बन्द गरिने छ।”
यति भइसकेपछि सौगातले सिधै सोधे, “त्यसो भए म पनि सोही गरिरहेको छु। मेरो सुविधा पनि बन्द गरिदिनुहुन्छ?”
उताबाट उत्तर आयो, “हो, अनुपालनासम्बन्धी नियमहरू त पूरा गर्नैपर्छ।”
लगत्तै सौगातको प्रतिप्रश्न थियो, “म स्वयं यस बैंकमा खाता प्रयोग गरिरहेका १० भन्दा बढी दृष्टिविहीन चिन्छु। के ती सबै जनाको खाता नम्बर प्रदान गरेँ भने बन्द गरिदिनुहुन्छ?”
उनले फेरि पनि अनुपालन मान्नैपर्ने कुरा दोहोर्याए।
त्यसपछि पनि सौगातले बैंकको प्रतिनिधिलाई ताकेता गरिरहे, तर ठोस प्रतिक्रिया आएन। उनले अघि नै कुरा भइसक्यो भनेर टार्न खोजे।
हामीले यो समस्या पहिलोचोटि भोगेका थिएनौँ। बरु यसअघि नेपाल एसबीआई बैंकमा पनि यस्तै समस्या भोगिसकेका थियौँ। एसबीआई बैंकमा सौगातले प्रयोग गरिरहेको एटीएम र मोबाइल बैंकिङ सुविधा बिना सहमति बन्द गरिएको छ।
यो एउटा प्रतिनिधि घटना हो। दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिहरूमाथि वित्तीय रूपमा गरिएको विभेदको फेहरिस्त खोतल्ने हो भने लामै सूचि बन्छ। यसलाई अझ राम्रोसँग बुझ्न दृष्टिविहीन व्यक्तिहरूले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूलाई सोध्ने केही प्रश्न हेरौँ:
– के दृष्टिविहीन व्यक्तिहरूलाई मात्र बैंकिङ जोखिम हुने हो? के कुनै साङ्ग व्यक्तिको बैंक खाता दुरुपयोग भयो भने वा एटीएम चोरी भयो भने बैंकले जबाफदेहिता बहन गर्छ?
– यदि बैंकलाई दृष्टिविहीन व्यक्तिहरूको त्यति धेरै माया लाग्छ भने बैंक किन सुरक्षाको प्रत्याभूति दिनुको सट्टा निषेधको बाटो अपनाउँछ?
– आजको एक्काइसौँ शताब्दी र प्रविधिको युगमा नेपाली बैंकिङ क्षेत्र हामी दृष्टिविहीनलाई किन पत्याउँदैन? जबकि हामी सम्पूर्ण बैंकिङ सुविधाहरू बिना अवरोध अझ सुरक्षित र सजग भएर चलाउँछौँ।
– नेपालको कुन वित्तीय नीतिमा अपाङ्गता भएका व्यक्तिहरूलाई बैंकिङ सुविधाबाट निषेधित गर्नू भनेर लेखिएको छ?
– नेपाली बैंकिङ क्षेत्र किन हस्ताक्षरलाई मात्र वैध, साक्षर र स्वावलम्बी ठान्छ, जबकि औँठाछापलाई अझ सुरक्षित माध्यम ठानिन्छ। के हस्ताक्षर नगर्नु वा नजान्नु, अनपढ वा निरक्षरताको पर्याय हो?
कहिले बदलिन्छ यो मनोदशा?
