स्वास्थ्य प्रणालीका चुनौती–२

सम्भव छ नेपाल सुहाउँदो स्वास्थ्य व्यवस्था

वायु प्रदूषण, कुपोषण तथा चुरोट र सुर्ती सेवनजस्ता रोगव्याधि तथा मृत्युको अधिकतम हिस्साका जोखिम तत्त्व कसरी नियन्त्रण र निराकरण गर्ने भन्ने विषय सबल स्वास्थ्य प्रणाली निर्माणको पहिलो कदम हुनुपर्छ।

[आउँदो फागुन २१ को चुनावको सरगर्मी बढेसँगै नेपालको स्वास्थ्य प्रणाली कस्तो हुनुपर्ने भन्ने विषयमा सोधखोज पनि बढ्दै गएको छ। यसै सिलसिलामा यो लेख श्रृंखलाको पहिलो भागमा हामीले नेपालको स्वास्थ्य बीमा कार्यक्रमको समस्याको विषयमा छलफल गरेका थियौँ। लेख श्रृंखलाको यो दोस्रो भागमा ती समस्याहरूको जरो कहाँनेर छ र समस्याको निराकरण गर्दै एउटा समुन्नत स्वास्थ्य प्रणाली बनाउनका लागि के गर्नुपर्छ भन्ने विषयमा केन्द्रित रहेर छलफल गर्नेछौँ।]

नेपालको स्वास्थ्य प्रणाली कस्तो हुनुपर्छ भन्ने बहस तथा छलफलको सुरुवातमा स्वास्थ्यसेवा तथा स्वास्थ्य प्रणाली के हो, यसले के गर्छ र यो के का लागि हो भन्ने कुरा बुझ्न जरुरी छ। यो कुरामा सैद्धान्तिक प्रष्टता भएपछि नेपाललाई उपयुक्त स्वास्थ्य प्रणाली कस्तो हुनुपर्ने र त्यस्तो स्वास्थ्य प्रणाली कसरी विकास गर्न सकिन्छ भन्ने कुरामा प्रष्टता आउनेछ।

वैज्ञानिक ज्ञानको प्रयोग गरेर स्वास्थ्य अवस्थालाई सुधार गर्ने विधि र प्रक्रियालाई स्वास्थ्यसेवा भनिन्छ। स्वास्थ्यसेवा व्यक्ति-केन्द्रित (क्लिनिकल) अथवा समुदाय-केन्द्रित (जन-स्वास्थ्य) हुन सक्छन्। स्वास्थ्यसेवा प्रदान गर्न आवश्यक पर्ने पूर्वाधार, संसाधन र त्यसका अन्य अवयवहरूलाई हामीले समष्टिगत रूपमा स्वास्थ्य प्रणाली भनेर बुझ्ने गर्छौं। 

एउटा स्वास्थ्य प्रणालीका दुई वटा महत्त्वपूर्ण भूमिका हुन्छन्: १) स्वास्थ्यसेवा प्रदान गर्ने, २) स्वास्थ्यसेवा प्रदान गर्न स्रोतको बन्दोबस्त गर्ने। यी दुई भूमिकामध्ये पनि पहिलो नै प्रधान हो। दोस्रो भूमिका स्वास्थ्यसेवामा पहुँच सुनिश्चित गर्ने-गराउने सिलसिलामा महत्त्वपूर्ण हो। र, यी दुवै भूमिका स्वास्थ्य प्रणालीको मूल लक्ष्य हासिल गर्नका निम्ति साधन मात्रै हुन्। यी आफैमा साध्य वा लक्ष्य होइनन्। 

