पत्रकार साथीले ‘राजाको टिप्पणीबारे के सोच्नु भएको छ?’ भनेर सोधे। मैले भनेँ, ‘मेरो दिमागमा त जंगली हात्ती आइरहेको छ, निलगाई आइरहेको छ।’
‘संवाद यात्रा’को अनुभव साझा गर्ने क्रममा ६/७ महिना अगाडि जान्छु। आफूलाई कमजोर महसुस गरिरहेको थिएँ। पार्टीभित्र त संघर्ष गरिरहेको छु, ठोस नतिजा आउन नसकेको अवस्था छ। सरकारले खास काम गरिरहेको थिएन, छैन। संसद्मा प्रश्न त गरिरहेको छु, सामाजिक सञ्जालमा ‘आफ्नै दल सरकारमा हुँदा पनि गनगन मात्र गरिरहेको छ’ भन्ने प्रतिक्रिया आउँछ। चरम नैराश्यतिर पुग्ने खतरा छ। यही कुरा साथीहरूसँग बसेर छलफल गर्दा ‘तिमीले २०६० साल छेउछाउका कुरा गर्दा वा नयाँ–नयाँ मान्छेसँग भेटेपछि भएका संवाद साझा गर्दा जहिले पनि अनुहारमा चमक र उत्साह देखिन्छ’ भनेर सुनाए।
शक्तिसँग नजिक रहँदा, शक्तिशालीसँग संवाद गर्दा र तीसँग भएका संवादका कुरा सुनाउँदा अनुहारमा नदेखिने चमक/उत्साह सर्वसाधारणसँग गर्दा देखिन्छ भने काठमाडौँबाहिर गई आम नागरिकसँग किन संवाद/अन्तरक्रिया नगर्ने त भन्ने मनमा आयो। विविध वर्ग/समुदायका नयाँ–नयाँ मान्छे भेट्दा ऊर्जा र उत्साह आउँछ भने देश दौडाहामा किन नजाने भन्ने कुरा भयो।
कहाँ जाने त? तीन वटा विकल्पमा छलफल भए। एक, मध्यपहाडी राजमार्ग। दुई, हुलाकी राजमार्ग। तीन, प्रदेश सर्किट। अन्ततः मध्यपहाडी जाने निधो भयो। योजनामा काम पनि गरियो। यात्राको नामै ‘सुन्ने यात्रा’ जुराइएको थियो। तिथि मिति तोकियो, कार्यक्रम सार्वजनिक गरियो। अर्का महामन्त्री विश्वप्रकाश शर्माले भन्नुभयो, ‘महामन्त्रीले यसरी हिँड्नु सकारात्मक हो, तर दलका सबै जना हिँड्ने कार्यक्रम बनाऊँ न!’
‘समुदायमा कांग्रेस’ हामीले पार्टीको वार्षिक क्यालेन्डरमा राखिसकेकै थियौँ। समुदायमा कांग्रेसमै मेरो यात्रालाई पनि घुसाउने कि भनेर पनि छलफल भयो। शुरू हुनुभन्दा २/३ दिनअघि मध्यपहाडी यात्रा स्थगित गरियो।
समुदायमा कांग्रेस चलिरहेको बेला महामन्त्रीले ‘संवाद यात्रा’ भनिदिँदा छुट्टै कार्यक्रम पो भयो कि भन्ने साथीहरूको चिन्ता, प्रश्न र अलमल पनि थियो। अलिअलि आग्रह पनि थियो। शुरू गरिसकेपछि सबैको सहयोग भयो। कतिपय साथी त ‘लौ महामन्त्रीले के गर्न थाल्यो’ भन्दै पार्टी सभापतिसमक्ष पुगेछन्। ‘पार्टीको महामन्त्री कार्यक्रम लिएर देशैभरि हिँड्छु भन्दाखेरि किन टाउको दुखाएको?’ भन्दिनुभएछ। पार्टीले कार्यक्रमबारे विज्ञप्ति बनाएर ७७ वटै जिल्लामा पठाइदियो।
झापाको कार्यक्रममा विश्वप्रकाश शर्मा र कृष्ण सिटौला पनि आउनुभयो। गुट बिर्सिएर सबै जना आउनुभयो। प्रत्येक जिल्ला सभापतिले जिल्लाभरिको कार्यक्रम सकिएपछि सिमानासम्म आएर अर्को जिल्लाको सभापतिलाई ‘ह्यान्डओभर’ गरिदिनुभयो। त्यो क्रम रुपन्देहीसम्म जारी रह्यो। कोशी प्रदेशका साथीहरू सुदूरपश्चिमसम्म जाने भनेर निस्किसकेका थिए। एउटा ‘क्याराभान’ नै बन्ने अवस्था थियो।
