निलम्बन

कसले सुराकी गर्‍यो कुन्नि? प्रहरीले मेरो कोठा छापा मार्‍यो। म गिरफ्तार भएँ। मलाई शिक्षण पेसाबाट निलम्बन गरियो। भोजपुर कारागारमा थुनिएँ। म थुनिए पनि आस्था भने झनै जाग्दै थियो।

म कलेज नगएको एक हप्ता भइसकेको थियो। विद्यालयहरूमा अनेरास्ववियुको पुनर्गठन गर्नु थियो। मिल्स मावि विराटनगरबाट पुनर्गठन आरम्भ गरी शारदा मावि उर्लाबारीमा समापन गर्नु थियो। म, गुणराज र कोमलले पुनर्गठनको जिम्मेवारी पाएका थियौ। संयोजकको भूमिकामा मलाई प्रस्ताव गरिएको थियो।

हामी महेन्द्र मोरङ कलेजका प्रमाण–पत्र तहको दोस्रो वर्षका विद्यार्थी थियौँ। हामी पढाइसँगै विद्यार्थी राजनीति गरिरहेका थियौँ। कलेजको स्ववियु निर्वाचनमा अनेरास्ववियुले जित हात पारेको थियो। हामी प्रारम्भिक कमिटीमा संगठित थियौ। म भोजपुर, गुणराज  संखुवासभा र कोमल ओखलढुङ्गाबाट आएका थियौँ। हाम्रो औपचारिक चिनजान एक वर्ष अगाडि प्रारम्भिक कमिटी पुनर्गठन गर्दाताक भएको थियो। म र गुणराज मिनी होस्टेल र कोमल होस्टेलमा बस्ने गर्थ्यौं। हामी तीन जनाको उद्देश्य समान भएपछि हाम्रो आत्मीयता झनै बढेको थियो।

खाना खर्च कटाएर हामी राता किताब किन्थ्यौँ। राता किताबले हाम्रो जीवन पद्धतिलाई निर्देशन गर्थे। मार्क्सवादी दर्शन र साहित्यले हामीलाई हाम्रो कार्यभारको दिशा निर्देश गरिरहेका हुन्थे। सिद्धान्त र व्यवहार बिचको तालमेल मिलाइ हामीलाई स्पातिलो बनाउन सहयोग गर्थे। दास क्यापटिल अध्ययन नगरी असली मार्क्सवादी कार्यकर्ता बन्न सकिँदैनथ्यो। वर्ग संघर्ष नै सर्वहाराको मुक्तिको बाटो थियो।

वर्गीय संघर्ष गरी वर्गीय मुक्ति प्राप्त गर्ने कुरा सहज थिएन। देशी विदेशी प्रतिक्रियावादीहरू र साम्राज्यवादीहरू मार्क्सवादी दर्शनलाई धराशायी बनाउन चाहन्थे। विश्वभर पुँजीवादी राज्य व्यवस्था स्थापना गरी गरिब निमुखामाथि शासन गर्ने दाउ हेरिरहेका हुन्थे। सामन्तवाद र विस्तारवादको खतरा पनि उस्तै हुन्थ्यो। सामन्तवादी नायकको रूपमा राजसंस्था जीवितै थियो। पञ्चहरू सत्ताका मालिक थिए। जमिनदारी प्रथा कायमै थियो। मुखियाहरू रैतीलाई कज्याइरहेका थिए। सुदखोरीहरूको रजाइँ थियो। 

राज्य  व्यवस्था हाम्रो अनुकूल थिएन। कतिपय काम भूमिगत शैलीमा गर्नुपर्थ्यो। हाम्रो क्रियाकलाप शासन विरोधी हुने भएकाले हामीलाई प्रहरी प्रशासनले गिरफ्तार गर्न सक्थ्यो। हामी विद्यार्थी भएको कारण खुला राजनीति गरिरहेका थियौं। दर्ता भएको वैधानिक संस्था थियो विद्यार्थी सङ्गठन। पार्टीका नेता कार्यकर्ता भूमिगत  थिए। पार्टी नेता र कार्यकर्ता तथा जनता बीचको अन्तरसम्बन्ध विस्तारमा अनेरास्ववियु पुलको रूपमा उभिएको थियो।

