सडकको अवस्था जोखिमयुक्त र नाजुक बनेको भन्दै स्थानीयले मनाङको लाइफलाइन मानिने बेसीसहर–चामे सडकखण्डमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाएका छन्।
मनाङ– हिमाली जिल्ला मनाङको मेरुदण्ड (लाइफलाइन) का रूपमा रहेको चामे–बेसीसहर सडकमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। ठूला सवारीसाधन चलाउँदा सडकको अवस्था नाजुक र जोखिमयुक्त बनेको भन्दै स्थानीयवासीले सञ्चालनमा रोक लगाएका हुन्।
मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चेका सोमबहादुर तामाङ भन्छन्, "स्थानीयवासीको दैनिकीमा नै असर पर्ने गरी सडक जोखिमयुक्त बनेपछि बाध्य भएर ठूला सवारीसाधन सञ्चालनमा रोक लगाएका हौँ। पटक-पटक ध्यानाकर्षण गरायौँ तर सुनुवाइ नभएपछि यसरी सबै मिलेर सडक सञ्चालन रोकेका हौँ।" अन्नपूर्ण संरक्षण क्षेत्रमा विश्वका पर्यटक आउने मार्गमा नै स्थानीयवासीले हिँड्न र दैनिकी चलाउन नसक्ने भएपछि यस्तो कदम चालिएको उनले बताए।
सूर्यकुमारी गुरुङ ठूला सवारीसाधन चलाउँदा घाँस-दाउरा गर्न जानसमेत मुस्किल भएको बताउँछिन्। उनी भन्छिन्, "हामी घाँस-दाउरा गरेर गुजारा गर्ने त यो हिलाम्मे बाटोमा हिँड्न सकेका छैनौँ। यसको समाधान कसले गर्ने हो खै? यसको समाधान हुनुपर्यो। यही मागका साथ आज सडकमा ठूला सवारीसाधन चलाउन बन्द गराएका हौँ।" स्थानीय बालबालिका विद्यालय जाँदा हिलाम्मे सडकमा हिँड्न नसकेर जोखिम बढेको गुरुङ बताउँछिन्।
"बालबालिकालाई विद्यालय पठाउँदा डराउनुपर्ने अवस्थामा छौँ। कतै हिलोमा सवारीसाधन चलाउँदा चिप्लिएर बालबालिका नै दुर्घटनामा पर्छन् कि हिलो छ्यापिएर विद्यालय जान छाडेर फर्किन्छन् कि भन्ने चिन्ता बढेको छ," गुरुङ भन्छिन्, "ठूला सवारीसाधन चलाउँदा कतै सडक नै भाँसिएर आवतजावत नै रोकिन्छ कि भन्ने अवस्था छ।"
पर्यटकीय क्षेत्रको पहिचान बनाएको मनाङको यो सडक जोखिमयुक्त मानिन्छ। त्यसमाथि विश्वकै जोखिमयुक्त मानिएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को भ्रमणमा आउने पर्यटक र स्थानीयका लागि यो मुख्य सडक हो। वर्षायाममा ठूला सवारी चलाउँदा हुनसक्ने जोखिमलाई मध्यनजर गरी ठूला सवारीसाधन नचलाउन आग्रह गरिएको प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङले बताए।
"वर्षायाममा सवारीसाधन चलाउँदा सडक भाँसिन सक्छ। यसले निम्त्याउने समस्यालाई पनि ध्यान दिनुपर्छ। लामो समयसम्म पुनर्निर्माण गर्न सकिने अवस्था छैन," सांसद गुरुङले भने, "सडक भाँसिएमा यस याममा पर्यटकका लागि आवश्यक सामग्री ढुवानी तथा स्थानीयवासीको आवतजावतमा समस्या हुने भएकाले वर्षायाममा हेभी सवारीसाधन नचलाउन प्रशासनलाई आग्रह गरेका छौँ। यसमा प्रशासनले ध्यान दिनुपर्छ।"
दैनिकजसो वर्षा भइरहेकाले यस सडकमा ठूला सवारीसाधन चलाउँदा खाल्डो पर्नुका साथै सडक भाँसिन सक्ने सम्भावना बढी छ। यस सडकमा हेभी सवारीसाधन चलाउँदा वर्षायाममा ध्यान पुर्याउन नसकिएमा मनाङको अन्य क्षेत्रसँग सम्बन्ध टुट्न सक्ने भएकाले वर्षायाममा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रतिनिधिसभा सदस्य धर्मराज केसीले बताए।
अन्य समयमा पनि जोखिमयुक्त यो चामे–बेसीसहर सडक वर्षायाममा अझ संवेदनशील हुन्छ। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले वर्षायाममा पहाडी क्षेत्र जोखिमयुक्त हुनुका साथै सडक भाँसिने र बाढी-पहिरोले अवरुद्ध हुने भएकाले पहिले नै फोनमार्फत सवारीसाधन नचलाउन आग्रह गरिएको बताए। उनले भने, "यदि सवारी चापकै कारण सडक भाँसिएमा यो सडक खुलाउन सहज छैन। तर अटेर गर्दा स्थानीयवासी रोक्न अगाडि सरेका हुन्। समन्वय गरिरहेका छौँ, स्थानीयवासीको गुनासो सुनुवाइ हुन्छ।"
वर्षायाममा छ चक्केभन्दा माथिका सवारीसाधन चलाउँदा सडक भाँसिने जोखिम हुने भएकाले नचलाउन आग्रह गरिएको थियो। प्रशासनले सडक भाँसिन सक्ने भएकाले वर्षायाममा यहाँ निर्माणाधीन हाइड्रोपावरका ठूला सवारीसाधन नचलाउन अनुरोध गरेको थियो। जोखिमलाई मध्यनजर गरी लमजुङ प्रशासन र डुम्रे–बेसीसहर–चामे सडक आयोजनामार्फत समन्वय गरेर गाडी नचलाउन आग्रह गरिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