कार्यक्रमलाई पूरै स्थानीयकरण गर्ने योजना थियो, तदनुरूप नै भयो। पार्टीको माथिल्लो (प्रदेश/जिल्ला) संरचना हाबी नभइदियोस् भन्ने थियो, चाहेकै अनुसार भयो। पार्टीको कार्यक्रमजस्तो देखिएता पनि पार्टी नेतृत्व हाबी भएन। सहभागी नेताहरूले कहीँ पनि आसन ग्रहण, भाषण गर्ने मौकालगायत मान सम्मान खोजेनन्। मलाई त यात्रामा प्रदेश/जिल्ला इकाईका को–को हुनुहुन्छ भन्ने पनि राम्ररी थाहा हुन्थेन।
हेर्दा सामान्य लाग्छ, तर दूरदराजका मान्छेले यसरी कुरा गर्न पाएका थिएनन्। गाउँ/टोलका चिया दोकान, चौतारोमा आपसमा गफिनु अर्को कुरा भयो। मसहितका कांग्रेस नेतृत्वसँग प्रत्यक्ष कुरा गर्न पाउने, गुनासो सुनाउने मौकाले मान्छेलाई उत्साहित बनाएको थियो।
यात्रामा सर्वसाधारणले उठाएका विषयलाई मैले तीन श्रेणीमा छुट्याएको छु। एक, देशको समग्र समस्याको उठान। जस्तो: कसैले सहकारीको कुरा उठाए, कसैले वैदेशिक रोजगारीमा ठगिएको कुरा त कसैले मल र सिँचाइको समस्या बताए। यस्ता समस्या सर्वत्र छन्। दोस्रो, नितान्त स्थानीय मुद्दा। जस्तो: बाह्रदशी भन्ने झापाको गाउँमा जोसँग बसे पनि जंगली हात्तीको कुरा उठ्यो। ठोरीमा स्थानीय छोटी भन्सार स्तरोन्नति गर्ने माग छ, ठोरीबाट राष्ट्रिय निकुञ्ज हुँदै चितवन पुग्ने बाटो रातको समयमा पनि आवतजावत गर्न पाइयोस् भन्ने छ।
तेस्रो, दल सम्बद्ध कुरा छ। जस्तो: पार्टीभित्र ह्यान भएन र त्यान भएन भन्ने छ। गठबन्धनप्रति व्यापक रोष छ, जितेको ठाउँमा पनि छ र हारेको ठाउँमा त झन् हुने नै भयो। त्यस्तै, भ्रष्टाचारको विषय छ। सरकारमा गएका पार्टीका साथीले हाम्रा कुरा सुनेनन् भन्ने पनि छ। कहीँकहीँ पार्टीको बैठक बसेको छैन भन्ने गुनासो छ।
मधेशको पनि दक्षिण भेगको यति गहिरो अनुभव मलाई थिएन। कार्यक्रमहरूमा गइरहेको हो तर प्यारासुट भ्रमण हुन्थ्यो। गयो, भाषण गर्यो, फर्कियो। अहिले त एकाबिहानैदेखि राति अबेरसम्म त्यही घुमेको छ, कुरा सुनेको छ, खाने, बस्ने, सुत्ने सबै त्यही भयो। मधेशलाई थप बुझ्ने मौका भयो।
कार्यक्रमका लागि म हरेक दिन बिहान ७ बजे तयार भइसकेको हुन्थेँ। निर्धारित कार्यक्रममा नरहेका ठाउँमा पनि रोकिन पर्ने, स्वागत सत्कार हुने, कतिपय सहृदयीहरूले घरमै लगेर खान खान आग्रह गर्ने, उत्सव र शोक परेका ठाउँमा उपस्थित हुनुपर्ने कारणहरूले गर्दा कार्यक्रमहरू निर्धारित समयभन्दा ढिलो–ढिलो हुन्थ्यो। कार्यक्रम धकेलिँदा धकेलिँदै साँझको लागि निर्धारित कार्यक्रम मध्यरातमा पनि पुग्यो। ४ बजेको कार्यक्रम ९ बजे, साढे ११ बजेसम्म पुग्यो।