म मोरङ इन्चार्जको सम्पर्कमा थिएँ। भूमिगत रूपमा हाम्रो भेटघाट भइसकेको थियो। मोरङमा किसान र मजदुर आन्दोलन कसरी उठाउने भनी हामी गम्भीर बहस गर्थ्यौं। नेता कार्यकर्ताको सेल्टर व्यवस्थापन र सुरक्षाबारे रणनीति  बनाउँथ्यौं। रणनीति बमोजिम हामी जनसङ्गठन निर्माणमा जुटेका थियौँ। कार्य प्रगति सकारात्मक तथा उत्साहजनक रूपमा अगाडि बढेको थियो। जनता हाम्रा नीति र सिद्धान्त जान्न उत्सुक थिए।

कलेजमा परीक्षा नजिकिँदै थियो। १५ दिने पुनर्गठन अभियान सम्पन्न गरी हामी फर्किसकेका थियौँ। छुटेका क्लास र विषय साथीहरूसँग समन्वय गरी नोट टिपोट गर्‍यौं। स्पष्ट नभएका कुरा समय मिलाएर विषय शिक्षकबाट प्रस्ट्याइ माग्यौं। खास गरी गणितका केही समस्यामा हामी अल्झेका थियौँ। 

परीक्षा आवेदन खुल्यो। हामीले आवेदन फाराम भर्‍यौं। दुई महिनापछि परीक्षा हुने गरी परीक्षा सञ्चालनको कार्यतालिका प्रकाशन भएको थियो। हामी परीक्षा तयारीमा लाग्यौं। 

मोरङ इन्चार्जले भेट्ने सूचना पढाउनु भएको थियो। म पढाइलाई थाती राखी भेट गर्न गएँ। उहाँले अनेरास्ववियुको जिल्ला कमिटी पुनर्गठन गर्ने कार्य तालिका दिनुभयो। परीक्षा तयारीकै बीच हामीले दुई दिन लगाएर जिल्ला कमिटी पुनर्गठन गर्‍यौं। अञ्चल पुनर्गठनको तालिका परीक्षापश्चात् निर्धारण गर्ने टुङ्गो गर्‍यौं। धनकुटा इन्चार्जको समन्वयमा अञ्चल पुनर्गठन हुने गरी सामान्य खाका तयार गर्‍यौं। 

परीक्षा सिद्धियो। नतिजा आउन तीन महिना कुर्नुपर्थ्यो। स्नातक तह अध्ययन गर्ने अवसर सुनिश्चित थिएन। पारिवारिक आर्थिक अवस्था सन्तोषजनक थिएन। लोकसेवा दिनु पर्ने, शिक्षण गर्नु पर्ने या भूमिगत हुनुपर्ने। यी तीन विकल्प थिए मसित। मैले शिक्षण गर्दै अध्ययन अगाडि बढाउने निर्णय पार्टीमा राखें। पार्टीले मलाई शिक्षण गर्ने अनुमति दियो।

शिक्षकहरूको पेसागत सुनुवाइका लागि शिक्षकहरूबीच नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मार्क्सवादी थियो। म त्यही सङ्गठनको सदस्य बनें। मलाई इलाका सदस्यको जिम्मेवारी दिइयो। मैले अर्थ लाभ गरेबापत नियमित पार्टीलाई लेबी बुझाउनु पर्थ्यो। 

म अर्धभूमिगत शैलीमा पार्टीसँग सम्पर्कमा जोडिएँ। पार्टीले मलाई भोजपुर सह इन्चार्जको जिम्मा दिएको थियो। मैले भोजपुर इन्चार्जलाई भेटें। भोजपुरमा इलाका समितिहरू बनेका रहेछन्। जिल्ला सचिवालय गठन भएको रहेछ। गाउँ स्तरमा गाउँ पार्टी गठन भएका रहेछन्। मुभमेन्ट नै भइरहेको रहेछ पार्टी। समसामयिक राजनीति, शिक्षकको भूमिका र पार्टी प्रतिको उत्तरदायित्व लामै  कुराकानी गरेर म फर्किएँ। 

परीक्षा नतिजा प्रकाशित भयो। हामी द्वितीय श्रेणीमा उत्तीर्ण भयौं। गुणराज र कोमलले स्नातक अध्ययन गर्ने भए। म  नतिजा आउनुपूर्व नै शिक्षणमा प्रवेश गरिसकेको थिएँ। मैले शिक्षण र पढाइ सँगसँगै लैजानु थियो। 

मैले कलेजमा भर्ना गरी आवश्यक पाठ्यपुस्तकको व्यवस्थापन गरी कार्यक्षेत्र फर्किएँ। मैले शिक्षण थालेकोमा आमाले चित्त बुझाइरहनु भएको थिएन। आमाको चाहना लोकसेवा दिएर म निजामती कर्मचारी भएको हेर्ने थियो। मैले लोकसेवापटि ध्यानै दिइनँ। मलाई शिक्षण क्षेत्र राम्रो लाग्यो। 

