पिसा २०२५ ले हामीलाई सिकाएको ठूलो पाठ सिकाइमा भएको विश्वव्यापी गिरावट र त्यसपछाडिको कारण हो। यही पाठबाटै हामी हाम्रो अबको शैक्षिक बाटो तय गर्न सक्छौँ।
हरेक केही वर्षमा पिसामा सहभागी देश तथा शिक्षा प्रणालीका सरकार, सरोकारवाला, शिक्षामन्त्री, विद्यालयका शिक्षक, अभिभावक र शिक्षाविद्हरू एउटै प्रश्नको उत्तरका निमित्त प्रतिक्षारत हुन्छन् —बालबालिकाले वास्तवमा कति सिकिरहेका छन्? यो प्रश्नको विश्वव्यापी उत्तर खोज्ने सबैभन्दा चर्चित प्रयासमध्ये एक हो—पिसा अन्तर्राष्ट्रिय परीक्षा। आर्थिक सहयोग तथा विकास संगठन (ओइसीडी) ले सञ्चालन गर्ने पिसा अर्थात् अन्तर्राष्ट्रिय विद्यार्थी मूल्याङ्कन कार्यक्रमले १५ वर्ष उमेरका विद्यार्थीको पढाइ, गणित र विज्ञानसम्बन्धी क्षमतालाई जाँच गर्छ।
यसको उद्देश्य विद्यार्थीले पाठ्यपुस्तकमा सिकेको कुरा कण्ठ पारेको छ कि छैन भन्ने होइन। उसले पढेको कुरा बुझ्न सक्छ कि सक्दैन, गणितीय तर्क गर्न सक्छ कि सक्दैन, प्रमाणका आधारमा सोच्न सक्छ कि सक्दैन र नयाँ परिस्थितिमा आफ्नो ज्ञान प्रयोग गर्न सक्छ कि सक्दैन भन्ने हो।
सन् २०२५ को पिसामा ९१ देश तथा अर्थतन्त्रका सात लाख ६० हजारभन्दा बढी विद्यार्थी सहभागी भए। यसको नतिजा ८ सेप्टेम्बर २०२६ मा सार्वजनिक भयो। यसपटक विज्ञान मुख्य विषय थियो, तर पढाइ र गणित विषयको पनि मूल्याङ्कन गरिएको थियो। प्रतिवेदनले कृत्रिम बुद्धिमत्ता, विद्युतीय उपकरणबाट हुने विचलन, गलत सूचनासँग जुध्ने क्षमता र विद्यार्थीको विद्यालयसँगको सम्बन्धजस्ता विषयलाई पनि सिकाइको बदलिँदो संसारसँग जोडेर हेरेको छ।
ओइसीडीले पिसाको परिणाम सार्वजनिक गर्दैगर्दा पिसामा सहभागी धेरै शिक्षा प्रणालीमा विद्यार्थीको उपलब्धि लगातार घटिरहेको तथ्य प्रकाशमा आएको छ। सहभागी मुलुकहरूका निमित्त मात्र नभएर समस्त शिक्षा प्रणालीहरूका लागिसमेत यो सुखद विषय रहेन। नेपाल पिसामा सहभागी नभए तापनि यसले उजागर गरेका तथ्यहरू हाम्रो आफ्नै सिकाइ संकट र शैक्षिक बहसका निमित्त उत्तिकै अर्थपूर्ण छन्। यही पृष्ठभूमिमा, पिसाको पछिल्लो नतिजाले नेपालको पाठ्यक्रम, मूल्यांकन प्रणाली र बदलिँदो प्रविधिको सन्दर्भमा दिने नीतिगत तथा व्यावहारिक पाठहरूलाई केलाउनु नै यस लेखको मुख्य अभीष्ट हो।
पहिलो १० मा एसियाको बलियो उपस्थिति
