पहेँला लुगा लगाएर भावुक र नाटकीय प्रवचन दिँदा केही मान्छे एकैछिन भावुक बन्लान्। तर तीन हजार वर्षदेखि जात व्यवस्थाद्वारा दीक्षित समाजले विभेदको महामारीबाट मुक्ति पाउनेवाला छैन।
२०४७ सालको प्रजातन्त्रको दोस्रो झुल्के घामसँगै बाग्लुङको कुनै गाउँको विपन्न परिवारमा जन्मिएका प्रकाश सपुत आजका दिनमा धेरै नेपालीभाषीले युट्युबलगायत सामाजिक संजाल र सार्वजनिक मञ्चहरूमा सुनेको र देखेको नाम हो। उनी जन्मेर हुर्कंदै गर्दा श्रमका लागि उनका बा कहिले भारत जान्थे, कहिले विष्टका घर। जीवनसँग भिड्ने क्रममा उनी आफैँ पनि केही समय बासँग भारत पुगे। छुवाछुत र विभेदलाई बाल्यकालमै 'मनसा, वाचा, कर्मणा' भोगेका उनी उमेर बढ्दै जाँदा 'विभेद'लाई बुझ्न जान्ने भए र जानै पर्ने अवस्थामा बाहेक गैरदलितका घर गएनन्।
यसबीचमै उल्लेख गरौँ, दलितका लागि यो मुलुक युगौँदेखि नर्कसमान किन पनि छ भने तिनका लागि एक टुक्रो जमिन जहिल्यै सुनबराबर अमूल्य छ। गणतन्त्रपछिको संविधानले दलितलाई कमसेकम 'टेक्ने जमिन' दिने वाचा गरेको छ, पछिल्ला दिनमा त्यसमा सुस्तै भए पनि केही काम भइरहेको छ। एक अनौपचारिक तथ्यांकअनुसार १५ लाख भूमिहीनमध्ये १० लाख त दलित छन्।
नेपाली समाज जातका मामलामा यति जकडिएको समाज हो कि प्रकाशले सार्वजनिक रूपमा घोषणा गरेर कहिल्यै म फलानो जातको हुँ भनेजस्तो लाग्दैन, तर उनका गीत सुन्ने र हेर्नेहरूले बारम्बार भनेका छन्, 'साँच्चै, सपुत त फलानो जातको रे नि है!' शहरमा दलितले डेरा किन पाउँदैनन् भन्ने कुरालाई 'फलानो जातको रे नि है' भन्ने आश्चर्य मिश्रित अभिव्यक्तिले प्रतिविम्बित गर्छ!
बहुप्रतिभाशाली कलाकार हुँदाहुँदै पनि, प्रकाश तुलनात्मक रूपमा दलनमा परेको समुदाय र वर्गको भएकै कारण तीन वर्षसम्म उनको श्रीमतीको परिवारले विवाहलाई स्वीकारेन। उनको दलित समुदायकै फरक जातिमा विवाह भएको हो। आज प्रकाश लोकप्रिय छन्, के दलित, के गैरदलित प्रशंसकहरूद्वारा घेरिन्छन्। आफ्नो गीतसंगीत र अभिनयका डिजिटल दुनियाँमा प्रकाश चम्किएका छन्।
उनले अहिलेसम्म इन्टरनेटमार्फत दर्शक स्रोतामाझ ल्याएका झन्डै चार दर्जन गीत/म्युजिक भिडियोमध्ये अपेक्षाकृत सफल हुन नसकेका पनि छन्। तर विगत सात-आठ वर्षमा उनले सामाजिक संजाल तताएका छन्। प्रायजसो सामाजिक मुद्दामा गीत बनाउने उनी यदाकदा विवादमा तानिएका छन् तर चर्चाबाट कहिल्यै टाढा छैनन्। उनका कतिपय म्युजिक भिडियोले तीन/चार करोडसम्म दर्शकस्रोता बटुलेको छ। यसबाट बुझिन्छ, उनले आम नेपाली मनोविज्ञान छामेका छन्। भ्युज कता आउँछ भन्ने चाल पाएका छन्। भाइरल हुन जान्नेलाई आजका दिनमा बाँच्न अप्ठेरो छैन।
पछिल्लो गीत 'दमाईं महाराज'सँग माथिको पृष्ठभूमि केही हदसम्म जोडिएको छ। किन पनि जोडिएको छ भने गाउँको मन्दिर छोएको कारण गाउँलेले लखेटेको एउटा बालक वर्षौं लापत्ता रह्यो, धेरै वर्ष कुनै अज्ञात धाम र तिर्थ पुगेर शास्त्र पढेर 'दीक्षित' भयो। सो बालक अन्तत: सनातनी कथावाचक बनेर आफ्नै गाउँ फर्कन्छ, सप्ताह ज्ञान यज्ञमार्फत विभेदविरुद्ध सन्देश दिन खोज्छ। अन्त्यमा 'दमाईं महाराज'ले सप्ताह लगाउँदा, प्रसाद खुवाउँदा र चरण स्पर्श गराउँदा पनि गाउँमा कसैको केही अनर्थ नभएको भन्दै विभेदको अभ्यास गलत भएको र मान्छेहरू अज्ञानतामा रहेको सन्देश दिन खोज्छन्।