जनचेतना अभाव भनौँ या कानूनी छिद्र, अझै पनि नेपाली बैंक तथा वित्तीय संस्थाहरू दृष्टिविहीन व्यक्तिलाई सहज बैंकिङ पहुँच दिन तयार छैनन्। व्यवस्थापकीय जिम्मेवारिमा रहेका बैंकरहरू पनि दृष्टिविहीन व्यक्तिका निम्ति बैंकिङ कारोबारमा जोखिम देख्छन्। पाँच वर्षअघि पोखराको एक कार्यक्रममा पंक्तिकारसँग ग्लोबल आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले दुई वर्षभित्र ग्लोबल आइएमई बैंकले दृष्टिविहीनमैत्री बैंकिङ सुविधा ल्याउने समयसीमा नै तोकेका थिए। आज ढकाललाई गएर सोध्ने हो भने उनलाई त्यो दिन सम्भवतः सम्झना छैन।
दृष्टिविहीन व्यक्तिका निम्ति बैंकमा खाता खोल्नु नै सबैभन्दा ठूलो चुनौती हो। कथंकदाचित बैंकले खाता खोल्ने अनुमति दियो भने पनि नाबालिगलाई जस्तो संरक्षक को हो भनेर सोध्छ। मान्नुस् खाता खुल्यो, अब समस्या आउँछ बैंकिङ सेवा र सुविधा पाउनुमा। आजको डिजिटल युगमा तपाईं मोबाइल बैंकिङमार्फत कारोबार गर्न पाउनुहुन्न। डेबिट कार्ड प्रयोग गरेर पैसा झिक्न पाउनुहुन्न। क्रेडिट कार्डलगायतका सुविधा लिन पाउनुहुन्न। अनि फगत बैंक खाताले के गर्ने? जबकि चेकमार्फत गरिने कारोबार त अझ जोखिमयुक्त छ हाम्रा लागि।
सम्पूर्ण नेपाली बैंकहरूले दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिलाई खाता खोल्नकै निम्ति विभिन्न झन्झट दिइरहँदा कामना सेवा विकास बैंक लिमिटेडले भने ‘स्वाभिमान बचत खाता’ को नाम दिएर दृष्टिविहीनका लागि छुट्टै खाताको स्किम सञ्चालन गरिरहेको छ। औँठाछापबाट समेत खाता खोल्न सकिने यस स्किममा दृष्टिविहीनले पनि सम्पूर्ण बैंकिङ सुविधा उपभोग गर्न पाउँछन्। बैंकले खाताका शर्तहरूलाई ब्रेल लिपिमा समेत पढ्न सकिने व्यवस्था मिलाएको छ। पंक्तिकार स्वयंले स्वाभिमान बचत खाता खोल्दा यो स्किमको ‘प्रडक्ट पेपर गाइडलाइन’ बनाउन भूमिका खेल्ने अवसरसमेत मिलेको थियो। अब प्रश्न उठ्छ– एउटा बैंकले यतिका सुविधाहरू बिना झन्झट प्रदान गरिरहँदा अन्य बैंक तथा वित्तीय संस्थाहरूले किन त्यसो गर्दैनन् त?
नेपाल राष्ट्र बैंकले ‘एकीकृत निर्देशन २०८२’ मा महत्त्वपूर्ण संशोधन गर्दै बैंक तथा वित्तीय सेवाहरूलाई अपाङ्गता भएका व्यक्तिका लागि पूर्णरूपमा पहुँचयोग्य र समावेशी बनाउन कानूनी रूपमै मार्गप्रशस्त गरेको छ। २०८३ जेठ ८ गते जारी गरिएको निर्देशन अनुसार अब प्रत्येक इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले एकापसमा सहकार्य गरी देशका प्रत्येक स्थानीय तहमा कम्तीमा एक अपाङ्गतामैत्री शाखा सञ्चालन गर्नुपर्नेछ। त्यसको विस्तृत विवरण आ–आफ्नो वेबसाइटमा अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्थासमेत गरिएको छ।