पिसा २०२५ को नतिजामा पहिलो नजरमै देखिने महत्वपूर्ण तथ्य शीर्ष स्थानमा एसियाली शिक्षा प्रणालीहरूको बलियो उपस्थिति हो। आर्थिक सहयोग तथा विकास संगठनको प्रतिवेदनले विज्ञान, गणित र पढाइमा चीनका बेइजिङ, साङ्घाई, जियाङ्सु र झेजियाङ क्षेत्र (शहर) र सिंगापुरलाई सबैभन्दा उच्च प्रदर्शन गर्ने शिक्षा प्रणालीका रूपमा देखाएको छ। त्यसपछि इस्टोनिया, जापान, दक्षिण कोरिया, मकाउ, चिनियाँ ताइपेई र बेलायतजस्ता शिक्षा प्रणालीहरू तीनै क्षेत्रमा शीर्ष समूहमा छन्।
गणितमा सिंगापुरको प्रदर्शन विशेष रूपमा असाधारण छ। विज्ञान पढाइमा पनि सिंगापुर उच्च स्थानमा छ। चीनले पिसामा देशव्यापी प्रतिनिधि नमुना सामेल नगरी केवल बेइजिङ, शाङ्घाई, जियाङ्सु र झेजियाङका विद्यार्थीहरूलाई मात्र सहभागी गराएको छ। यी क्षेत्रहरू चीनका सर्वाधिक विकसित र शैक्षिक रूपमा उच्च प्रदर्शन गर्ने प्रान्त/शहर हुन्। यो नतिजा समग्र चीनको राष्ट्रिय औसत नभएर त्यहाँका उन्नत क्षेत्रहरूको क्षमता झल्काउने सूचक मात्र हो। त्यसैले चीनको प्रदर्शनलाई अन्य देशहरूको राष्ट्रिय औसतसँग प्रत्यक्ष रूपमा तुलना गर्न मिल्दैन।
तर समग्र तस्वीरले एउटा पुरानो धारणा फेरि बहसमा ल्याएको छ—के केही एसियाली शिक्षा प्रणालीहरू अनुशासन, नियमित अभ्यास, बलियो गणितीय आधार, शिक्षकको भूमिका र परिवारको उच्च शैक्षिक अपेक्षाका कारण अगाडि छन्? यसको अर्को पाटो पनि छ। उच्च अंक ल्याउने केही प्रणालीमा विद्यार्थीमाथि परीक्षा, गृहकार्य र प्रतिस्पर्धाको दबाब पनि धेरै हुन्छ। त्यसैले प्रश्न केवल कुन देश पहिलो भयो भन्ने होइन। उच्च उपलब्धि र स्वस्थ सिकाइबीच सन्तुलन कसरी कायम गर्ने भन्ने प्रश्न महत्वपूर्ण हुन्छ।
युरोपबाट इस्टोनिया शीर्ष समूहमा विशेष रूपमा चम्किएको छ। सीमित जनसंख्या र तुलनात्मक रूपमा सानो शिक्षा प्रणाली भए पनि इस्टोनियाले विज्ञान, गणित र पढाइमा धेरै ठूला शिक्षा प्रणालीलाई चुनौती दिएको छ। यसले ठूलो बजेट वा विशाल विद्यालय सञ्जाल मात्र सफलताको आधार होइन भन्ने देखाउँछ। स्पष्ट पाठ्यक्रम, सक्षम शिक्षक, समान अवसर र विद्यार्थीलाई सोच्न दिने कक्षाकोठा पनि उत्तिकै महत्वपूर्ण हुन सक्छन्।
फिनल्यान्डको कथा: शीर्ष स्थानभन्दा ठूलो प्रश्न
कुनै समय फिनल्यान्डलाई विश्वकै आदर्श शिक्षा प्रणालीका रूपमा प्रस्तुत गरिन्थ्यो। कम गृहकार्य, कम परीक्षा, शिक्षकप्रतिको उच्च विश्वास र विद्यार्थीकेन्द्रित शिक्षाका कारण फिनल्यान्डको नाम संसारभर चर्चित भयो।
