कालापत्थरमा अमेरिकी रेस्लरलाई पछारेकी भगवती

भगवती जीवनभर कुनै न कुनै रूपमा रेस्लिङसँगै जोडिन चाहन्छिन्। अत्याधुनिक लाइट, प्रोजेक्टर र पूर्वाधारसहितको आकर्षक रिङ बनाएर नवयुवालाई रेस्लिङमा अवसर दिने उनको योजना छ।

काठमाडौँ- ५ हजार ६४४ मिटरको उचाइ, न्यून अक्सिजन र कठ्याङ्ग्रिँदो जाडो। धेरैका लागि यो केवल हिमाल आरोहणमा जाने मार्ग हो। तर सगरमाथाको फेद कालापत्थरको यही उचाइमा नेपाली रेस्लर भगवती खड्काले अमेरिकी प्रतिद्वन्द्वीलाई रिङमा पछारिन्।

विश्व चर्चित ‘वर्ल्ड वाइड इन्टरटेनमेन्ट’कै अनुभवी खेलाडीलाई पराजित गर्दै भगवतीले सर्वोच्च उचाइमा रेस्लिङको विश्व कीर्तिमान बनाइन्। योसँगै उनले नेपाली नारीको सामर्थ्यलाई समेत विश्वसामु चिनाइन्। भगवतीको यहाँसम्मको यात्रा भने रामेछापको दुर्गम गाउँबाट शुरू हुन्छ।

nullगेलु गाउँमा जन्मिएकी भगवतीको बाल्यकाल पहाडका उकाली–ओरालीसँगै बित्यो। भगवतीको हक्की स्वभाव, जोसिलो शरीर र अग्लो कदले उनलाई सानैदेखि भिन्न पहिचान दियो। उनी घरको काम छरितो गरी भ्याएर तामाकोसीका माछा मार्न पुग्थिन्। एक किलो माछा ८० रुपैयाँमा बेचेको सम्झना उनलाई अझै ताजा छ। “त्रिचन्द्र क्याम्पसमा विज्ञान संकाय पढिरहेका दाइलाई कति पटक माछा बेचेर जम्मा गरेको पैसा पठाएकी थिएँ,” उनी सम्झिन्छिन्।

बुवाले दाइलाई पढाउँदा लिएको ४ लाख रुपैयाँ ऋण केही समयपछि चक्रीय ब्याजका कारण ८ लाख पुगेछ। ऋण तिर्न नसक्दा साहुले भएको जग्गा र भैँसी नै लगिदिए। त्यो देखेर भगवतीलाई नरमाइलो लाग्यो। सोही समयमा माओवादी द्वन्द्व चर्किएको थियो।

माओवादीमा लागे बुवाको ऋण तिर्न सकिने लोभमा ९ कक्षामा पढ्दै गर्दा भगवती जंगल पसिन्। सामना सांस्कृतिक परिवारमा केही समय बिताइन्। तर महिनाको ५०० रुपैयाँ मात्र सुविधा पाएपछि तीन महिनामै भागेर घर फर्किइन्।

विद्यालयमा पढ्दा भगवती कक्षामा उत्कृष्ट थिइन्। उनको कामप्रतिको लगाव र पढाइप्रतिको लगनशीलता सधैँ उच्च रह्यो। छोरा वा छोरी भएकै कारण कोही कमजोर वा बलियो हुँदैन भन्ने उनी एक उदाहरण थिइन्।

१२ वर्षको उमेरमा एक दिन उनी हजुरबुवाले बनाएको ढुंगाको पुरानो घरमा सुत्न गएकी थिइन्। राति करिब २ बजेतिर सुतिरहेकै अवस्थामा उनलाई सर्पले बेर्‍यो। शरीरमा सर्प बेरिएपछि चिसो महसुस भएर उनी चिच्याइन्, तर कसैले सुनेनन्। केही बेरमा सर्प आफैँ निस्किएर गयो।