नेपाली र दक्षिण एशियाली समाज 'हाइरार्की'हरूको जटिल पहेली हो। नेपालको कुरा गर्ने हो भने यहाँ जात विभाजनका जटिल खुड्किलाहरू छन्, जसको व्याख्याको अनौपचारिक अधिकार आज पनि मण्डप र मञ्चमा बस्ने पितवस्त्रधारी पुरुष महाराजहरूसँग छ, जो प्राय: सबैभन्दा शुद्ध बाहुनहरू नै हुने गर्छन्। तिनका प्रतिनिधिका रूपमा कर्मकाण्ड गर्ने पण्डितहरू 'छुत' यजमानहरूका घरसम्म पुग्छन्। हाम्रो सामाजिक व्यवहारले दलितलाई छुत पण्डितको प्रयोग गर्नसमेत वर्जित गरेको छ।
प्रकाशले भिडियोमा 'कुनै पनि धर्मले जातको आधारमा ठूलो र सानो हुँदैन' भनाएका छन्। र, सँगै यो पनि भनेका छन्, 'यदि भनिन्छ भने त्यो धर्म ठिक छैन। मान्छे कर्मका आधारमा सही र गलत हुन्छ।' उनले भावोत्तेजक अभिव्यक्ति दिँदै भनेका छन्, “कुनै पनि जातको मान्छे मन्दिरमा पस्दैमा भगवान बिटुलो हुँदैन।”
दक्षिण एशियाका मन्दिरमा पस्न दलितले गरेको संघर्षको कथा लामो छ। नेपालका भगत सर्वजित विश्वकर्माले आजभन्दा आठ दशकअघि नै हिन्दू धर्म ग्रन्थको गहिरो अध्ययन गरेका थिए। वेद, उपनिषद्, पुराण, मनुस्मृति लगायतका ग्रन्थ पढेर संस्कृतमा आचार्य गरेपछि उनले आफ्नो नाम बदलेर भगत बृन्चि लेखेका थिए।
उनको दाबी पनि त्यही थियो कि धार्मिक ग्रन्थमा कहीँ पनि ऊँचनिच छैन, धर्मका आधारमा कसैले पनि कसैलाई अपमानित गर्न मिल्दैन। यसो भनेर बहसमा उत्रने उनी नै पहिलो नेपाली दलित नेता हुन्। वि.सं. १९९७ सालमा विश्व सर्वजन संघ नामक संगठन स्थापना गरेर उनले दलनविरुद्ध मसाल उठाएका थिए।
तर सपुत र सर्वजितका तर्कहरूमा प्रशस्त विवाद गर्न सकिन्छ। पहिलो, संसारमा विभेदकारी धर्म/सम्प्रदाय छन्। धर्मले अनेक त्रास र रहस्यका कथाहरू रचेर मान्छेहरूलाई एकसूत्रमा बाँधेर विशाल बाँध, किल्ला, मठ, प्रार्थनास्थल र समुदायहरू बनाएर मानव सभ्यता अघि बढे पनि धर्मकै नाममा प्रशस्त ऊँचनिच तय गरिएको छ। धर्मका नाममा लाखौँ होइन, करौडौँ मान्छे मारिएका छन्। मेरो धर्म र तेरो धर्मका नाममा आज पनि संसारभर प्रशस्त विभेदका अभ्यास जारी छन्।
अनेकन् पुराना पुस्तकहरूमा विभेदका सैयौँ प्रसंग छन् र यस भूगोलमा अभ्यास गरिने सनातन धर्ममा पनि त्यस्ता प्रसंग छन्। मण्डपमा बसेर धर्मका व्याख्या गर्नेहरूले थिति चलाएका छन्। तिनै संस्कारका आधारमा सामाजिक मनोविज्ञान बनेको छ। युरोप र अमेरिका पुग्दासमेत 'शुद्ध जातका मानिस'हरू अशुद्ध मान्छेहरूमाथि विभेद गरिरहेका छन्। सोही कारण केही देशले हाम्रो मौलिक छुवाछुत र छुतअछुतको व्यवहारलाई लिएर त्यहाँसमेत कानून बनाउँदै छन्।