तर पछिल्ला पिसा चक्रहरूमा फिनल्यान्डको अंक घट्दै गएको छ। सन् २०२५ मा पनि फिनल्यान्ड शीर्ष समूहमा छैन। यसलाई फिनल्यान्ड असफल भयो भनेर व्याख्या गर्नु हतारको निष्कर्ष हुनेछ। फिनल्यान्ड अझै पनि धेरै शिक्षा प्रणालीभन्दा माथि छ। उसको गिरावटले एउटा गम्भीर प्रश्न भने उठाएको छ—कुनै शिक्षा प्रणाली एकपटक सफल भएपछि सधैँ सफल रहन्छ भन्ने सम्भवत: हुँदैन।
यस अनुभवले नेपाल जस्ता देशलाई अर्को पाठ पनि दिन्छ। कुनै देशको विगतको सफलताको सूत्रलाई जस्ताको तस्तै नक्कल गरेर मात्र भविष्यको सफलता सुनिश्चित हुँदैन। समाज बदलिन्छ, विद्यार्थीहरूको जनसांख्यिक संरचना बदलिन्छ, बालबालिकाको जीवन बदलिन्छ, प्रविधि बदलिन्छ र शिक्षक गुणस्तर र सिक्ने तरिका पनि बदलिन्छ।
फिनल्यान्डको अनुभवले शिक्षकलाई सम्मान र स्वतन्त्रता दिनु महत्वपूर्ण हुन्छ भन्ने कुरालाइ कमजोर बनाउँदैन। बरु त्यससँगै आधारभूत पढाइ, गणित र विज्ञानमा विद्यार्थीको उपलब्धि निरन्तर हेर्नुपर्ने आवश्यकता देखाउँछ। परीक्षा कम हुनु र सिकाइ राम्रो हुनु एउटै कुरा होइन। वास्तविक चुनौती भनेको विद्यार्थीको सिकाइमा सुधार ल्याउने गरी मूल्याङ्कनलाई प्रयोग गर्नु हो, परीक्षालाई आफैमा शिक्षाको उद्देश्य बनाउनु राम्रो होइन।
कम्बोडियाबाट नेपालले के सिक्ने?
पिसा २०२५ मा कम्बोडियाको उदाहरण नेपालका लागि विशेष रुचिको विषय हुन सक्छ। कम्बोडिया यस मूल्याङ्कनमा नयाँ सहभागीमध्ये एक हो र उसको समग्र उपलब्धि शीर्ष शिक्षा प्रणालीसँग तुलना गर्ने अवस्थामा छैन। तर प्रतिवेदनले केही सहभागी शिक्षा प्रणालीमा सुधार र प्रगतिका संकेत देखाएको छ र कम्बोडिया पनि सुधार देखाउने देशहरूको सूचीमा परेको छ।
कम्बोडियाको महत्व नेपालका लागि अर्को ठाउँमा छ। सीमित स्रोत, विकासका चुनौती, ग्रामीण–सहरी असमानता र शिक्षा प्रणालीलाई बलियो बनाउने निरन्तर प्रयासका बीच पनि सुधार सम्भव छ भन्ने प्रश्न यसले उठाउँछ। गएका एक-डेढ दशकयता कम्बोडियाले शिक्षकमाथि ठुलो लगानी गरेको छ र अहिलेको सुधार त्यसको प्रतिफल हुन सक्छ। नेपालले कम्बोडियाबाट पिसामा कसरी उच्च अंक ल्याउने भन्ने पाठभन्दा पहिले कमजोर अवस्थाबाट कसरी सुधारको यात्रा सुरु गर्ने भन्ने पाठ खोज्नुपर्छ।
यसका लागि पहिलोपटक आफ्ना विद्यार्थी कहाँ छन् भनेर इमानदारीपूर्वक हेर्नुपर्छ। कुन कक्षामा पढाइको आधार कमजोर छ? कुन तहमा गणितको उपलब्धि स्तर तल परेको छ? कुन समुदायका बालबालिका पछि परेका छन्? शिक्षकलाई कहाँ थप सहयोग चाहिन्छ? पाठ्यक्रममा के कुरा धेरै छ तर गहिराइ कम छ? कम्बोडियाको अनुभवले नेपाललाई यही कुरामा प्रेरित गर्न सक्छ। तुलना गर्नुअघि आफ्नै अवस्था थाहा पाउनु र त्यसपछि सुधारको बाटो पहिल्याउनु जरुरी हुन्छ।