स्वास्थ्य प्रणालीको मूल लक्ष्य वा साध्य आम मानिस तथा समुदायको स्वास्थ्य-स्थिति सबल बनाउने हो। अनि स्वास्थ्यसेवाको उपभोगले आम मानिस वा समुदायलाई स्वस्थ रहन मद्दत पुग्छ भन्ने बुझाई र विश्वासका आधारमा स्वास्थ्यसेवा प्रदान गरिने हो। स्वास्थ्यसेवाले आम मानिस या समुदायलाई स्वस्थ हुन सहयोग नगर्ने हो भने स्वास्थ्यसेवा प्रदान गर्न आर्थिक स्रोतको प्रबन्ध कसरी गर्ने भन्ने विषय त गौण हुने नै भयो, स्वास्थ्य प्रणालीकै औचित्यमा पनि प्रश्न उठ्ने भयो। 
त्यसैले एउटा समुन्नत स्वास्थ्य प्रणालीको विकास गर्ने बहसको केन्द्रमा हुनुपर्ने विषय भनेको स्वास्थ्यसेवाको उपभोग गरेर मानिसहरू स्वस्थ हुन्छन् या हुँदैनन्, र हुन्छन् भने कस्ता स्वास्थ्यसेवाको प्रयोग गरेर मानिसहरू स्वस्थ हुन्छन् र आम नागरिक तथा समुदायलाई स्वस्थ बनाउन के गर्नुपर्छ भन्ने विषय हो। र, यी विषयमा प्रष्टता आइसकेपछि मात्रै त्यस्ता उपयोगी स्वास्थ्यसेवामा पहुँच बढाउन आर्थिक स्रोतको बन्दोबस्त कसरी गर्ने भन्ने बहस र चिन्तन हुनुपर्ने हो। यी सैद्धान्तिक विषयमा प्रष्टता भएमा हाम्रो समुदाय सुहाउँदो स्वास्थ्य प्रणाली कस्तो हुनुपर्छ र यसको कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा धेरै प्रष्टता आउँछ।

तर हामीकहाँ भने  स्वास्थ्य प्रणाली सुधारसम्बन्धी सम्पूर्ण बहस आर्थिक स्रोतको बन्दोबस्त कसरी गर्ने भन्ने विषयमा नै सीमित रहन गयो (वास्तवमा यो समस्या धेरै देशमा छ)। अझ त्यसमाथि पनि आर्थिक स्रोतको बन्दोबस्तीका लागि सामुदायिक स्वास्थ्य बीमा कार्यक्रम नै एक मात्र उपाय हो र सामुदायिक स्वास्थ्य बीमा कार्यक्रमलाई देशव्यापी कसरी बनाउने भन्ने विषयमा मात्रै हाम्रो प्रयास केन्द्रित रहन गयो। 

हाम्रो स्वास्थ्य क्षेत्रको वैचारिक बहस चुकेको यहीँनिर हो। यस्तो वैचारिक अस्पष्टतामा टेकेर एउटा समुन्नत स्वास्थ्य प्रणालीको निर्माण गर्न सकिँदैन।

गएको शताब्दीमा जीवविज्ञान तथा सम्बन्धित विषयहरूमा वैज्ञानिक ज्ञानको उल्लेख्य अभिवृद्धि भएसँगै स्वास्थ्यसेवा मार्फत त्यो ज्ञानको प्रयोग गर्दै मानवीय स्वास्थ्यलाई सुधार गर्न सक्ने क्षमतामा हामीले उल्लेख्य सफलता हासिल गरेका छौँ। त्यसैले २०औँ शताब्दीको सुरुवातमा विश्वव्यापी रूपमा ३२ वर्ष जति मात्रै रहेको औसत-आयु बढेर अहिले ७२ वर्ष पुगेको छ। यो अद्भुत सफलता हासिल गर्न विज्ञानको सहायताले विकास गरिएका समुदाय-केन्द्रित (जन-स्वास्थ्य) तथा व्यक्ति-केन्द्रित (क्लिनिकल) स्वास्थ्य सेवाहरूको अत्यन्तै महत्त्वपूर्ण भूमिका छ। 

यसै कारणले विज्ञानमा आधारित स्वास्थ्यसेवामा पहुँच बढाउने हेतुले स्वास्थ्य प्रणालीहरूको विकास गर्ने प्रयास विश्वव्यापी रूपमै प्राथमिकतामा पर्ने गरेको हो। स्वास्थ्य प्रणालीको आवश्यकता यही कारण स्थापित भएको हो।  स्वास्थ्य क्षेत्रमा खर्च गरिने आर्थिक स्रोतको औचित्य पनि त्यही आवश्यकताले नै स्थापित गरेको हो। आज हरेक देश तथा समाजले विज्ञानमा आधारित क्लिनिकल तथा जन-स्वास्थ्य सेवाको पहुँच सबैमा पुर्‍याउनु एउटा महत्त्वपूर्ण लक्ष्यका रूपमा लिएका छन्।

