पुनर्वापसीको ‘टर्निङ प्वाइन्ट’ भरतपुर भाषण ?

भरतपुरमा प्रधानमन्त्रीले दिएको घण्टी टिनीनी पारेको फोटो/भिडियो राख्नेमा सम्भवतः रास्वपा समर्थक कम, कांग्रेस ‘ओल्ड गार्ड’समर्थक धेरै थिए।

राजनीतिमा हारपछि नेताको अब राजनीति सिद्धियो भन्नु हतारो हुन्छ, पुनर्वापसी भइरहन्छ। नेपालमा त हारपछि नेताको भविष्य सकिएको अड्कलबाजी गर्नु भनेको दौडिदा दौडिदै अनेक बल्ड्याङ खाएर लडेको मान्छे अब उठ्दैन भन्नुजस्तै हो, उठेर पुनः दौडिन थाले अचम्म हुँदैन।

जनआन्दोलनमार्फत पञ्चायत ढलेको सात वर्ष नबित्दै पञ्चायतका अन्तिम प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री पदमा विराजमान भइसकेको मुलुक हो। प्रतिकार समितिमै रही जनआन्दोलन प्रतिकारमा अग्रणी कमल थापालगायत त चन्द प्रधानमन्त्री हुनु डेढ वर्षअगावै मन्त्री पड्काइसकेका थिए। २०६४ सालको पहिलो संविधानसभा चुनावमा सोत्तर भएका कांग्रेस/एमाले र तिनका नेताहरू दोस्रो संविधानसभामै पूर्ववत अवस्थामा पुगिसकेका थिए भने, पहिलोमा भीमकाय बनेर आएको माओवादी तेस्रो अनि सानो दलमा खस्किसकेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको उद्घाटनमा कांग्रेस सभापति गगनकुमार थापाको भाषणको सामाजिक सञ्जालमा भ्युज-लाइक्स, चर्चा-परिचर्चा अनि अन्यत्र पनि चर्चाले उनी बल्ड्याङ खाइ उठेर धुलो टक्टकाउँदै दौडिन थालेका त होइनन् भन्ने चर्चा शुरू भएको छ। कुराकानी भएकाहरूले पुनर्वापसीको ‘टर्निङ प्वाइन्ट’ हुनसक्छ भनेपछि भारतमा इन्दिरा गान्धीलाई सत्ता राजनीतिमा पुनर्वापसी गराउन टर्निङ प्वाइन्ट मानिने दलित नरसंहार भएको बिहारको बेलछीसम्म उनको यात्रासँग तुलना गरियो।

रामचन्द्र गुहाले ‘इण्डिया आफ्टर नेहरू’ मा लेखेअनुसार चुनावमा हार र बेलछी यात्राबीच श्रीमती गान्धी काफी निराशाको दौरबाट गुज्रिरहेकी थिइन्। छोरा सञ्जयसहित राजनीतिबाटै सन्यास लिनेसम्म सोचिरहेकी उनी हिमाली उपत्यकामा सानो घर बनाएर बस्न चाहेको सुनाउने गर्थिन्। बिहारको त्यो नरसंहारले उनमा प्राण भर्दियो। हत्याकाण्ड आफ्नो पुनर्वापसीको ‘टर्निङ प्वाइन्ट’ हुनसक्छ भन्ने राजनीतिक चेत उनमा अंकुरायो।

पटनाबाट ९० किलोमिटरको दुरीमा रहेको बेलछी गाउँमा २७ मे १९७७ को दिन बर्बर नरसंहार भएको थियो, जहाँ ११ जना दलितलाई हत्या गरी आगोमा झोसिएको थियो। ‘इण्डिया टुडे’ को युट्युब च्यानलको रिपोर्टअनुसार त्यो क्षेत्रमा दबङ्ग जमिन्दार महाविर महतोको दुश्मनी बेलछीका सिंहेश्वर उर्फ सिंह्वासँग थियो। घटनाको दिन महाविरका गुर्गाहरूले सिंह्वाको घरमा धावा बोलेपनि स्थानीयले लखेट्दिएका थिए। दिउँसो ठूलो समूह आएर पहिला सिंह्वाको गोली हानेर हत्या गरी आगोमा झोस्दिए, एवमरीतले हत्या गरी आगोमा झोस्ने क्रम साँझ ५ बजेसम्म अनवरत चलेको थियो।