तीन वर्षपछि निमावि स्थायी शिक्षक भएँ। आमाको खिन्नता हटेर गयो। परिवारमा खुसीयाली छायो। हजुरआमाले आशीर्वाद दिनु भयो। राम्रो गरेस्, हेड सर भएस् भन्नु भयो। मैले आशीर्वाद शिरोधार्य गरें। सोह्र वर्षपछि म माविको प्रधानाध्यापक (हेड सर) भएँ। हजुरआमाको  आशीर्वादले पूर्णता प्राप्त गरेको थियो। तर म हेड सर भएको हजुरआमाले देख्न पाउनु भएन। त्यसपूर्व नै हजुरआमाको मृत्यु भइसकेको थियो। 

यता, गुणराज र कोमलसँग सम्पर्क गर्ने मसँग कुनै माध्यम थिएन। कहिलेकहीँ हुलाकबाट चिठ्ठी पत्र आदानप्रदान हुन्थ्यो। चिठ्ठीमा कति कुरा लेखेर साध्य हुन्थ्यो र?  चिठी लेख्न र पठाउन पनि झन्झटिलो हुन्थ्यो। सन्चो, बिसन्चो, पढाई र राजनीतिबारे चिठीमा सोधखोज गरिन्थ्यो। गुणराज कलेजमा प्रारम्भिक कमिटीको सचिव भएछ। कोमल स्ववियु उपसभापति भएछ। उनीहरू विद्यार्थी राजनीति अगाडि बढाइरहेका थिए। उनीहरूकै पहलमा अञ्चल कमिटी पुनर्गठन भएछ। 

म आबद्ध शिक्षक सङ्गठनमा मेरा गुरुहरू र म एकै साथ यात्रा गरिरहेका थियौँ। सङ्गठन निर्माण गर्ने योद्धाहरूसँगै काम गर्ने अवसर प्राप्त गरेको थिएँ। मलाई उहाँहरूले मार्ग निर्देशित गर्नुहुन्थ्यो। मैले साङ्गठानिक गतिविधि सहज रूपमा सञ्चालन गरिरहेको थिएँ। म केन्द्रीय प्रतिनिधि थिएँ। 

कवि, कलाकारहरू राष्ट्रिय जनसाँस्कृतिक मञ्चमा एकाकार भएर आफ्नो प्रतिभा पार्टीका मञ्चहरूमा प्रस्फुटन गर्थे। जनवादी गीत र साहित्यबारे अन्तरक्रिया  हुन्थ्यो। जनचेतना जगाउन जनवादी गीत र साहित्य उपयोगी हुन्थे। 'गाउँ गाउँबाट उठ', 'आमा दिदी बहिनी हो', 'संघर्ष हो जीवन' र 'एक जुगमा एक दिन एक चोटि आउँछ'जस्ता  गीतहरूले जनतालाई जुरुक्कै उठाउँथ्यो। म राष्ट्रिय जनसाँस्कृतिक मञ्चको सदस्य पनि थिएँ। मेरो रुचि प्रगतिशील साहित्य लेखन थियो। 

स्नातक प्रथम वर्षको परीक्षामा म सहभागी भएँ। खासै राम्रो तयारी थिएन। शिक्षण, साङ्गठानिक काम र पार्टी कामको जिम्मेवारीले व्यस्त रहन्थे। अध्ययन गर्ने समय ज्यादै कम हुन्थ्यो। क्लास लिइएको थिएन। स्वअध्ययन थियो। नबुझिएका पाठमाथि छलफल गर्ने साथीहरू थिएनन्। मलाई अर्थशास्त्र अप्ठेरो लागिरहेको थियो। अर्थशास्त्रको गणितले मेरो दिमाग खान्थ्यो। म गणित र अंग्रेजीको कमजोर विद्यार्थी थिएँ। 

तीन महिनापछि नतिजा आयो। म तृतीय श्रेणीमा उत्तीर्ण  भएछु। गुणराज र कोमलले नियमित क्लास लिएको कारण गुणराजले द्वितीय श्रेणी र कोमलले प्रथम श्रेणीको नतिजा हात पार्न सके। केही दिन मलाई आत्मलगानी भयो। मेरो अध्ययन नै कम थियो। राम्रो नतिजा कसरी प्राप्त गर्न सक्थें र? चित्त बुझाउनुको विकल्प थिएन।