तर यहाँनिर महत्त्वपूर्ण कुरा के हो भने विज्ञानसम्मत स्वास्थ्यसेवाको उपभोगले स्वास्थ्य स्थितिमा सुधार ल्याउँछ भन्दैमा सबै किसिमका स्वास्थ्यसेवाको उपभोगले स्वास्थ्य स्थितिमा सुधार ल्याउँछ भन्ने कुनै ग्यारेन्टी छैन। त्यसैले कुनै पनि स्वास्थ्यसेवामा गरिने लगानी बढाउनु अगाडि त्यस्तो स्वास्थ्य सेवाको उपभोगले वास्तवमै स्वास्थ्य स्थितिमा सुधार ल्याउन मद्दत गर्छ कि गर्दैन भन्ने कुराको  समीक्षा र लेखाजोखा हुन जरुरी हुन्छ। यो विषयमा विश्वव्यापी रूपमा नै हामी निकै चुकेका छौँ। 

लेख श्रृङ्खलाको यो भागमा हाम्रो परिकल्पना अनुरूपको नेपाललाई उपयुक्त स्वास्थ्य प्रणाली निर्माण गर्ने मार्ग तथा तरिका कस्तो हुन सक्छ भन्ने कुराको खाका कोर्ने प्रयत्न यहाँ गरिएको छ। 

कसरी गर्ने स्वास्थ्य सेवाको प्राथमिकीकरण 
स्वास्थ्य सेवाले सामान्यतया दुई प्रमुख तरिकाले स्वास्थ्यमा सुधार ल्याउन सहयोग गर्छन्। एक, रोगव्याधिका जोखिम तत्त्वहरूलाई नै नियन्त्रण गरेर रोग नै लाग्न नदिएर। दोस्रो, रोग लागिसकेपछि त्यसको उपचार गरेर रोगव्याधि तथा सम्भावित मृत्युबाट जोगाएर। त्यसैले कुन देश या समुदायमा कुन किसिमको स्वास्थ्यसेवा उपयोगी छन् भन्ने कुरा त्यहाँ विद्यमान रोगव्याधिका जोखिम या कारकतत्व र उपचारात्मक स्वास्थ्यसेवाको वास्तविक आवश्यकताले निर्धारण गर्ने गर्छ। 

कुन स्वास्थ्यसेवा उपयोगी छन् र कुन स्वास्थ्य सेवा उपयोगी छैनन् भन्ने विषय दुई तरिकाले बुझ्न सकिन्छ। १) समुदायमा विद्यमान रोगव्याधि तथा मृत्युका जोखिम तत्त्वहरू के हुन् भन्ने मापन गरेर, र २) समुदायमा विद्यमान रोगव्याधि तथा मृत्युको उपचार तथा निवारण गर्नका निमित्त के कस्ता स्वास्थ्य सेवाहरूको आवश्यकता पर्दछ भन्ने विषयको अध्ययन गरेर।

ग्लोबल बर्डन अफ डिजिजेज (जीबीडी) नामको विश्वव्यापी अध्ययनले हरेक देशमा रोगव्याधि तथा मृत्युका प्रमुख जोखिमतत्त्व तथा कारकहरू के हुन् भनेर मापन गर्ने गर्छ। केही वर्षको अन्तरालमा प्रकाशित भइरहने यो अध्ययनले नेपालमा पनि रोग व्याधिका जोखिमतत्त्व तथा कारकहरूको मापन गर्ने गरेको छ। जीबीडीको पछिल्लो संस्करणका अनुसार नेपालमा रोगव्याधिका प्रमुख पाँच जोखिमतत्त्व वायु प्रदूषण, कुपोषण तथा उग्रपोषण, उच्च रक्तचाप, चुरोट तथा सुर्तीजन्य पदार्थहरूको प्रयोग, उच्च सुगर रहेका छन्। यी जोखिम तत्त्वहरू नेपालमा हरेक वर्ष हुने मृत्युको ५०% भन्दा धेरै मृत्युका लागि जिम्मेवार छन्। जीबीडीकै तथ्याङ्क अनुसार नेपालमा मृत्युका प्रमुख कारकहरू दम, हृदयाघात, पक्षाघात, फोक्सोको संक्रमण र नवजात शिशुका रोगहरू हुन्। 