नेपालसँग विद्यार्थीको उपलब्धि सम्बन्धी पर्याप्त तथ्यांक उपलब्ध छ र यो सौभाग्य कमै मुलुकहरूसँग छ। तर उपलब्ध तथ्यांकको विश्लेषण र शिक्षण-सिकाइमा प्रयोग भने नगन्य अवस्थामा छ। यो नै शिक्षा सुधारको प्रस्थानविन्दु हुन सक्छ।पिसा केवल प्रतिस्पर्धाको मञ्च होइन, यो निदान गर्ने उपकरण पनि हो।
केवल अंक घटेको कुरा होइन
सन् २०१५ देखि २०२५ सम्म आर्थिक सहयोग तथा विकास संगठनका देशहरूको औसत गणित उपलब्धि २२ अंकले घटेको छ। पढाइमा गिरावट अझ ठूलो छ—२८ अंक। विज्ञानमा पनि दशकको अवधिमा गिरावट आएको छ, यद्यपि पछिल्लो तीन वर्षमा विज्ञानको औसत उपलब्धि तुलनात्मक रूपमा स्थिर छ।
अंकको भाषामा भन्दा यो गिरावट एक वर्षभन्दा बढीको सिकाइ बराबरको क्षतिजस्तो देखिन्छ। तर शिक्षाको जीवनमा सिकाइको यस्तो कमीलाई वर्षले मात्र नाप्न सकिँदैन।
पिसा २०२५ ले एउटा अर्को असहज तथ्य पनि देखाउँछ। आर्थिक सहयोग तथा विकास संगठनका देशमा प्रत्येक पाँच विद्यार्थीमध्ये करिब एक विद्यार्थी पढाइ, गणित र विज्ञान तीनै क्षेत्रमा न्यूनतम दक्षता तहभन्दा तल छन्। त्यसैले यसलाई विद्यार्थीको प्रदर्शन कमजोर भयो भनेर मात्र बुझ्नु पर्याप्त छैन। प्रश्न उल्टो पनि हुन सक्छ—हामीले विद्यार्थीलाई सिकाउने आधारशिला नै कमजोर बनाइरहेका त छैनौँ?
दोष केवल महामारीलाई दिन मिल्दैन
कोभिड–१९ महामारीपछि विद्यालय बन्द भए। कक्षा रोकिए। शिक्षक र विद्यार्थीबीचको प्रत्यक्ष सम्बन्ध टुट्यो। लाखौँ बालबालिकाको नियमित पढाइमा गहिरो असर पर्यो। त्यसैले अहिलेको कमजोर परिणामलाई महामारीको असर भन्न सजिलो छ। तर पिसा २०२५ ले त्यो सुविधाजनक व्याख्यालाई चुनौती दिन्छ।
धेरै देशमा विद्यार्थीको उपलब्धि महामारी आउनुभन्दा पहिल्यै घट्न थालेको थियो। विशेषतः पढाइको उपलब्धिमा आएको गिरावट लामो समयदेखि देखिँदै आएको थियो। महामारीले पुरानो समस्यालाई जन्म दिएको भन्दा पनि त्यसलाई अझ गहिरो बनाएको हुन सक्छ।
यसले एउटा महत्वपूर्ण नीतिगत प्रश्न जन्माउँछ। यदि समस्या महामारीबाट मात्र आएको होइन भने विद्यालयलाई महामारीपूर्वको अवस्थामा फर्काउनु समाधान होइन। अब प्रश्न यो हो—हामी महामारीपूर्वको पुरानै शिक्षण व्यवस्थामा फर्किन खोज्ने कि शिक्षाले किन वर्षौँदेखि आफ्नो प्रभाव गुमाउँदै गइरहेको छ भन्ने मूल कारणलाई पहिचान गरेर नयाँ मार्ग बनाउने?