अञ्चल कमिटी पुनः पुनर्गठन भयो। गुणराज सदस्य र कोमल उपाध्यक्षमा निर्वाचित  भए। उनीहरूको राजनैतिक हैसियत  बढिरहेको थियो। उनीहरू अनेरास्ववियुका बलिया नेताका रूपमा उभिएका थिए। गुणराजको कार्यक्षेत्र सुनसरी र कोमलको कार्यक्षेत्र मोरङ तोकिएको थियो। उनीहरूले पार्टीसँग समन्वय गरी पार्टी गतिविधिलाई उचाइमा पुर्‍याउनु थियो। उनीहरू जिल्ला इन्चार्जसँग सम्पर्कमा थिए। जिल्ला कमिटीहरू चलायमान  भइरहेका थिए।

कलेजमा मर्निङ क्लास  सकाएर खानापछि उनीहरू आफ्ना जिम्मेवारी पूरा गर्न हिँड्थे। रातिको समय अध्ययनलाई छुट्याएका थिए। हामी तीन जनाको कार्यस्थल फरक भए पनि उद्देश्य एउटै थियो–न्याय, मुक्ति र समानता। म शिक्षण क्षेत्रमा गतिविधि बढाइ रहेको थिएँ। गुणराज र कोमल विद्यार्थी राजनीतिमा सक्रिय थिएँ। उनीहरू खुल्ला राजनीति गर्न सक्थे। म भने बन्धनमा थिएँ। मैले होसियारीपूर्वक राजनीति गर्नुपर्थ्यो। शिक्षणमा अब्बल ठहरिँदै गुणस्तरीय शिक्षा प्रदान गर्नु मेरो नैतिक जिम्मेवारी थियो। पार्टटाइम मात्रै म पार्टीलाई उपलब्ध गराउन सक्थेँ।

पार्टीले मलाई शिक्षण छाडेर पूर्णकालीन हुन प्रस्ताव गरिरहेको थियो। अस्वीकार गरिरहेको थिएँ। सबै क्षेत्रमा पार्टीको गतिविधि बढाउन पार्टी सदस्यहरूको घुसपैठ अनिवार्य थियो। म शिक्षण क्षेत्रबाट काम गरिरहेकै थिएँ। मैले शिक्षण छोडी हाल्नु पर्ने अवस्था थिएन। दर्जनौँ कार्यकर्ता उत्पादन भइसकेका थिए। जीवन बलिदान गर्न शपथ खाएका हामीहरू पार्टी हित विपरीत जाने कुरै भएन।

म पार्टीलाई कन्भिन्स गराउन खोजिरहेको थिएँ, "बौद्धिक क्षेत्रमा हाम्रो  उपस्थिति अनिवार्य छ। मलाई बौद्धिक क्षेत्रमा काम गर्न छोडियोस्। म पार्टी हित विपरीत जाने छैन। बौद्धिक वर्ग जाग्यो भने हाम्रो क्रान्तिले पूर्णता पाउने छ।" 

पार्टीले मेरो कुरा सुन्यो। मलाई शिक्षण क्षेत्रमै काम गर्ने गरी बौद्धिक फाँटको सहइन्चार्जको जिम्मेवारी दिइयो। म लगभग विद्यार्थी राजनीतिबाट अलग भइसकेको थिएँ। स्नातक तहमा भर्ना भए पनि नियमित कलेज गइरहेको थिइनँ। मोरङ र भोजपुर दूरी टाढै थियो। यातायात थिएन। हिलेदेखि दुई दिनको पैदल यात्रा तय गर्नुपर्थ्यो। सञ्चार सुविधा थिएन। विराटनगरमा घटेको घटना थाहा पाउन महिना कुर्नुपर्थ्यो। पत्रपत्रिकाको पहुँच थिएन। रेडियो नेपाल, अलइन्डिया, बेइजिङ रेडियो र बीबीसी रेडियो सञ्चारका साधन थिए। रेडियो सुन्न पनि एक ठाउँ जम्मा हुनु पर्थ्यो। सबैको घरमा रेडियो उपलब्ध थिएन।

