१० लाख डलर लगानी जित्ने प्रतिस्पर्धामा संगम चापागाई

सिलिकन भ्यालीको ‘मिट द ड्रेपर्स’ रियालिटी शोमा १० लाख डलर लगानी जित्न नेपाली इन्जिनियर संगम चापागाईको रोबोटिक कम्पनी ‘सेफोर्ज’ अहिले विश्वभरका उद्यमीसँग भोटिङ प्रतिस्पर्धामा छ।

काठमाडौँ— अमेरिकाको सिलिकन भ्यालीमा सञ्चालित रियालिटी टिभी शो ‘मिट द ड्रेपर्स’ मा एक नेपाली युवाले प्रतिस्पर्धा गरिरहेका छन्। विश्वभरका नवउद्यमीहरू सहभागी हुने उक्त कार्यक्रममा संगम चापागाईको कम्पनी ‘सेफोर्ज’ छनोट भएको हो।

चापागाईले निर्माण गरेको खाना पकाउने स्वचालित रोबोटको व्यावसायिक योजना उनले शो कार्यक्रममा प्रस्तुत गरिरहेका छन्। ‘मिट द ड्रेपर्स’ अमेरिकी उद्यमी ड्रेपर समूहद्वारा सञ्चालित कार्यक्रम हो। यस समूहले विश्वभरका नवउद्यमीहरूबीच प्रतिस्पर्धा गराई उत्कृष्ट कम्पनीलाई लगानी उपलब्ध गराउँछ। यो शोको विजेताले १० लाख अमेरिकी डलर लगानी प्राप्त गर्ने प्रावधान छ।

null

चापागाई हाल यस कार्यक्रमको भोटिङ राउन्डमा पुगेका छन्। बढी भोट पाउने कम्पनीले नै लगानी प्राप्त गर्ने भएकाले उनले भोटिङका लागि आग्रह गरेका छन्।

भोटिङका लागि अब केही दिन मात्र बाँकी रहेको र ‘मिट द ड्रेपर्स’को वेबसाइटमा गएर आफ्नो कम्पनी ‘सेफोर्ज’लाई भोट गर्न सकिने उनले जानकारी दिए। यस कार्यक्रमको प्रतिस्पर्धाका लागि छनोट हुने आफू पहिलो नेपाली भएको पनि उनले बताए।

पर्वतको कुश्मामा जन्मिएका चापागाईले अमेरिकाबाट मेकानिकल इन्जिनियरिङअन्तर्गत रोबोटिक्समा स्नातकोत्तर अध्ययन पूरा गरेका हुन्।