नेताहरूका काँधमा धानिनसक्नु मालाको भार

नेपाली समाजमा फूल र मालालाई शुभ, खुशी, सौन्दर्य र उल्लासको प्रतीक मानिन्छ। तर निर्वाचनमा उम्मेदवार मात्र बनेकाहरूले पनि आफैले धान्न नसक्ने गरी माला लगाउने विकृतिलाई निरन्तरता दिइरहेका छन्।

काठमाडौँ– कांग्रेस सभापति गगनकुमार थापाको काँधले फागुन ९ गते १२५ किलोको माला बोक्यो। खासमा माला काँधमा होइन गलामा लगाइन्छ, तर यति भारी माला गलाले धान्न सक्ने थिएन। कार्यकर्ताले हातैले समाएर माथिबाटै मालाको छहारी हालिदिए।

सर्लाही क्षेत्र नं. ४ बाट आगामी चुनावमा उम्मेदवार बनेका थापालाई त्यही क्षेत्रका कार्यकर्ताले भीमकाय माला लगाइदिएका हुन्। उनी आफ्नो परम्परागत क्षेत्र काठमाडौँ-४ छाडेर पहिलोपटक सर्लाही पुगेका छन्।

nullथापा तिनै हुन्, जसले यसअघि स्वास्थ्यमन्त्री हुनासाथै फूलमालाले घाँटी भद्दा नपार्ने वचन सार्वजनिक गरेका थिए। २०७३ साउनमा स्वास्थ्यमन्त्री बनेका उनको यो वाचा तीन महिनापछि नै टुटेको थियो। २०७३ असोजमा नेपालगन्जमा उनले ५१ किलोको माला धारण गरेका थिए।

यसको विरोध भएपछि थापाले आफूलाई जबरजस्ती माला लगाइदिएको प्रस्टीकरण दिनुपरेको थियो। तर उनले नेपालगन्जमा ‘जबर्जस्ती माला लगाइदिएको’ तीन महिनापछि फेरि उदयपुरमा अर्को विशाल माला धारण गरेका थिए। 

चुनावका बेला विशाल र अनुहारसमेत पुरिने गरी माला पहिरिन प्रतिस्पर्धा जस्तै छ। जसपा अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता शरतसिंह भण्डारी र संरक्षक महन्थ ठाकुर महोत्तरीमा एउटै विशाल मालामा बेरिए। यादवको सचिवालयले फागुन १४ गते फेसबुकमा राखेको तस्वीरमा भण्डारी उम्मेदवार भएको महोत्तरी–२ को परौलमा आयोजित सभामा तीनै नेतालई ठूलो माला लगाइएको थियो।

nullएमाले नेता सूर्यबहादुर थापा प्युठानका यस्ता उम्मेदवार हुन्, जो अनुहार छोपिने गरी लगाएका मालाको तस्वीरले सामाजिक सञ्जालमा भाइरल हुन्छन्। चुनाव प्रचारकै क्रममा फागुन ७ गत नौबहिनी–५ सेराबाङ पुग्दा उनी मालाबाटै पुरिएसरह देखिन्थे। यो तस्वीर उनी आफैले भोलिपल्ट फेसबुकमा राख्दै सगर्व लेखे, “भव्य स्वागत, बल्लबल्ल आँखासम्म देख्न सकेँ।”

फेरि फागुन १० गते थापाको गलामा लालीगुराँस, असुरोको फूलसँगै सिमी र बकुल्लाको माला झुण्डियो। थापाको गला सजिन आलु र मकैको मालाले समेत धर पाएनन्। उनको गला मालाले नपुरिएको दिन नै हुँदैन।

nullकञ्चनपुरमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको काँधले पनि फागुन ९ गते भारी तौलको माला थेग्नुपरेको थियो। चुनावी प्रचारका क्रममा दोधारा–चाँदनी पुगेका कुलमानलाई २० किलोको मालाले स्वागत गरिएको थियो। कुलमान काठमाडौँ क्षेत्र नं. ३ का उम्मेदवार हुन्।

nullचुनाव प्रचारकै लागि पशुपतिनाथ क्षेत्रमा पुग्दा केही दिनअघि राप्रपाका उम्मेदवार सुरेन्द्रराज भण्डारी पनि मालाले पुरिएको अवस्थामा थिए। रूद्राक्ष र सयपत्रीको माला उनको गला भरिएको थियो। भण्डारी काठमाडौँ–४ मा उम्मेदवार छन्।