मसँग समेत रेडियो र घडी थिएन। मेरो तलब मासिक १,११४ थियो। एक महिनाको तलबले न घडी आउँथ्यो, न त रेडियो नै। हाम्रो तलबभत्ता चौमासिक भुक्तानी हुन्थ्यो। पार्टीलाई लेबी बुझाइ बाँकी रहेको रकमले घडी र रेडियो किन्ने योजना बनाएँ। १,७०० मा पानासोनिक रेडियो र १,४०० मा 'सीको फाइभ' घडी किनेँ। बचत रकम घर खर्चमा लगाएँ। मन मिल्ने गाउँले साथीभाइ बेलुकी रेडियो सुन्न मकहाँ आउन थाले। मैले बिस्तारै राजनीति पढाउन थालेँ। कथा, कविता सुनाउन थालेँ। गोर्कीको आमा उपन्यास १५ दिन लगाएर गाउँलेलाई सुनाएँ। मोदनाथ प्रश्रितको देवासुर सङ्ग्राम ७ दिन लाएर सुनाएँ। सञ्जय थापाको मुक्त आकाशको खोजी ३ दिन लगाएर सुनाएँ।

कम्युनिस्ट पार्टीको घोषणापत्र २ दिन लगाएर सुनाइ दिएँ। गाउँलेहरू मप्रति आकर्षित भए। बेलुकी एक दलान गाउँलेहरू भेला हुन थाले। बिजुली थिएन। लाल्टिन बालेर उज्यालो व्यवस्था गरेँ। तीन महिनापछि म किसान सङ्गठन गठन गर्न सफल भएँ। ६ महिनामा युवा सङ्गठन र ११ महिनामा अनेमसंघ निर्माण गरी प्रतिवेदन पार्टीमा बुझाएँ। पार्टीले मेरो उच्च मूल्याङ्कन गर्दै वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत गर्‍यो। म पार्टीमा अभय कमरेडका नामले चिनिन्थेँ। कतिपय साथीहरू 'अभय सर' पनि भन्ने गर्थे। अभय  मेरो भूमिगत नाम थियो। मैले गठित कमिटीहरूलाई मेरो भूमिगत नाम नै दिएको थिएँ। सरकारी सुरक्षा रणनीति असफल बनाउन भूमिगत नाम राखिएका हुन्थे।

पार्टीले मलाई संखुवासभा शिक्षक सङ्गठन पुनर्गठन गर्ने जिम्मेवारी दिएको थियो। प्रत्येक शनिवार खाँदबारी गएर शिक्षक साथीहरूसँग सङ्गठन पुनर्गठनबारे छलफल चलाउँथे। संखुवासभाको क्षेत्रै ठुलो थियो। किमाथाङ्कादेखि खाँदबारी आउन सात दिन हिँड्नुपर्थ्यो। भौगोलिक विकटताका कारण परिणाम सोचेजस्तो भइरहेको थिएन। तथापि, ६ महिनाको अथक प्रयासपछि शिक्षक सङ्गठन पुनर्गठन गर्ने जिम्मेवारी पूरा गरेको थिएँ। 

मैले घर व्यवहारमा ध्यान दिन सकिरहेको थिइनँ। भाइ बहिनीहरू पढ्दै थिए। भाइबहिनीको शुल्क र घर खर्चका लागि केही रकम आमालाई उपलब्ध गराउँथे। म पार्टी कार्यमा संलग्न रहेको कुरा घर परिवारलाई थाहा दिएकै थिइनँ, किनकि म स्वभावैले अन्तरमुखी थिएँ। कम बोल्ने गर्थे। मैले सुरक्षाको दृष्टिकोणलाई मध्यनजर राख्दै मेरो कार्य गोप्य राखेको थिएँ। यद्यपि, आमा साक्षर हुनुहुन्थ्यो। नारीवादी आन्दोलनको पक्षमा बोल्नु हुन्थ्यो। 

“तँ पार्टीमा लागेको छस् अरे। होस गरेर काम गर्नु। पक्डाऊ पर्लास् नि!” आमाले एक दिन मलाई सचेत गराउनु भयो। म पार्टीमा लागेको कुरा आमाले कसरी थाहा पाउनुभयो? म आश्चर्यमा परें र भनें “त्यस्तो केही चिन्ता लिनु  पर्दैन आमा। देश र जनताको मुक्ति खातिर हामी देशव्यापी परिचालित छौ। हामी सुरक्षित र भूमिगत शैलीमा आफ्ना गतिविधि सञ्चालन गरिरहेका छौ। दुस्मन हाम्रो पिछा गरिरहेको छ। हामी दुस्मनलाई छक्क्याइ रहेका छौं।”

कसले सुराकी गर्‍यो कुन्नि? प्रहरीले मेरो कोठा छापा मार्‍यो। म गिरफ्तार भएँ। मलाई शिक्षण पेसाबाट निलम्बन गरियो। म अहिले भोजपुर कारागारमा थुनिएँ। म थुनिए पनि मेरो आस्था भने झनै जाग्दै थियो।

(उकालोमा छापिएका सामग्री लेखकका निजी हुन्।)