युरोपलाई ऊर्जा संकटबाट बच्न साझेदारीको विकल्प नभएको क्रेमलिनको दाबी

मध्यपूर्वको तनावका कारण उत्पन्न विश्वव्यापी ऊर्जा संकटबाट बच्न युरोपका लागि रूसी तेल र ग्यासको आपूर्ति अनिवार्य रहेको रूसी प्रशासनिक केन्द्र क्रेमलिनले दाबी गरेको छ।

ऊर्जा संकटबाट युरोप बच्नका लागि युरोपमा रूसी तेल आपूर्ति अनिवार्य रहेको रूसी प्रशासनिक केन्द्र क्रेमलिनले दाबी गरेको छ।

क्रेमलिनका अर्थविद् किरिल दिमित्रिभले बिहीबार एएफपीसँग भने, “मध्यपूर्वमा युद्धका कारण उत्पन्न ऊर्जा संकटको प्रभाव युरोपमा पनि परेको छ र यसको समाधानका लागि युरोपमा रूसी तेल र ग्यासको प्रवाह हुनुपर्छ।”

युक्रेनमा युद्ध शुरू भएदेखि नै पश्चिमी राष्ट्रहरू (युरोपेली मुलुकहरू) ले रूसी ऊर्जाको विकल्पमा इन्धनको व्यवस्थापन गर्ने बाटो अवलम्बन गर्दै रूसमाथि आर्थिक प्रतिबन्धको घोषणा गरेका थिए। यद्यपि, युरोपेली देशहरूले प्रतिबन्धको घोषणाबीच पनि रूसी ग्यास (विशेष गरी खाना पकाउने ग्यास) खरिदलाई भने अघोषित रूपमा निरन्तरता दिँदै आएका छन्।

अन्तर्राष्ट्रिय विश्लेषकहरूका अनुसार युरोपेली संघ (इयू) ले सन् २०२२ पछिको कुनै पनि अवधिको तुलनामा सन् २०२६ को पहिलो त्रैमासिकमा बढी रूसी तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) आयात गरेको पाइएको छ। युरोपेली समूहका लागि रूस दोस्रो ठूलो आपूर्तिकर्ता बनेको छ।

इरानविरुद्ध अमेरिका–इजरायल युद्ध र तेहरानको 'स्ट्रेट अफ हर्मुज' बन्दका कारण बढेको मूल्यले संयुक्त राज्य अमेरिका र बेलायत लगायतका केही देशहरूलाई रूसी तेलमाथिका केही प्रतिबन्धहरू खुकुलो पार्न प्रेरित गरेको छ।

आर्थिक दूत दिमित्रिभले सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्च (एसपिआईइएफ) को एक समारोहका क्रममा भने, “मध्यपूर्वको अस्थिरताका कारण विश्व गम्भीर ऊर्जा संकटको संघारमा छ। युरोपले यो संकटबाट पार पाउनका लागि रूससँगको साझेदारीको विकल्प रोज्नुपर्छ र रूसबाट तेल र ग्यास दुवैको प्रवाह पुनर्स्थापित गर्न आवश्यक छ।”

अर्कोतर्फ, युरोपले विशेष गरी युक्रेनमा रूसी आक्रमणको विरोधमा अर्को वर्षदेखि रूसी ग्यासको आयातमा पूर्ण प्रतिबन्ध लगाउने योजना बनाएको छ र विद्यमान प्रतिबन्धहरू खुकुलो पार्ने कुरालाई अस्वीकार गरेको छ।

युरोपेली संघकी शीर्ष कूटनीतिज्ञ काजा कल्लासले मस्कोमाथि थप दबाब दिन आग्रह गरेकी छन्। उनले बुधबार ब्रसेल्समा भनिन्, “हामीले युद्ध अन्त्यका लागि अहिलेसम्म वास्तवमै वार्ता गर्न रूसी पक्ष इच्छुक रहेको देखेका छैनौँ।”

यद्यपि, रूसले यस संकटबीचमा प्रतिबन्धहरू खुकुलो पार्ने वा बेवास्ता गर्ने अवसर महसुस गरेको छ। मध्यपूर्वमा युद्धको शुरूवातमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यदि युरोपेली देशहरूले मस्कोसँग ‘स्थायी र स्थिर सहयोग’ गर्ने प्रतिबद्धता व्यक्त गरे भने आफू तेल र ग्यास आपूर्ति गर्न तयार रहेको बताएका थिए। रूसले सन् २०२२ देखि चीन र भारतमा आफ्नो ऊर्जा बिक्री बढाएको छ भने उसले प्रायः विश्वव्यापी रूपमा इन्धनलाई छुटमा बिक्री गर्ने गर्दछ।