बुधबारदेखि मनसुन कमजोर हुने

जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिएको छ।

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिएको छ। विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले वर्षा भइरहेको हो।

विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले आज र भोलि देशका विभिन्न स्थानमा वर्षा भए पनि बुधबारदेखि भने वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिए। अर्यालका अनुसार आज दिउँसो देशका हिमाली भू–भागका केही स्थानमा तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेस प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ। विभागले कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको जनाएको छ। साथै, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आज राति मधेस प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्नेछ। ती क्षेत्रमा बाढीपहिरो, डुबान तथा गेग्रान बहावको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

विपद्का घटनामा १५ जना घाइते
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशभर विपद्जन्य ६२ वटा घटना भएका छन्। सो अवधिमा मुलुकका विभिन्न भागमा बाढीपहिरो, डुबान तथा सर्पदंश जस्ता प्राकृतिक विपद्का घटना भएका हुन्।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार ती घटनामा दुई जनाको मृत्यु र १५ जना घाइते भएका छन्। “सर्पदंशका कारण दुई जनाको मृत्यु भएको हो भने ११ जना घाइते भएका छन्। उक्त घटनाबाट नौ जिल्ला प्रभावित भएका छन्। पहिरोबाट दुई जना घाइते भएका छन् र ११ जिल्ला प्रभावित भएका छन्”, उनले भनिन्।

प्राधिकरणका अनुसार पछिल्ला २४ घण्टाको अवधिमा ११ वटा सडक अवरुद्ध भएका छन्। प्राधिकरणले आज सार्वजनिक गरेको दैनिक विपद् बुलेटिनअनुसार विपद्का कारण करिब रु १२ लाख २७ हजार बराबरको अनुमानित आर्थिक क्षति भएको छ। घटनामा छ वटा चौपायाको समेत क्षति भएको छ।

पछिल्लो २४ घण्टामा १८ जिल्लामा २६ वटा पहिरो, १३ वटा सर्पदंश, आठ वटा आगलागी, सात वटा अविरल वर्षा, पाँच वटा जनावर आक्रमण तथा तीन वटा बाढीका घटना भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ। ती घटनाबाट कुल ४७ जिल्ला प्रभावित भएको र उद्धारका लागि सुरक्षा निकायका २६७ जना जनशक्ति परिचालन भएको प्राधिकरणले जनाएको छ।