प्रकाशजी, धेरै संरचनात्मक लाभ पाउने समुदायको मान्छेले विभेदका कुरा बुझ्न चाहँदैनन्। त्यो स्वाभाविक पनि हो। बगरेले पाठाको मर्का नबुझेजस्तै हो। यसो भन्दै के भन्न खोजिएको हो भने विभेद केबल भावनात्मक विषयमात्रै हुँदै होइन। केही दलितले संस्कृत पढेर, उपनिषद्, वेद र पुराणका ऋचा वाचन गरेर यो समस्याको हल हुनेवाला छैन। यसको सबैभन्दा प्रभावकारी हल राज्यको हस्तक्षेप र सकारात्मक विभेद नै हो। किनभने यो लेख लेख्दै गर्दा सेतोपाटीमा एउटा समाचार आएको छ। यस्ता समाचार मात्रै होइन, दलनसँगै जोडिएर धेरै अपराधका समाचार अर्को कति दशकसम्म हामीले पढ्ने सुन्नेछौँ। राज्य र राज्य सञ्चालकले दलनको अन्तर्य नबुझ्दा, प्रहरी प्रशासनसमेत यति निर्लज्जसँग आफैँ उत्पीडक बनेको छ। कानूनको खिल्ली उडाएको छ।
माथि मैले दलन र उत्पीडनको विषय भावनात्मक विषयमात्रै होइन भनेँ, तर यो भावनाको विषय पनि हो। पहेँला लुगा लगाएर '१० हजार महात्मा ईश्वर महाराज'ले भावुक र नाटकीय प्रवचन दिँदा पनि यसमा केही मान्छेहरू एकैछिनका लागि भावुक बन्लान्। भिडियोका टुक्राहरू टिकटकमा फैललान्, युट्युब ट्रेन्डिङमा जाला, तर तीन हजार वर्षयता निरन्तर जात व्यवस्थाद्वारा दीक्षित हाम्रो समाज र समुदायले जात र विभेदको यो महामारीबाट सहजै मुक्ति पाउनेवाला छैन। हजारौँ वर्षदेखि 'शुद्ध जात'ले पाएको शिक्षा, सम्पत्ति र सत्ताको आरक्षणको तागत क्षीण भएर 'शूद्र जात'ले पनि महाराजको तथाकथित योज्ञता र वास्तविक सामाजिक सम्मान पाउन अर्को दशकौँ अपुग होला।
जात र धर्मको विषयमा बोल्दा गाली खाइन्छ। किनकि आज पनि संसारका धेरैजसो देशका धार्मिक अधिकारी/हर्ताकर्ता आफैँमा अदृश्य रूपमा सत्ता सञ्चालक हुन्। तिनले व्याख्या गर्ने धर्म, परम्परा र विभेदको विषयमा सपुतले गीत गाएरै सही, केहीबेर सनातनी तालमा थोरै तरंग त ल्याएका छन्, तर यो सेलाएर गइहाल्छ, बिर्सिइन्छ। फिल्मको कुनै भावुक दृश्यमा रूनेहरूमा त्यसको लामो र दुरगामी असर र प्रभाव रहला र? २-३ हजार वर्षयताको विभेदकारी धार्मिक-परम्परागत-सामाजिक-आर्थिक कारणले नै खास समुदाय अति गरीब र अपहेलित भएका हुन्। राम्रो अध्ययन र सामाजिक समझबाट त्यो कुरा बुझ्न सकिन्छ।
एकाध धार्मिक व्यक्तिले धार्मिक सुधारका प्रयत्न गरे पनि धार्मिक रूपमा विभेदका अभ्यास सच्याउन 'शुद्ध जाति' र तिनका दर्जनौँ संगठन र समूह अहिलेसम्म एकीकृत रूपमा तयार भएका छैनन्। उनीहरू तयार भए पनि सर्वसाधारण तयार हुने छैनन्। यस्तो अवस्थामा राज्यले नै बञ्चित र दलनमा परेका समुदायको हितका लागि वैज्ञानिक कार्यक्रम र निर्मम कानून बनाउनुपर्छ। अनि शिक्षामार्फत आमूल परिवर्तनको प्रयत्न गर्नुपर्छ। केही सुधारका प्रयास त 'शुद्ध समुदाय'ले नेतृत्व गरेको राज्यले पनि पछिल्लो दशकमा गरेको छ। आमूल परिवर्तनको गुन्जायस उसबाट पनि सम्भव छैन। अत: उत्पीडनमै परेको समुदायले उत्पीडनका वैज्ञानिक कारण खोजेर त्यसविरुद्ध लड्नुभिड्नुको विकल्प छैन। मन्दिर छिरेर र रामनामी ओढेर दलनको दलदल रोकिने छैन। प्रकाश महाराज, पहेँलो लुगाले 'भ्युज' बटुल्छ, समाज बदलिन्न।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