त्यसको केही महिनापछि पात्लेबारीको खेतमा बाँदर कुर्न र घाँस काट्न गएका बेला अर्को यस्तै घटना भयो। एक भारी घाँस काटेर थाकेकी उनी सिमलको रुखको जरामा निदाइन्। त्यति नै बेला एउटा कालो नागले उनलाई बेर्‍यो। उनी अत्तालिँदै जोडले कराएपछि नाग अर्कैतर्फ मोडियो।

null१० कक्षासम्म गाउँकै विद्यालयमा पढेकी उनी उच्च शिक्षाको सिलसिलामा काठमाडौँ आइन्। शुरूमा उनी आफन्तसँग बस्न गइन्। तर आफन्तले ‘कति धेरै खाएको’, ‘घरबाटै चामल ल्याउनुपर्छ’ जस्ता नमिठा वचन सुनाउने र घरको काममा मात्र लगाउने गरेपछि गाउँकै बहिनीहरूसँग बस्ने योजना बनाइन्। उनी भावुक हुँदै भन्छिन्, “आफूलाई दुःख पर्दाको साथी आफू मात्र हुने रहेछ।”

बहिनीहरूसँग बस्न थालेपछि उनले ‘चाइना टाउन’मा काम शुरू गरिन्, २५ सय रुपैयाँ तलबमा। काम थालेको एक महिनामै बहिनीहरूले पनि उनलाई छुट्टै कोठा खोज्न भने। उनले कोठा खोजेर त्यही सीमित तलबले सामान जोहो गरी बस्न थालिन्। पैसा अभावकै कारण कहिलेकाहीँ २–४ दिनसम्म भोकै बस्नु परेको उनी सुनाउँछिन्।

उनीभित्र धेरै चाहना थिए र छन्। ती चाहनालाई पच्छ्याउँदै संघर्षको दौडलाई शुरू गरिन्। रेडियोमा गीत सुनेर प्रभावित भएकी उनी मेलापात गर्दा गुनगुनाउँदै हिँड्थिन्। काठमाडौँ भित्रिएको केही समयमै उनी गीत गाउनतर्फ लागिन्।

६०० गीतमा सुर भरेकी उनले पहिलो एल्बमबाटै आफ्नो उपनाम ‘युनिका’समेत राखिन्। तर भविष्यले उनलाई अर्कै ‘रिङ’ मा पर्खिरहेको थियो। काठमाडौँको बसाइदेखि रिङसम्म पुग्दाको उनको यात्रा सहज थिएन।

उँचो कद र बलियो ज्यानका कारण भगवतीलाई देख्ने जति सबैले खेल क्षेत्रमै लाग्न सुझाउँथे। भगवतीलाई पनि कताकता खेलकुदप्रतिको रुचिले पछ्याउन थाल्यो। शुरूमा भारोत्तोलनमा अवसर पाएकी उनले सन् २००८ मा राष्ट्रियस्तरको प्रतियोगितामा कांस्य पदकसमेत जितेकी थिइन्। सिकेको तीन महिनामै चोटका कारण त्यो क्षेत्र छोड्नुपर्‍यो।

भारोत्तोलन सिक्दै गर्दा उनले ‘आम्मै’ र ‘नाता बन्धन’ जस्ता टेलिसिरियलमा अभिनय गरिन्। गाउँमा ‘फलानाकी छोरी टेलिभिजनमा आउँछे’ भन्दै उनको चर्चा हुन थाल्यो। सन्तोष पन्तको ‘हिजोआजका कुरा’मा ३० भागसम्म अभिनय गरेपछि उनी कलाकारका रूपमा स्थापित भइन्।