तर वायु प्रदूषण, कुपोषण र सुर्तीसेवनजस्ता रोगब्याधिका जोखिम तत्त्वहरूको सम्भव भएसम्म नियन्त्रण तथा निराकरण गर्दागर्दै पनि रोगव्याधि लागि नै हाल्छन्। त्यसैले एउटा सबल तथा समुन्नत स्वास्थ्य प्रणालीमा रोगब्याधि लागिसकेपछि दिइने उपचारात्मक सेवाको पनि अत्यन्तै महत्त्वपूर्ण स्थान छ। आम नागरिक तथा समुदायमा के कस्ता रोगहरूलाई कसरी उपचार गरिनुपर्छ भन्ने कुराको अध्ययन गरेर  हामीले स्वास्थ्य प्रणालीका उपचारात्मक सेवाहरूको प्राथमिककरण गर्न सक्छौँ। 

स्विजरल्याण्डमा गरिएको एक अध्ययन अनुसार एउटा औसत समुदायमा हरेक महिना प्रत्येक १०० व्यक्तिमा २७ जनामा कुनै किसिमको रोगको लक्षण या स्वास्थ्य समस्या देखिने गरेको पाइयो। त्यसमध्ये १२ जना बिरामीलाई अस्पतालबाहिर नै उपलब्ध बहिरङ्ग स्वास्थ्यसेवा र चिकित्सकीय परामर्श लिन आवश्यक पर्‍यो। यी १२ मध्ये पनि दुई तिहाइलाई आफ्नो प्राथमिक चिकित्सकको परामर्श आवश्यक भयो र एक तिहाइलाई अन्य विशेषज्ञ चिकित्सकसँग स्वास्थ्य परामर्श लिन आवश्यक भयो।

एक महिनाको अवधिमा १०० व्यक्तिमध्ये एक जनालाई मात्र अस्पतालको अन्तरङ्ग सेवा आवश्यक पर्‍यो। र, प्रति हजारमा एक जनालाई आइसीयु सेवा आवश्यक पर्‍यो। यसको अर्थ, हरेक एक व्यक्तिलाई आइसीयुको सेवा आवश्यकता आवश्यक पर्दा १० जनालाई अस्पतालको अन्तरंग सेवा आवश्यक पर्ने रहेछ र १२० जना जति व्यक्तिलाई  अस्पताल बाहिरै प्रदान गर्न सकिने बहिरङ्ग सेवा आवश्यक पर्ने रहेछ।

नेपाल र स्विजरल्यानन्डको परिवेश, जनसाङ्खिक बनोट र रोगव्याधिको प्रकृतिमा केही भिन्नता रहे पनि एउटा सबल स्वास्थ्य प्रणाली रहेको र स्वास्थ्यसेवामा अन्यत्रभन्दा निकै सहज पहुँच भएको ठाउँमा गरिएको यो अध्ययनले नेपालको स्वास्थ्य प्रणालीले उपचारात्मक सेवा प्रदान गर्ने क्षमतालाई कसरी विकास गर्नुपर्छ भन्ने विषयमा  महत्त्वपूर्ण प्रकाश पार्छ। 

तर हामीकहाँ विशेषगरी सहरी क्षेत्रहरूमा चिकित्सकीय सेवाहरू अस्पतालबाट मात्रै प्रदान गर्न सकिन्छ भन्ने मान्यता प्राविधिक वृत्तमै पनि गहिरोसँग स्थापित छ। त्यसैले स्वास्थ्य प्रणालीलाई सुधार गर्ने हाम्रा प्रयत्नहरू पनि विशिष्टीकृत तथा आधारभूत अस्पतालहरूको सङ्ख्या थप गरेर अस्पताल केन्द्रित सेवाहरूको विस्तार गर्नेमा सीमित छन् छन्। त्यति मात्रै नभएर स्वास्थ्यसेवामा स्रोतको परिचालन पनि धेरै मान्छेलाई आवश्यक पर्ने समुदाय केन्द्रित स्वास्थ्यसेवामा पहुँच सहज बनाउनेमा केन्द्रित नभई अस्पतालमा हुने खर्चका निम्ति स्रोतको बन्दोबस्त गर्नमै सीमित रहन गएको छ। 