हामी यस्तै त हो नि!
२०७३ सालमा प्रधानमन्त्री छँदा केपी शर्मा ओलीले गला पुरिने गरी माला पहिर्‍याउने प्रवृत्ति निरूत्साहित गर्नुपर्ने र त्यसको सट्टा फूलको थुँगा दिएर स्वागत गर्नुपर्ने अभिव्यक्ति दिएका थिए। त्यति बेला त्रिवि कुलपति पनि रहेका उनले २०७३ असार २८ गते विश्वविद्यालय सभाको बैठकमा उनले भनेका थिए, “कुनै पनि सभामा प्रमुख अतिथि, अतिथि बोलाइन्छ। स्वागतका निम्ति फूलगुच्छा चाहिन्छ। एउटा फूलगुच्छा भए पुग्छ। धेरैवटा माला, खादा आवश्यक छैन। एक जना जो अगाडि हुन्छ, उसले एउटा पुष्पगुच्छा दिने र बाँकीले नमस्कार गरे पुग्यो। धेरै खर्च किन गर्नुपर्‍यो?”

गलामा होइन, काँधमा फूलमालाको भारी पहिर्‍याइदिने चलनप्रति प्रधानमन्त्री छँदा चिन्तित देखिएका ओलीले १७ महिनापछि आफ्नो काँधमा मालाको भारी बोके। २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी कार्यक्रममा ओली जहाँ पुगे, फूलमालाले पुरिएका हुन्थे।

उक्त चुनावपछि तत्कालीन नेकपा माओवादी केन्द्रसँग एकता गर्ने भएकाले ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ जहाँ–जहाँ पुगे त्यहाँ प्रायः एउटै भीमकाय माला पहिरिएका थिए। पर्वतको कुश्मादेखि झापासम्मै उनीहरूले एउटै विशाल माला लगाए। अहिलेको निर्वाचनमा पनि झापा–५ मा उम्मेदवार रहेका ओलीको गलामा यसपटक माला देखिएको छैन।

तर गत मंसिरमा भएको महाधिवेशमा अध्यक्ष निर्वाचित भएपछि उनलाई सम्मानका क्रममा कार्यकर्ताले माला लगाइदिएका थिए। उनलाई पुस ९ गते काठमाडौँ-संखुवासभा सम्पर्क मञ्चका नेताहरूले ११ किलोको माला लगाइदिएका थिए।

null२०७४ सालको चुनावमा नेताहरूलाई माला पहिर्‍याइदिने चलन कतिसम्म झाँगिएको थियो भने, कांग्रेस नेता विमलेन्द्र निधि त बिरामी नै परेका थिए। अत्यधिक मालाको प्रयोगका कारण निधिको स्वास्थ्यमा समस्या देखिएपछि आफ्नो चुनावी क्षेत्र धनुषाबाट काठमाडौँ फर्किएर अस्पताल भर्ना भएका थिए। निधिका तत्कालीन प्रेस सल्लाहकार रामजी दाहालले यो संवाददातासँग भनेका थिए, “फूलमाला स–साना किटाणुहरू बस्ने हुँदा रोगको संक्रमणबाट बच्न फूलमाला नलगाउन सल्लाह दिएका हुन्। त्यसपछि उहाँ (निधि)ले फूलको माला लगाउनु भएको छैन।” 

चुनावका बेला मात्र नभई, विद्यालयको कार्यक्रममा निम्ताइएका राजनीतिक पाहुनाले पनि ठूला माला पहिरिने होडबाजी हुन थालेपछि एक दशकअघि शिक्षा विभाग त्यसलाई रोक्नुपर्ने टुंगोमा पुगेको थियो। २०७२ चैतमा विभागले विद्यालयको औपचारिक कार्यक्रममा आमन्त्रित अतिथिको ‘स्वागत तथा बिदाइमा मालैमालाले गला ढाक्ने गरी स्वागत नगर्न’ सर्कुलर जारी गरेको थियो।

भलै यो सर्कुलरले माला लगाइदिने प्रवृत्ति रोकिएन। किनभने सरकारका मन्त्री नै विद्यालयमा पुगेर ठूलो माला लगाउने क्रम चलिरह्यो। २०७३ माघमा तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री निधि नै पर्वतको शहीद स्मारक आवासीय माविको रजत जयन्ती उद्घाटन गर्न पुग्दा विशाल माला लगाएर फर्किएका थिए।

२०७४ सालको तुलनामा २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा यस्तो माला पहिरिने चलन कम देखिएको थियो। तर त्यसको तीन वर्षपछि हुँदै गरेको आमनिर्वाचनमा फेरि फूलमालाको आशक्ति बढेको देखिन्छ।