संसदमा कुरा उठेपछि दिल्लीमा सरकारचाहिँ यो कुनै जातीय नरसंहार नभई ‘ग्याङवार’ हो भन्दै सामान्यीकरण गर्न खोज्दै थियो। कांग्रेस संसदीय दलका नेता वाइबी चौहान लोकसभामा घोषणाका बावजूद बेलछी गएका थिएनन्। १२ अगष्टको दिन श्रीमती गान्धी दिल्लीबाट पटनाको विमान चढिन्, पटनाबाट कार चढेर बेलछीतिर लागिन्। उसै त कमसल सडक त्यसमा पनि वर्षाले क्षतविक्षत पारेको। कारबाट उत्रिएर उनी जीपमा चढिन्। जीप पनि अघि बढ्न नसक्ने भएपछि उनका लागि ट्याक्टरको बन्दोवस्त गरियो। जब ट्याक्टर पनि गुड्न नसक्ने दलदल आयो, उनी हात्तीको सवारी गरी बेलछी गाउँ पुगिन्।

‘इन्दिरा तेरे अभावमे, हरिजन मारेजाते है’–को नारा गुञ्जिरहेको थियो। इमर्जेन्सीको अत्याचार विस्मृतिमै पुगिसकेको भान हुन्थ्यो। साँझ बेलछी पुगेकी इन्दिरा राति नै फर्केर पटनामा राजनीतिक कार्यक्रममा पुग्छिन्। भोलिपल्ट तिनै जयप्रकाश नारायणलाई भेट्न उनको घरमा पुग्छिन्, जसको नेतृत्वको आन्दोलन चर्किदैगर्दा उनले इमर्जेन्सी लगाएकी थिइन्। हात्ती चढेर बेलछी पुगेको तस्वीर दिल्लीबाट प्रकाशित हुने अखबारहरूमा मेन फोटो हुनपुगे।

श्रीमती गान्धीको लोकप्रियता बढ्न थालेपछि उनका विरोधीहरू नै भन्न थाले, "बेलछीले उनका धेरै उद्देश्य पूरा गर्दियो।" जनता पार्टी गरिब र हरिजनको (उतिवेला दलित शब्द प्रचलित थिएन, महात्मा गान्धीले प्रयोग गरेको हरिजननै प्रचलित थियो) मसिहा हो भन्ने दावीलाई कमजोर पार्दियो। अन्ततः गरिब/हरिजनको नेता त श्रीमती गान्धी नै हुन् भन्ने भाष्य बलियो हुन शुरू भयो। फेरी कांग्रेस कार्यकर्ता/समर्थकमा पनि सत्तामा वापसीका लागि श्रीमती गान्धीमै भरोसा गर्न सकिन्छ भन्ने विश्वास पैदा गर्‍यो। (गुहा)

श्रीमती गान्धीको लोकप्रियता बढ्न थाल्दा अत्तालिएको सरकारले हतारमा अर्को निर्णय गर्‍यो। केन्द्रीय जाँच ब्युरो (सीबीआई)ले एउटा आरोपपत्र तयार गरी उनलाई पक्रेर हरियाणातिर लग्यो। बाटोमा पर्ने रेल्वे क्रसिङमा गाडी रोकिएको बेला श्रीमती गान्धी गाडीबाट जबर्जस्ती उत्रेर नजिकै धर्नामा बसिदिइन्। त्यही श्रीमती गान्धीका वकिलहरू पक्राउ पूर्जीअनुसार दिल्लीबाहिर लैजान मिल्दैन भनेर गलफत्ती गर्न थाले। त्यही भीड जम्मा भई इन्दिराको पक्षमा नाराबाजी गर्न थालेपछि सीबीआईको टोली दिल्ली नै फर्काउन बाध्य भयो। रातभर हिरासतमा राखेर भोलिपल्ट पेश गर्दा मजिष्ट्रेटले बिना अधार र काल्पनिक आरोपपत्रका भरमा थुन्न खोजेको भन्दै थुनामुक्त गर्न आदेश दियो।