पढ्ने क्षमता र ध्यान दिने क्षमता
पिसा २०२५ को सबैभन्दा अर्थपूर्ण पक्ष सम्भवतः पढाइमा आएको गिरावट हो। एउटा बच्चाले पढेर अर्थ बुझ्न छोड्नु, प्रश्न देखेर तर्क गर्नु भन्दा प्रविधिको प्रयोग गरेर उत्तर खोज्न थाल्नु, कुनै जटिल विषयमा केही समय टिकेर सोच्न नसक्नु— प्रतिवेदनमा उल्लेख गरिए अनुसार यी परिवर्तनहरू परीक्षाको अंकभन्दा धेरै गम्भीर हुन सक्छन्। पढ्नु भनेको अक्षर चिन्नु मात्र होइन, एउटा विचारसँग स्थिर भएर केही समय बस्नु हो। लेखकले के भन्न खोजेको हो भनेर बुझ्नु हो। आफू सहमत नभएको विचारलाई पनि पहिले बुझ्ने प्रयास गर्नु हो। दुई अनुच्छेदबीचको सम्बन्ध पत्ता लगाउनु हो। प्रमाण कमजोर छ कि बलियो भनेर छुट्याउनु हो।
तर आजको बालबालिकाको संसारले उसलाई निरन्तर अर्को कुरातिर बोलाइरहेको छ। एउटा सन्देश, अर्को सूचना। एउटा छोटो दृश्य, अर्को शीर्षक। फेरि अर्को सूचना। हाम्रो समयले बालबालिकालाई धेरै कुरा हेर्न सिकाएको छ, तर एउटै कुरा गहिरोसँग हेर्न कति समय दिएको छ?
पिसा २०२५ मा पढाइका लामो पाठ र उच्च तहको सोच आवश्यक पर्ने प्रश्नमा विद्यार्थीको प्रदर्शन बढी कमजोर भएको देखिन्छ। त्यसैगरी हेस्टी रिडिङ (कुरो नबुझी हतारमा पढ्ने प्रवृत्ति) बढेको छ। सन् २०१८ मा करिब करिब ४.५–५ प्रतिशत विद्यार्थीमा देखिएको यस्तो प्रवृत्ति सन् २०२५ मा करिब ९ प्रतिशत पुगेको प्रतिवेदनले देखाउँछ। हतारमा पढ्दा आँखाले अक्षर त देख्छ, तर मस्तिष्कले तर्क, सन्दर्भ र गहिराइ बुझ्न नपाउने भएकाले सिकाइ सतही बन्न पुग्छ र भ्रम तथा गलत बुझाइको जोखिम बढ्छ।
यसको अर्थ केवल बालबालिकाले छिटो पढ्न थाले भन्ने होइन। गहिरो पढाइका लागि चाहिने धैर्य, ध्यान र कठिन पाठसँग टिकिरहने क्षमतामाथि पनि प्रश्न उठेको हो। यो केवल विद्यालयको समस्या होइन। यो हाम्रो सामाजिक जीवनको समस्या पनि हो। हामीले ध्यानलाई टुक्र्याउने संसार बनाएका छौँ र त्यसपछि बालबालिकालाई लामो समय ध्यान दिन नसकेको आरोप लगाइरहेका हुन सक्छौं।
प्रविधि आयो, तर सिकाइ?
शिक्षाको संसारले प्रविधिलाई लामो समयदेखि मुक्तिको साधनका रूपमा प्रस्तुत गर्दै आएको छ। कक्षाकोठामा उपकरण पुर्याइयो, विद्युतीय पाठ्यसामग्री आयो, विद्यालयमा इन्टरनेट पुग्यो। अहिले कृत्रिम बुद्धिमत्ताका रुपमा एआई आएको छ। तर प्रविधि आफै सिकाइ होइन।
पिसा २०२५ ले यही कुरा सम्झाउँछ। कक्षामा विद्युतीय उपकरणको अत्यधिक प्रयोगले विद्यार्थीलाई विचलित गर्न सक्छ। एक चौथाइभन्दा बढी विद्यार्थीले विज्ञानको कक्षामा आफ्ना सहपाठीहरू विद्युतीय उपकरणका कारण धेरैजसो वा हरेकपटक विचलित हुने बताएका छन्।
कृत्रिम बुद्धिमत्ताको प्रश्न अझ जटिल छ। यदि विद्यार्थीले कुनै विषयमा सोच्नुअघि नै कृत्रिम बुद्धिमत्तालाई उत्तर लेख्न लगायो भने उसले उत्तर त पाउन सक्छ, तर सिकाइ गुमाउन सक्छ। अर्कोतर्फ, त्यसैलाई प्रश्न गर्न, जानकारी जाँच्न, तुलना गर्न र आफ्नै विचार सुधार्न प्रयोग गरियो भने त्यो उपयोगी हुन सक्छ। पिसा २०२५ को निष्कर्षले पनि कृत्रिम बुद्धिमत्ताको प्रयोगको परिणाम त्यसको उद्देश्य र प्रयोग गर्ने तरिकासँग जोडिएको देखाउँछ।
यसैले भविष्यको प्रश्न 'विद्यालयमा कृत्रिम बुद्धिमत्ता राख्ने कि नराख्ने?' होइन। प्रश्न यो हो—कृत्रिम बुद्धिमत्ताले विद्यार्थीको सोचलाई विस्तार गरिरहेको छ कि विस्थापित गरिरहेको छ?