सबैभन्दा ढिलो भएको कार्यक्रम साढे १२ बजे हो, त्यो सर्लाहीमा थियो। कार्यक्रम ७ बजे शुरू गर्ने भनिएको थियो। धेरै मान्छे त घर गएर सुतिसकेका होलान्, बाँकी रहेका पनि भयकंर रिसाएका होलान् भन्ठानेर डराउँदै पुग्दा मान्छे कुरेर बसेका छन्, रिसाएका पनि बिलकुल छैनन्। स्वागत गर्न सहभागीको तँछाडमछाड छ। सिराहा र सप्तरीमा पनि यस्तै भयो। सप्तरीमा एउटा कार्यक्रम राति साढे ११ बजे शुरू भएको थियो। जाडोको समयमा यस्तो उत्साह देखेपछि थाकेर लखतरान भएका हामीमा एक्कासि स्फूर्ति जाग्थ्यो।
गाउँमा सिँचाइको समस्या एकदमै सुनियो। पर्याप्त सिँचाई प्रणाली बनाउन सकिएको छैन, त्यो एउटा कुरा भयो। तर २/३ करोड रुपैयाँ लागतमा हुने मर्मत–सम्भार नगरिएका कारण भएकै सिँचाइ प्रणालीबाट समेत किसानको खेतमा पानी पुग्न सकेको छैन। मिटरब्याजको बहुआयामिक समस्या देखिन थालेका छन्। गाउँघरमा सामान्य लेनदेन नै ठप्प प्राय: छ। चर्को ब्याजले पिल्सिएकाहरू अब ऋणै नपाइने समस्यामा परेका छन्। बैंकिङ पहुँच नगण्य भएका गाउँघरमा यसले अर्को समस्या ल्याएको छ। फेरी अर्को खाले धन्दा शुरू भएको रहेछ। मिटरब्याजी–ब्याजपीडितको मिलापत्र गराइदिने अर्को खाले धन्दावाल देखिन थालेछन्। प्रशासनमा नगईकन मिलापत्र गर्न थालिएछ।
मलाई सहयोग गर्ने टोली म कार्यक्रममा पुग्नुभन्दा २/३ घण्टा अगावै कार्यक्रमस्थल पुगेर अरू व्यवस्थापनको काम त गर्थ्यो नै, आसनग्रहण र सम्बोधन नहुनेबारे सूचित गर्थ्यो। पार्टीका चल्तापुर्जा कोही भाषण गर्न थाले रोक्ने र सर्वसाधारणले बोल्ने हाम्रो यात्राको नियम सम्झाउँथ्यो। त्यसैले पनि यो यात्रा मैले अपेक्षा गरेभन्दा प्रभावकारी भयो। कार्यक्रमस्थल पुगेर बस्नासाथ माइक ‘अडियन्स’तिर लगिन्थ्यो, बोल्नेहरूको तँछाडमछाड हुन्थ्यो। एकाध ठाउँमा पार्टीको जिम्मेवारीमा रहेकाले धेरथोर बोले।
विगतका हाम्रा कार्यक्रमले जनजीविकासँग जोडिएका यस्ता समस्यालाई हामीबाट टाढा राख्थ्यो। यस्ता कुरा राजनीतिक होइनन् भनेर टारिएको थियो। कार्यक्रमको ढर्रा ‘हामीलाई सबै थाहा छ, तिमी सुन र ताली बजाऊ‘ हुनेगर्थ्यो। हामीले ढर्रा उल्ट्यायौं। ‘हामीलाई थाहा छैन, तपाईंहरू भन्नुहोस् र हामी सुन्छौं।’ यति मात्रै गर्दा कार्यक्रमको ढाँचा पूरै परिवर्तन भयो। कार्यक्रम अवधिभर मेरो दुई वटा डायरी भरिएछ। त्यति धेरै मानिसका कुरा छन्, मैले सिक्ने कुरा छन्।
यसैबीच पार्टीका अरू नेताहरू पनि तल पुगेर अन्तरक्रियामा हुनुहुन्छ। विमलेन्द्र निधि, प्रकाशमान सिंह, शेखर कोइराला, संशाक कोइराला गाउँगाउँ पुग्नु भएको छ। प्रकाशमान सिंह झुपडीमा ४/५ जना मान्छेसँग कुरा गरिरहेको फोटो नै मैले कतै देखेको थिएँ। शेखर कोइराला झापामा किसानसँग गफ गरिरहेको फोटो पनि देखेँ।