घटनाक्रमले सरकारको बदनामी र गान्धीको लोकप्रियता थप चुलियो। आत्मविश्वासले ‘लबालब’ श्रीमती गान्धी अब बल्ल प्रतिपक्षी नेताको भूमिकामा देखापर्न थालिन। महंगाइ, अपराध, कालोबजारीलाई मुद्दा बनाएर सरकारको चर्को आलोचनामा उत्रिनथालिन। ‘सरकारको चर्को आलोचनामा उत्रिएकी गान्धी अब राष्ट्रिय छवि हासिल गर्ने प्रयत्नमा छिन्’ भनेर न्यूयोर्क टाइम्सले अक्टोबर अन्तिम साता न्यूज नै बनाएको थियो। कांग्रेसका कतिपय नेताले इमर्जेन्सीकालमा भएका ज्यादती छानबिन गर्न गठित शाह आयोगसमक्ष श्रीमती गान्धीका विरुद्धमा बयान दिइसकेका थिए। जनवरी १९७८ मा कांग्रेस पार्टी फेरि फुटेपछि श्रीमती गान्धी नेतृत्वको पार्टी कांग्रेस (आई) कहलाउन पुग्यो। लगत्तै उसले कर्नाटक र आन्ध्र प्रदेश विधानसभा चुनाव सजिलै जित्यो।

अब लोकसभामा पुग्न सुरक्षित सिटको खोजीमा लागेकी श्रीमती गान्धीका लागि कर्नाटकको चिकमगलूर सिट पहिचान भयो। हरहालतमा श्रीमती गान्धीलाई रोक्न उद्यत् सरकारले जनता पार्टीको तर्फबाट मुख्यमन्त्री रहिसकेका कर्नाटकका एकदमै सम्मानित नेता वीरेन्द्र पाटिललाई अघि सार्‍यो। ‘इन्दिरा हटाओ’ आन्दोलनका तेजतर्रार नेता तथा इमर्जेन्सीविरुद्ध नायकको छवी बनाएका जर्ज फर्नान्डिज चुनावी कमाण्डर बने। केन्द्रमा उद्योग मन्त्री रहेका उनले मतदान सम्पन्न नभएसम्म क्षेत्रबाहिर खुट्टै नराख्ने घोषणा गरी पाटिलको चुनाव प्रचारमा काम गरेका थिए। तर श्रीमती गान्धीले सजिलै चुनाव जितिन।

लोकसभामा प्रवेशस“गै उनीविरुद्ध प्रतिशोधको अर्को श्रृंखला शुरू भयो। लोकसभाको बहुमतले विशेषाधिकार हनन गरेको ठह¥याई उनलाई एकसाता जेल पठाउने निर्णय गर्‍यो। चुनाव आयोगले जेल जाने भएपछि संसदको सदस्यताबाट राजीनामा दिनपर्छ भन्दियो। फेरी उपचुनाव भयो, फेरी सजिलै जितेर लोकसभा आइपुगिन्, श्रीमती गान्धी। इन्दिरालाई अपमानित गर्न सरकारले गर्ने निर्णयहरू उसैलाई भारी भइरहेको थियो, सबै संकट सामना गर्ने गान्धीको शैलीको तारिफ भइरहेको थियो। सही तरिकाले राजकाज चलाउन केन्द्रित हुनपर्ने सरकार उही इमर्जेन्सीमा आफूले भोगेको दुःखको हिसाबकिताब बरावर गर्न बारम्बार खोजिरहेथ्यो। सरकार साफ संकीर्ण देखिन्थ्यो। (गुहा)

कांग्रेसले ल्याएको अविश्वास प्रस्तावमा जनता पार्टी सरकारमै गृहमन्त्री रहेका चरण सिंह पक्षका सांसदहरूले समर्थन गरेपछि गठन भएको २८ महिनामा मोरारजी सरकार ढलेको थियो। इमर्जेन्सीकालमा जेलमा ‘कुनैदिन सत्तामा आएँ भने कांग्रेसका नेतालाई खुलेआम कोर्रा हान्ने आदेश दिन चाहन्छु’ भन्ने चरण सिंह कांग्रेसको समर्थनमा प्रधानमन्त्री त बन्छन्, कांग्रेसले विश्वासको मत नदिने भएपछि संसदको सामनै नगरी मध्यावधी चुनाव घोषणा गर्छन्। सन १९८० मा श्रीमती गान्धीकै पुनरागमन हुन्छ। ५२५ सदस्यीय लोकसभाको चुनावका लागि भएको चुनावमा कांग्रेसले ३५१ सिट जित्दा जनता पार्टी ३२ सिटमा खुम्चिन्छ।