भौतिक पहुँचका अतिरिक्त डिजिटल बैंकिङलाई समेत समावेशी बनाउँदै केन्द्रीय बैंकले एटीएम लाउञ्जहरूमा दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका ग्राहकका लागि ब्रेल संकेत, कन्ट्रोल बटन र अडियो सपोर्टसहितको कम्तीमा एक अपाङ्गतामैत्री एटीएम जडान गर्न निर्देशन दिएको छ। दृष्टिविहीन ग्राहकहरूलाई लक्षित गर्दै डेबिट तथा क्रेडिट कार्डमा विशेष स्पर्शयोग्य सुविधा समावेश गर्नुपर्ने तथा बैंकका आधिकारिक वेबसाइट र मोबाइल बैंकिङ एपहरू अपाङ्गता भएका व्यक्तिहरूले सहजै प्रयोग गर्न सक्नेगरी विश्वव्यापी पहुँचयुक्त निर्देशिका अनुसार विकास गर्नुपर्ने बाध्यकारी नियम ल्याइएको छ।
सबैभन्दा महत्त्वपूर्ण पक्ष, यदि कुनै अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल वा इन्टरनेट बैंकिङ जस्ता डिजिटल सेवा आफै सञ्चालन गर्न सक्षम रहेको स्वघोषणा गरेमा बैंकहरूले ग्राहकको सक्षमता यकिन गर्ने नाममा झन्झट नदिई सहज रूपमा सम्पूर्ण बैंकिङ सुविधाहरू उपलब्ध गराउनुपर्नेछ। यस ऐतिहासिक परिमार्जनले अपाङ्गता भएका व्यक्तिको वित्तीय आत्मनिर्भरता र गोपनीयताको अधिकारलाई सुरक्षित गर्दै नेपालको बैंकिङ क्षेत्रलाई थप आधुनिक, जिम्मेवार र न्यायसंगत दिशातर्फ डोऱ्याउने विश्वास गरिएको छ।
आर्थिक लेनदेनलाई सुरक्षित र पहुँचयुक्त बनाउने यो बहस नेपालका लागि नयाँ सुनिए पनि अन्तर्राष्ट्रिय बैंकिङ जगतमा यसका स्थापित मापदण्ड र प्रविधिहरू उपलब्ध छन्, जसलाई हामीले हुबहु वा परिमार्जन गरेर लागू गर्न सक्छौँ। छिमेकी भारतको केन्द्रीय बैंक आरबिआईले सन् २०२६ मा जारी गरेको निर्देशिका अनुसार त्यहाँका हरेक एटीएमहरू अनिवार्य रूपमा अपाङ्गतामैत्री हुनुपर्छ। अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्ने हो भने आँखा नदेख्ने व्यक्तिको गोपनीयता जोगाउन टकिङ एटीएममा हेडफोन जोड्नेबित्तिकै सुरक्षाका निम्ति बाहिरी स्क्रिन पूर्ण रूपमा कालो हुन्छ, ताकि वरपरका मानिसले उसको कारोबारको विवरण हेर्न नसकुन्। यसले गर्दा दृष्टिविहीन ग्राहकले अडियो गाइडको भरमा सुरक्षित कारोबार गर्न सक्छ।
प्रविधिको यो तह केवल डिजिटल स्क्रिनमा मात्र सीमित छैन, भौतिक कार्डहरू छामेरै चिन्न सकियोस् भनेर ‘मास्टरकार्ड’ र ‘भिसा’ जस्ता विश्वव्यापी कम्पनीहरूले टच कार्डको अवधारणा ल्याएका छन्। यसैको एउटा बलियो उदाहरण ‘युनियन बैंक अफ इन्डिया’ को ‘स्पर्श ब्रेल डेबिट कार्ड’ हो, जसमा बैंकको पहिचानका लागि ब्रेल अक्षर ‘यु’को साथै कार्डको दिशा थाहा पाउन एउटा कुनामा राउन्डेड नच राखिएको छ। यस्ता प्रविधिहरू नेपालमा भित्र्याउन कुनै ठूलो खर्च र मिहिनेत लाग्दैन। किनभने हाम्रा बैंकहरूले प्रयोग गर्ने सफ्टवेयर र कार्ड आपूर्तिकर्ताहरू अन्तर्राष्ट्रिय स्तरकै हुन्, हामीलाई केवल राष्ट्र बैंकको यो निर्देशनलाई आत्मसात् गरी प्रतिबद्धताका साथ कार्यान्वयन गर्ने बैंकर्सको खाँचो छ।