भगवतीले दर्जनौँ चलचित्रमा पनि काम गर्ने अवसर पाइन्। ‘हवल्दार सुन्तली’, ‘हिम्मतवाली’ र ‘रामप्यारी’ जस्ता चलचित्रमा देखिइन्। चलचित्रमा ‘लेडी फाइटर’को रूपमा प्रवेश गरेपछि नै उनले रेस्लिङको ढोका ढकढक्याउन शुरू गरेकी हुन्, यद्यपि त्यति बेलासम्म उनलाई यो खेलबारे खासै जानकारी थिएन।

null२०६९ सालमा चलचित्रका लागि ‘फाइट’ सिक्दै गर्दा गुरु (प्रशिक्षक)ले रेस्लिङको प्रसंग निकाले। त्यसपछि यो कस्तो प्रकारको खेल होला भन्ने चासो जाग्यो। प्रशिक्षक राजेन्द्र श्रेष्ठको सल्लाहपछि उनी ‘हिमालयन टाइगर’ (भरतबहादुर विसुराल) को प्रशिक्षणमा रेस्लिङ सिक्न थालिन्। त्यहीँबाट उनमा व्यावसायिक रेस्लर बन्ने चाहना पलायो।

तर पुरुषको वर्चस्व रहेको रिङमा महिलाका लागि रेस्लिङ सिक्नु चुनौतीपूर्ण थियो। त्यति बेला नेपालमा रेस्लिङलाई पुरुषको मात्र खेल मानिन्थ्यो। महिलाले रिङभित्र छिरेर ‘फाइट’ गर्छु भन्नु तत्कालीन समाजका लागि पाच्य थिएन। ‘छोरी मान्छे भएर पनि यस्तो मारपिट गर्ने?’ भन्ने प्रश्नहरू उनले पटक–पटक सुन्नुपर्‍यो। तर उनको अठोट ती प्रश्नहरूभन्दा कयौँ गुणा बलियो थियो।

प्रशिक्षणका क्रममा संवेदनशील अंगमा लाग्ने चोटका कारण उनी धेरै पटक निरुत्साहित भइन्। पुरुषहरूको भीडमा अभ्यास गर्न सहज नभए पनि हिम्मत हारिनन्। सन् २०१२ मा अर्घाखाँचीमा आयोजना गरिएको अन्तर्राष्ट्रिय प्रतियोगितामा अमेरिकी रेस्लर ‘द ग्रेट चिन्ने’लाई पराजित गरेपछि मात्र समाजले उनको शक्तिलाई स्वीकार गर्‍यो। उनी भन्छिन्, “त्यो पहिलो भिडन्तमा दर्शकको हुटिङ र उत्साहले मेरो आत्मबल निकै बढ्यो।”

nullत्यस बेलासम्म आर्थिकरूपमा अडिग हुने आधार थिएन। ठमेलमा एक व्यक्ति विदेश जाने भएपछि आफ्नो क्याफे बेच्ने तयारीमा थिए। भगवतीले एकजना दिदीसँग मिलेर केही रकमको जोहो गरी त्यो क्याफे चलाउन शुरू गरिन्।

क्याफेबाट राम्रो आम्दानी हुन थालेपछि उनले बुवाको ऋण तिरेर राहत महसुस गरिन्। तर उनीमाथि फेरि अर्को बज्रपात पर्‍यो। आमाको टाउकोमा रगत जम्ने समस्या देखिएपछि उपचारका लागि जोडेको सबै सम्पत्ति बेचेर सकियो।

उनले ‘नेपाल महिला रेस्लिङ फाउन्डेसन’ स्थापना गरी अहिले अन्य युवायुवतीहरूलाई यो साहसिक खेलको तालिम दिइरहेकी छन्। उनी आफू मात्र अघि बढेकी छैनन्, अन्य महिलाका लागि पनि यस क्षेत्रमा सम्भावनाका ढोका खोलिदिएकी छन्।