कांग्रेस सभापति थापाको पुनर्उदयमा रास्वपा महाधिवेशन उद्घाटन सत्रमा उपस्थिति र भाषण त्यस्तै टर्निङ प्वाइन्ट हुनसक्छ त? रास्वपा सभापती रवी लामिछानेले बोलाएको सर्वदलीय बैठकमात्रै होइन कि बालेन्द्र सरकारको सपथग्रहण कार्यक्रममै अनुपस्थित कांग्रेस सभापति रास्वपाको महाधिवेशनमा पनि नजाने मनस्थितिमै थिए। बिहानै सामाजिक सञ्जालमार्फत महाधिवेशनलाई शुभकामना दिइसकेकै थिए। उपसभापति पुष्पा भूषालको लागि काठमाडौ–भरतपुर उडानको टिकट काटिइसकेको थियो। एक्कासि सभापति थापाले आफै जाने निर्णय लिए। सभापति नै उपस्थित हुने जानकारी आयोजकलाई गराएपछि स्थानीय प्रशासनका साथै प्रहरीबाट ‘सेक्युरिटी थ्रेट’ रहेको जनाउँदै नआए हुने भन्ने फोनहरू आउनथाले। अब जे पर्ला–पर्ला भन्दै कार्यक्रम रद्द नगरी चितवन उडेका उनका लागि महाधिवेशनस्थलको अवस्था सुरक्षा निकायले भनेजस्तो थ्रेटवाला थिएन। महाधिवेशनस्थल प्रवेश गर्दा ताली बजाएर उनको स्वागत भयो। मञ्चमा पनि प्रधानमन्त्रीले दिएको रास्वपाको चुनाव चिन्ह घण्टी लिएर बजाउनपर्नेबाहेक उनको प्रतिकूल केही भएन, अझ सबै अनुकूल नै भयो।

भाषणकौशलमा माहिर उनको भाषण जम्यो। भाषणाका क्लिपहरूले सोसल मिडिया प्लेटफर्महरूमा सम्भवतः पहिलोचोटी बालेन्द्र शाहको भाषणभन्दा बढी भ्युज बटुले। २०१८ सालमा कांग्रेसले भरतपुर कब्जा गर्दा पञ्चायती सत्ताले गरेको दमन र हत्याको प्रसङ्ग उठाइदिएपछि त्यो घटनाबारे आमचासो देखियो। महाधिवेशन उदघाटनामा जाने भएस“गै सामाजिक सञ्जालमा छाउन थालेका थापा भोलिपल्ट पनि छाइहे। भकाभक ‘कन्टेन्ट’ बने।

श्रीमती गान्धीको भ्रमणले बेलछी नरसंहारबारे नै चासो बढाई काफी स्थलगत रिपोर्टिङहरू भएको थियो। नरसंहारको तेश्रो महिना पनि बित्न लाग्दाखेरी इन्दिरा त्यहाँ पुगेकी थिइन्। उनी पुगेपछि घटनाको रिपोर्टिङ बढ्नगयो। जसले मृतकका परिवारलाई न्यायको अनुभूति गराउन सहायकको भूमिका खेल्यो। आमचुनावमार्फत श्रीमती गान्धीको सत्तावापसी भएको चार महिनापछि १९ मई १९८० को दिन शुरू अदालतले अभियुक्तद्वय महाविर महतो र परशुराम धानुकलाई मृत्युदण्डको सजाय सुनाएको थियो। हाइकोर्टमा दुई न्यायाधीशको राय बाझिएपछि तेश्रो न्यायाधीशसहित पुनः सुनुवाई भयो। तेश्रो न्यायाधीशले स्थलगत अध्ययन गरी मृत्युदण्डको पक्ष लिएपछि बहुमतबाट सदर भएको फासी ९ नोभेम्बरको दिन भागलपुर जेलमा कार्यान्वयन भएको थियो।

थापाको कारण २०१८ सालको घटना र सहिदहरूबारे कम्तिमा सोधीखोजीचाहिँ बढेको छ। त्यो घटना समेटिएका किताब ‘बखान’ र ‘सान्दाजु’ बारे सोधीखोजी र हल्का किन्ने क्रम बढेको छ।