तर प्रविधिको व्यवस्था गर्नु मात्र समस्याको समाधान भने होइन। उक्त प्रविधि हाम्रो आवश्यकता अनुकूल छ कि छैन भन्ने कुरा अझै महत्वपूर्ण हुन्छ। हालै मात्र इन्डोनेसियाको मोबाइल बैंकिङ एप ‘बिआरआइएमओ’ले डब्लुसीएजी २.१ अनुसार ९० प्रतिशतभन्दा बढी पहुँचयुक्तताका अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गरेको थियो। तर जब दृष्टिविहीन प्रयोगकर्ताहरूले कारोबार गर्न खोजे, एपको पहुँचयुक्ततामा समस्या देखापर्यो। त्यसैले बैंकहरूले केवल राष्ट्र बैंकको नियमलाइ बिना तयारी कार्यान्वयन गर्नुको सट्टा लक्षित प्रयोगकर्ताहरूलाई नै प्रविधिको परीक्षण गर्न लगाएर वास्तविक कार्यगत पहुँचयुक्तता सुनिश्चित गर्नुपर्छ।
प्रविधिले संसारलाई सहज बनाउँदै लैजाँदा नेपाली बैंकिङ क्षेत्रले दृष्टिविहीन नागरिकलाई सुरक्षाको नाममा परनिर्भर बनाइराख्नु नीतिगत र व्यावहारिक दुवै रूपमा त्रुटिपूर्ण थियो। एनआइसी एसिया, नेपाल एसबिआई बैंक र अन्य थुप्रै वित्तीय संस्थाहरूमा अपाङ्गता भएका व्यक्तिहरूले विगतमा भोगेका नमीठा अनुभवहरूलाई केलाउने हो भने हाम्रो वित्तीय प्रशासन पनि आजसम्म कागजी प्रक्रियामा अल्झिएको प्रस्ट हुन्छ ।
ढिलै भए पनि नेपाल राष्ट्र बैंकले ‘एकीकृत निर्देशन, २०८२’ मा गरेको संशोधनले यस समस्याको स्थायी समाधानको बाटो खोलेको छ। अब स्वघोषणाका आधारमा दृष्टिविहीन ग्राहकले बिना झन्झट सम्पूर्ण डिजिटल सेवा पाउनुपर्ने र हरेक स्थानीय तहमा कम्तीमा एउटा अपाङ्गतामैत्री शाखा हुनुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ। छिमेकी मुलुक भारतमा सन् २०२६ देखि अनिवार्य गरिएका ‘टकिङ एटिएम’ र अन्तर्राष्ट्रिय स्तरमा लामो समयदेखि अभ्यास गरिएका स्पर्शयुक्त ब्रेल डेबिट कार्ड जस्ता प्रविधिहरू अब हाम्रा लागि पनि कानूनी रूपमा अनिवार्य भएका छन्।
तर, कानूनी रूपमा बाटो खुल्नु मात्रै पर्याप्त छैन। पहुँचयुक्त र सहज वित्तीय अधिकारको मामिलामा लामो समयदेखि पछि पर्दै आइरहेका दृष्टिविहीन तथा समग्र अपाङ्गता भएका व्यक्तिहरूलाई सहज बैंकिङ पहुँच पुर्याउनका निम्ति नियामक निकायको निरन्तर अनुगमन र सुपरिवेक्षण, वास्तविक प्रयोगकर्ताको प्रतिक्रिया र पृष्ठपोषण तथा सेवा प्रदायकहरूको दृढ इच्छाशक्ति र सोचमा परिवर्तन आउनु जरुरी भइसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
रोजिना पोख्रेल