एउटा सबल, समुन्नत र मितव्ययी स्वास्थ्य प्रणाली निर्माणको पहिलो कदममा वायु प्रदूषण, कुपोषण तथा चुरोट सुर्ती सेवनजस्ता रोगव्याधि तथा मृत्युको अधिकतम हिस्साका जोखिम तत्त्वहरूलाई कसरी नियन्त्रण र निराकरण गर्ने विषयबाट हुनुपर्छ। वायु प्रदूषण तथा सुर्तीसेवनजस्ता रोगव्याधि तथा मृत्युका प्रमुख जोखिम तत्त्वहरूलाई नियन्त्रण र निराकरण गर्ने विषय सबल र समुन्नत स्वास्थ्य प्रणालीको हाम्रो परिकल्पनाभित्र अटाउनुपर्छ। वायु प्रदूषणबाट हुने दमको उपचारमा मात्र ध्यान दिने तर वायु प्रदूषण नियन्त्रण गर्न उचित प्राथमिकता नदिने, अथवा हृदयाघात कम गर्न चुरोट सुर्तीको प्रयोग नियन्त्रण नगर्ने तर हृदयाघातको महँगो उपचारमा सम्पूर्ण स्रोत, शक्ति तथा  ध्यान केन्द्रित गर्ने स्वास्थ्य प्रणाली खर्चिलो र बोझिलो त हुन्छन् नै, समय क्रममा समाज तथा राज्य प्रणालीभित्र आफ्नै औचित्य र सान्दर्भिकता स्थापित गर्न पनि चुनौती सामना गर्छन्। 

दोस्रो कदममा खोप, उचित-पोषणजस्ता अत्यन्तै उपयोगी जन-स्वास्थ्य सेवाहरू कसरी सर्वव्यापी बनाउन सकिन्छ भन्ने विषयमा स्वास्थ्य प्रणालीहरू केन्द्रित रहनुपर्छ। तेस्रो कदममा अधिकतम मान्छेहरूलाई आवश्यक पर्ने उपचारात्मक स्वास्थ्य सेवाहरू प्रदान गर्न सक्ने समुदाय केन्द्रित स्वास्थ्य संस्थाहरू निर्माण गर्ने तथा तिनीहरूमा सबैको पहुँच सर्वव्यापी बनाउने विषयमा केन्द्रित रहनुपर्छ। चौथो कदममा मात्रै आवश्यकता हेरेर तथा आर्थिक स्रोतको सीमिततालाई मध्यनजर गर्दै विभिन्न तहका अस्पतालहरू बाट प्रदान गरिने स्वास्थ्य सेवाहरूको उपलब्धता बढाउनेमा हाम्रो प्रयास केन्द्रित हुनुपर्छ। 

नवीनतम वैज्ञानिक ज्ञान तथा प्रविधिले माथि निर्दिष्ट गरिएका सबै प्राथमिकताहरू मितव्ययी ढंगले हासिल गर्न सहयोग गर्न सक्ने हुनाले एउटा समुन्नत स्वास्थ्य प्रणालीले उचित तथा उपयोगी विज्ञान-प्रविधिको प्रयोगलाई सधैँ प्राथमिकतामा राख्नुपर्छ। स्वास्थ्य क्षेत्रमा गरिने खर्च पनि यिनै प्राथमिकताका आधारमा मात्रै लक्ष्य निर्देशित ढंगले मितव्ययताका साथ गरिनुपर्छ। 

सामाजिक न्यायको सिद्धान्तले अभिप्रेरित एउटा समतामूलक र समुन्नत स्वास्थ्य प्रणालीमार्फत स्वस्थ नागरिक तथा समाजको हाम्रो परिकल्पना, अभिलाषा र लक्ष्य सही हो। तर लक्ष्य सही पहिचान गरेर पनि  मार्ग सही पहिचान गर्न सकेनौँ भने सही गन्तव्यमा पुग्न हामी असफल हुनेछौँ। माथि छलफल गरिएको मार्गदर्शन अनुसार अगाडि बढ्ने हो भने एउटा सबल, समुन्नत तथा माटो-सुहाउँदो स्वास्थ्य प्रणाली निर्माण गर्ने हाम्रो प्रयत्न सफल हुने सम्भावना उल्लेख्य रूपले बढ्नेछ।  

(लेखक फिजिसियन तथा स्वास्थ्यसेवाविद्  हुन्। उनको पुस्तक अप इज द कर्भ–अ जिनियलजी अफ हेल्थकेयर इन द डिभलपिङ वर्ल्ड प्रकाशित छ।)