सन १९७७ को आमचुनावमा इन्दिरा र कांग्रेस सोत्तर भएजस्तै यहाँ सभापति थापासँगै कांग्रेससमेत सोत्तर भए पनि श्रीमती गान्धीजत्तिकै प्रतिकूल अवस्थामा छैनन्। इन्दिराका लागि त चुनावी हारभन्दा पनि इमर्जेन्सीकालका ज्यादतीका अनगिन्ती घटना (४८ हजार त लिखित उजुरी नै थिए) भारी थिए। भलै सरकार चाहिँ गुहाले उल्लेख गरेझैं ‘सही तरिकाले राजकाज चलाउन केन्द्रित हुनपर्नेमा इमर्जेन्सीमा आफूले भोगेको दुःखको हिसाबकिताब बरावर गर्न बारम्बार खोजिरहने’ खालकै सुनिन्छ। सुशासनभन्दा धेरैभन्दा धेरै नेता, प्रशासक, व्यापारीलाई थुनेरै भ्युज/लाइक्स बटुल्नेमा केन्द्रीत भएजस्तो भान हुन्छ।

संकटकै घडीमा पार्टी फुट्दा कांग्रेसलाई फरक परेन, र लगत्तै सम्पन्न आन्ध्र प्रदेश र कर्नाटक विधानसभा चुनाव सजिलै जितेको माथि नै उल्लेख भइसकेको छ।

यहाँ कांग्रेस फुटकै संघारमा छ। ‘ओल्ड गार्ड’हरूले कार्यालय खोल्न घर खोजिसकेका छन्, पार्टी पनि विस्तारै दर्ता होला नै। त्यो पार्टी  कुन अजेण्डासहित आउँछ भन्ने नै अन्योल रहँदा त्यसले कांग्रेसलाई कति रेक्टर स्केलको धक्का दिन्छ अनुमान गर्न सकिन्न। हिन्दू राष्ट्रको अजेण्डासहित आए कस्तो धक्का देला, संवैधानिक राजतन्त्रसमेतको अजेण्डा लिएर आए कस्तो होला, जनताले कस्तो ‘रेस्पन्स’ गर्लान अनुमान गर्नु हतारो हुन्छ। फेरि त्यो पार्टीमा डा. शेखर कोइराला हुने–नहुने पनि टुंगो लागेको छैन। कोइरालाद्वय शेखर र शशांक गए ‘कांग्रेसको जननी परिवारका कोइराला परिवार कांग्रेसबाट किनारा, पञ्चायतमा पनि चर्दै प्रजातन्त्रमा घर फर्किएका केसी परिवारको हालिमुहाली’ भन्ने  भाष्य बनाउने नै छन्।

अस्ति भरतपुरमा प्रधानमन्त्रीले दिएको घण्टी टिनीनी पारेको फोटो/भिडियो राख्नेमा सम्भवतः रास्वपा समर्थक कम, कांग्रेस ‘ओल्ड गार्ड’समर्थक धेरै थिए।

असोजका लागि निर्धारित पन्ध्रौं महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचित हुन त खासै सकस हुने छैन, निर्विरोधै पनि बन्लान्। १० महिनापछि हुने स्थानीय चुनावचाहिँ उनका लागि फलामेगेटवाला परीक्षा हुनेछ। स्थानीय चुनावमा आमचुनावको तुलनामा उल्लेख्य सुधारमात्रै गर्दापनि उनले बल्ड्याङ खाएपछि शुरू भएपछिको दौडलाई तीब्र बनाउन सक्नेछन्। अनि भरतपुरको भाषण टर्निङ प्वाइन्ट थियो भनेर दावी ठोक्न पनि सकिन्छ। उनको सफलता उनको कार्यशैली/रणनीतिसँग त जोडिने नै छ, त्योभन्दा बेसी सरकारको कार्यसम्पादनमा ठोक्किनेछ। कार्यसम्पादनमा सरकार राम्रै देखिए उनले जति झड्का दिएपनि नमच्चिने पिङमा उभिएझैं हुनेछ। आम असन्तुष्टि देखिन थाले पिङ मच्चिने छ।