व्यवस्था फेरियो, व्यवहार फेरिएन 
नेपाली समाजमा फूल र मालालाई शुभ, खुशी, सौन्दर्य, उल्लास अर्थात् राम्रैराम्रोको प्रतीक मानिन्छ। कुनै शुभकाम थालनी गर्दा फूलको प्रयोग गरिन्छ। देवी–देवतालाई फूल चढाउने परम्परा छ। राम्रो कार्यका लागि प्रयोग गरिने यही फूललाई चुनावमा लोकतन्त्रको सौन्दर्यकै मानमर्दन भइरहेको टिप्पणी पनि भइरहेको छ। 

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनालले केही समयअघि ‘लोकतन्त्रमा नेताहरू सम्मानित हुने तर पूज्य नहुने’ प्रतिक्रिया दिएका थिए। “लोकतन्त्रमा जनताले नेताको पूजा गर्दैनन्, प्रश्न गर्छन्, सम्मान गर्छन्। पूजा र सम्मान फरक कुरा हुन्,” उनले भनेका थिए, “नेताको पूजा गर्नु लोकतन्त्रविपरीत कुरा हो।” 

समाजमा अरूभन्दा अलग देखिन र आफ्नो प्रभुत्व प्रदर्शन गर्न नेताहरूले धेरै तौलको फूलमाला लगाउनु सामन्तवादी समाजकै अवयव भएको समाजशाष्त्रका उपप्राध्यापक प्रेमबहादुर चलाउने बताउँछन्। “ठूलो माला लगाइदिनु, त्यसलाई हर्षपूर्वक ग्रहण गर्नु चाकडी संस्कारको लेनदेन हो,” उनी भन्छन्, “लोकतन्त्रमा चाकडी होइन, जवाफदेही नेतृत्वको परिकल्पना गरिन्छ।” 

झनै भौतिकवादी राजनीतिक दर्शन बोकेका कम्युनिस्टहरू नै यस्तो प्रतिस्पर्धामा अगाडि छन्। २०६२/६३ को जनआन्दोलनपछि शान्ति प्रक्रियामा आएको तत्कालीन नेकपा माओवादीका नेताहरू सार्वजनिक हुँदा नै धुमधाम फूलमाला पहिरिएका थिए। यसपछि नै राजनीतिक वृत्तमा फूलमालाको प्रयोग बढ्न थालेको चलाउनेको भनाइ छ।

२०७६ सालमा धनगढीको एक कार्यक्रममा प्रचण्ड।एमालेका पुराना नेता एवं पूर्वमन्त्री राधाकृष्ण मैनालीका अनुसार, युद्धरत तत्कालीन पार्टी माओवादीका नेताहरूले छद्म नाम राखेकाले खुला राजनीतिमा आउँदा कसैले नचिन्ने अवस्था आयो र उनीहरूमा हीनताबोध भयो। “त्यही हीनताबोध छोप्न र आफूलाई चिनाउन माओवादीले फूलमाला संस्कृति व्यापक बनायो,” मैनाली भन्छन्, “यसलाई अन्य पार्टीका नेताले समेत अनुसरण गर्न थालेपछि यो राजनीतिको अभिन्न अंगजस्तै बन्न पुगेको छ।”

राजतन्त्रकालमा राजाहरूको सवारी र पण्डितहरूको महायज्ञमा पनि फूलमालाको व्यापक खपत हुन्थ्यो। तर २०४६ सालको परिवर्तनपछि यस्तो दृश्य देखिएको थिएन। त्यति बेला अबिरको मात्र प्रचलन थियो। “बाटोको दायाँबायाँ उभिएका जनताले हामीलाई अबिरजात्रा नै गरिदिएका थिए,” पूर्वमन्त्री मैनाली सम्झन्छन्। 

गणतन्त्रकालमा बनेका कम्युनिस्ट प्रधानमन्त्री सबैले बढीभन्दा बढी तौलको माला पहिरिन थाले। यस अवधिमा कम्युनिस्ट नेतृत्वमा ६ वटा सरकार बने, जसमध्ये सबैले भीमकाय माला गलामा थापे। प्रचण्ड, ओली, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई लोकतन्त्र स्थापनापछि बनेका कम्युनिस्ट प्रधानमन्त्री हुन्। 

कम्युनिस्ट भन्नेहरूले नै आफूलाई ‘पूजनीय’ बनाउँदा लोकतन्त्रमा समस्या हुने प्राध्यापक खनाल बताउँछन्। “हिजो देउतालाई अक्षता चढाउँदा अन्न खेर गयो भनेर आलोचना गर्नेहरूले यत्रो फूल बोकेर हिँड्दा खेर गएन?” खनालले केही समयअघि भनेका थिए, “फूलमाला पहिरिने कार्य र राजनीतिक सिद्धान्त, दर्शनबीच ठूलो विरोधाभास छ।”