एक दशकदेखि यस क्षेत्रमा सक्रिय भगवतीले हालसम्म नेपालका विभिन्न स्थानका साथै भारत, पाकिस्तान र जापान पुगेर आफ्नो कौशल देखाएकी छन्। आफ्नै फाउन्डेसनमार्फत पनि देशका विभिन्न भागमा रेस्लिङ प्रतियोगिता गर्दै आएकी छन्।

null२०७३ सालमा भारतको ट्यागराज स्टेडियममा आयोजित ‘ट्रिपल थ्रेट’ प्रतिस्पर्धामा भारत र अफ्रिकाका खेलाडीलाई पराजित गर्दै उनले ऐतिहासिक जित हासिल गरेकी थिइन्। यति धेरै उपलब्धिका बाबजुद यो खेललाई सरकारी निकायले उपेक्षा गरेको उनको गुनासो छ।

भगवतीको यो यात्राका साक्षी गुरु हिमालयन टाइगर उर्फ विसुराल निकै खुशी छन्। भगवतीभन्दा अघि पनि केही महिलाह रेस्लिङ सिक्न आएका थिए, तर उनीहरूमा खेलप्रतिको अनुशासन नदेखेकाले आफूले नसिकाएको विसुराल बताउँछन्। “भगवतीमा खेलाडीमा हुनुपर्ने वास्तविक अनुशासन देखेर नै मैले उनलाई सिकाएको हुँ,” उनी भन्छन्।

भगवतीको मिहिनेत र लगनशीलताकै कारण आज नेपालमा रेस्लिङ खेल अघि बढिरहेको देख्दा आफूलाई निकै सन्तोष मिलेको विसुरालको भनाइ छ। आफूलाई समेत आयोजना गर्न कठिन लाग्ने रेस्लिङ प्रतियोगिता भगवतीले सफलतापूर्वक सञ्चालन गरिरहेको उनले बताए।

नेपालको पहिलो महिला रेस्लरको पहिचान पाएपछि उनलाई नयाँ कीर्तिमान कायम गर्ने हुटहुटीले पछ्याइरह्यो। नेपालको पर्यटन प्रवर्द्धन गर्ने र आफूलाई विश्वमाझ चिनाउने उद्देश्यले उनले हिमालय क्षेत्रमा रेस्लिङ गर्ने योजना बुनिन्। सीमित स्रोतसाधनका बाबजुद यो कार्य सहज थिएन, तर उनले हिम्मत हारिनन्। उनकै साहसका कारण विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालको बेसक्याम्पमा रेस्लिङ आयोजना भयो र उनको नाम ‘वर्ल्ड बुक अफ रेकर्ड्स’ मा दर्ता हुन सफल भयो।

nullउनले आफ्नो पोसाक र गरगहनामा समेत नेपालको झन्डा र नक्सा अंकीत गरेकी छिन्। प्रतियोगिताका लागि बोलाउँदा मात्र विदेश जाने उनी नेपालमै काम गर्ने सोचले यतै अडिइरहेको बताउँछिन्। उनी भन्छिन्, “आफ्नै देशमा युवाले गरिखाने वातावरण तयार हुनुपर्छ।”

२०२४ मे २० (सगरमाथा दिवस) ‍का दिन कालापत्थरमा रेस्लिङ आयोजना गरेर उनले ‘वर्ल्ड बुक अफ रेकर्ड्स’मा आफ्नो नाम पुनः दर्ता गराइन्। उनी जीवनभर कुनै न कुनै रूपमा रेस्लिङसँगै जोडिन चाहन्छिन्। अत्याधुनिक लाइट, प्रोजेक्टर र पूर्वाधारसहितको आकर्षक रिङ बनाएर नवयुवालाई रेस्लिङमा अवसर दिने उनको योजना छ।

उनको सबैभन्दा ठूलो चाहना एकपटक विश्वचर्चित ‘डब्ल्यूडब्ल्यूई’को रिङमा उत्रिनु छ। उनी भन्छिन्, “सम्भव भए आफैँ, नत्र आफूले उत्पादन गरेका खेलाडीलाई भए पनि डब्ल्यूडब्ल्यूईसम्म पुर्‍याउनेछु।”

Very nice khadka miss keep it up wish you all the best

Shiva pd pathak

4 months, 3 weeks ago