धनी र गरिब विद्यार्थीको दूरी
पिसाको अर्को पुरानो तर अझै नसुल्झिएको प्रश्न सामाजिक असमानता हो। सुविधासम्पन्न र बञ्चित विद्यार्थीबीच विज्ञानमा ठूलो उपलब्धि अन्तर छ। पछिल्लो चक्रमा त्यो अन्तर केही घटेको देखिए पनि त्यसको अर्थ बञ्चित विद्यार्थीले उल्लेखनीय प्रगति गरे भन्ने होइन; कतिपय अवस्थामा सुविधासम्पन्न विद्यार्थीको उपलब्धि घटेकाले पनि अन्तर साँघुरिएको हो।
यो भिन्नता महत्त्वपूर्ण छ। यदि सबै विद्यार्थी माथि उठेका कारण अन्तर घट्यो भने त्यो प्रगति हो। तर माथि भएका विद्यार्थी तल झरे र तल भएका त्यहीँ रहे भने त्यो समानता होइन, सामूहिक गिरावट हो।
त्यसैले शिक्षाको भविष्यबारे छलफल गर्दा औसत अंक मात्र हेर्न मिल्दैन। कसले सिकिरहेको छ, कसले सिक्न पाएको छैन, कसलाई घरमा किताब छ, कसलाई शान्त ठाउँ छ, कसको हातमा विद्युतीय उपकरण छ र कसको घरमा पढ्ने समय नै छैन—यी प्रश्न पनि उत्तिकै महत्वपूर्ण छन्।
अब के गर्ने?
पिसा २०२५ लाई अर्को परीक्षा तयारी अभियानको निम्तो बनाउनु हुँदैन। देशहरूले आफ्नो स्थान माथि लैजान विद्यार्थीलाई अझ बढी अभ्यास गराउने, अझ बढी परीक्षा लिने र अझ बढी पाठ्यभार थप्ने बाटो रोजे भने हामी समस्याको मूलमा पुग्दैनौँ।
बरु हामीले शिक्षालाई सरल, मानवीय, जीवन्त र व्यावहारिक बनाउनुपर्ने हुन सक्छ। भलै कम होस्, तर सिकाइ गहिरो होस्। त्यसले धेरै माने राख्छ । बालबालिकाले राम्रोसँग पढ्न सिकून्। लेख्न सिकून्। गणना गर्न सिकून्। प्रमाण खोज्न सिकून्। गलत हुन डराउन छोडून्। एउटा कठिन प्रश्नसँग केही समय बस्न सकून्। शिक्षकसँग असहमत हुन सकून्। किताब बन्द गरेर आफ्नै भाषामा आफूले के बुझेँ भनेर भन्न सकून्।
यसका लागि शिक्षकलाई पनि शिक्षण-सिकाइको केन्द्रमा फर्काउनुपर्छ। प्रविधिले शिक्षकलाई विस्थापित गर्ने होइन, शिक्षकलाई अझ राम्रो शिक्षक बन्न सहयोग गर्ने हुनुपर्छ। पाठ्यक्रममा नयाँ–नयाँ विषय थप्दै जाने भन्ने चुनौती त छ नै, के कुरा वास्तवमै गहिरोसँग सिकाउन आवश्यक छ भन्ने प्रश्न पनि गर्नुपर्छ। विद्यालयलाई जीवनको निरन्तर हतारबाट केही समयका लागि अलग हुने ठाउँका रूपमा विकास गर्नुपर्छ—जहाँ विद्यार्थीले छिटो–छिटो सूचना ग्रहण गर्ने मात्र होइन, रोकिने, सोच्ने, बुझ्ने, प्रश्न गर्ने र गहिरोसँग सिक्ने अवसर पाऊन्।
बाहिरको संसारले बालबालिकालाई लगातार छिटो हुन भनिरहेको छ। विद्यालयले कम्तीमा कहिलेकाहीँ उनीहरूलाई ढिलो हुन, सोच्न, पढ्न, प्रश्न गर्न र चुपचाप बस्न सिकाउनुपर्छ। पिसा एउटा ऐना हो। ऐनाले अनुहार बिगार्दैन; उसले अनुहारमा भएको कुरा देखाउँछ। त्यसैले २०२५ को परिणाम देखेर विद्यार्थीलाई दोष दिन सजिलो होला। त्यसो गर्दा हामीलाई गलत दिशामा लैजान सक्छ।
हामीले बालबालिकालाई यस्तो संसार दिएका छौँ जहाँ सूचना पहिले भन्दा धेरै छ, तर ध्यान कम छ। ज्ञानको पहुँच पहिले भन्दा सजिलो छ, तर गहिरो अध्ययनमा ह्रास आऊँदैछ; कृत्रिम बुद्धिमत्ता पहिलेभन्दा शक्तिशाली बन्दै गैरहेको छ, तर आफ्नै बुद्धिले प्रश्न गर्ने आवश्यकता झन् बढेको छ।
बेइजिङ–साङ्घाई–जियाङ्सु–झेजियाङ, सिंगापुर, इस्टोनिया, जापान, दक्षिण कोरिया, मकाउ, चिनियाँ ताइपेई र बेलायतको उच्च प्रदर्शनदेखि फिनल्यान्डको बदलिँदो अवस्था र कम्बोडियाले देखाएको सुधारको सम्भावनासम्मलाई एउटै कथामा राख्दा एउटा कुरा स्पष्ट हुन्छ।
शिक्षामा स्थायी विजेता हुँदैन। आज शीर्ष स्थानमा रहेको देश भोलि चुनौतीमा पर्न सक्छ। आज पछाडि रहेको देशले सही सुधारबाट ठूलो फड्को मार्न सक्छ। तर त्यसका लागि अंकको लाज वा गौरवभन्दा पहिले आफ्नै कमजोरी स्वीकार गर्ने साहस चाहिन्छ। सायद पिसा २०२५ को सबैभन्दा ठूलो सन्देश यही हो। आजका बालबालिका अहिले नै सिक्नै नसक्ने भएका होइनन्। उपलब्ध अन्तराष्ट्रिय विधार्थी उपलब्धि आधारमा के भन्न सकिन्छ भने हामीले उनीहरूलाई गहिरोसँग सिक्नका लागि कस्तो संसार बनाइरहेका छौँ भन्ने प्रश्न उठाउनुपर्ने बेला भने पक्कै भएको हो।
शिक्षाको भविष्य अझ धेरै उपकरण थपेर मात्र सुरक्षित हुँदैन। अझ धेरै पाठ्यक्रम बनाएर पनि हुँदैन। प्रत्येक समस्याको समाधान नयाँ प्रविधिमा खोजेर पनि हुँदैन। हामीले बालबालिकाको सबैभन्दा बहुमूल्य क्षमता—ध्यान दिएर हेर्ने, धैर्यपूर्वक पढ्ने, आफ्नै बुद्धिले सोच्ने र आफूले नबुझेको कुरामाथि फेरि प्रश्न गर्ने क्षमता—लाई नबचाइकन उनीहरूको भविष्य सुरक्षित बनाउन सक्ने छैनौ।
अन्ततः शिक्षा भनेको छिटो उत्तर पाउने कला होइन। सही प्रश्नसँग चिन्तन, मनन र विश्लेषण गर्दै विषयवस्तुमाथि पर्याप्त समय गम्न वा घोत्लिन सक्ने क्षमता हो। र आजको संसारमा सायद यही क्षमता सबैभन्दा बढी संकटमा छ। पिसा २०२५ ले यहि कुरा उजागर गर्न खोजेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