यसले पार्टीभित्र रातारात आमूल परिवर्तन नल्याए पनि पार्टीभित्र छलफल गर्ने तरिका, सोच्ने तरिकामा हल्का फेरबदल ल्याउँछ भन्ने विश्वास जागेको छ। माथितिर फर्किएको पार्टीको मुखलाई तलतिर फर्काऔँ भनिरहेको सन्दर्भमा यो कार्यक्रम उपलब्धिमूलक रह्यो। हामी मध्य बाटोमा पुगेका छौँ, पश्चिम क्षेत्र बाँकी छ। पश्चिमको विषय पनि आएपछि यसले एउटा चक्र पूरा गर्छ।
कांग्रेसमा यस्तो यात्रामार्फत तलसम्म जोडिने प्रयत्न यसअघि पनि नभएका हैनन्। रामचन्द्र पौडेल (वर्तमान राष्ट्रपतिले) दुई वटा यात्रा गर्नु भएको सम्झिन्छु। राणा शासनमै बिपी कोइरालालाई पक्रेर हिँडाउँदै काठमाडौँ ल्याएको बाटोमा पौडेलले पैदल यात्रा गर्नुभएको थियो। राणाको झ्यालखानाबाट गणेशमान सिंह ठोरी हुँदै भागेको बाटोको पनि यात्रा गर्नुभयो। पहिलेभन्दा अलि फरकचाहिँ के भने पहिले पार्टीकै साथीहरूसँग गफ गर्ने कार्यक्रम हुन्थ्यो। अहिले उपस्थित सबैसँग गफ गर्ने गरी कार्यक्रम बनाइयो।
पहिले पहिले कार्यक्रमहरूमा जाँदा हामी बेग्लै वर्गका मानिसझैं हुने गरेका थियौं। जनताबाट टाढा–टाढा हुँदै गएका थियौं। नेपालका राजनीतिक दलहरू पनि पछिल्लो समयमा अत्यधिक ब्युरोक्रेटिक भए। जनतासँग जोडिँदा तल के भइरहेको छ भनेर आफूलाई जानकारी हुने भयो, उनीहरूलाई पनि पार्टी र नेताका बारेमा नयाँ दृष्टिकोण निर्माण गर्न मद्दत हुने भयो।
एकाध महिनाकै अन्तरालमा केपी ओलीले मध्यपहाडी लोकमार्गबाट महाकाली–मेची छिचोल्नुभयो। रबी लामिछानेले निर्माण कार्य सुस्त भई यात्रामा सास्ती दिइरहेको नारायणगढ–बुटवल खण्ड पैदल यात्रा गर्नुभयो। यसरी हिँड्ने ट्रेन्ड शुरू भएको छ, यो बहुत सकारात्मक छ। राजनीतिक दलहरूलाई अझै बढी नागरिकसँग जोड्न मद्दत गर्ने काम जसले जोबाट सिके पनि हुन्छ।
२०६० सालमा मलाई एउटा ‘मिसन’मा छु जस्तो लागेको थियो। ब्याग बोकेर 'नाइट बस' चढेर देशभर पुगिन्थ्यो। जिल्ला–जिल्ला पुगेर क्याम्पसका कार्यक्रममा भाषण गरिन्थ्यो। स्वास्थ्य मन्त्रालयमा बस्दा पनि त्यस्तै अनुभूति भयो। छोटो समयमा कसरी नतिजा दिने भन्ने चुनौती र हुटहुटी थियो। बिहान ६ बजे उठेर मन्त्रालय गएपछि राति १२ बजेसम्म मन्त्रालयमै समेत धेरै बसियो। पछिल्ला केही वर्ष काम त गरिरहेको छु, तर ‘फोकस’ थिएन र मजा पनि आइरहेको थिएन। अहिले समुदायमा जाँदा अत्यन्त रमाइलो भयो। समय गएको पनि ख्याल भएन। राति सुत्ने बेला सधैँ १ जति बज्यो, बिहान ७ बजे उठेर कार्यक्रममा जान तयार भइन्थ्यो।
अहिले मेरो दिमागमा धेरै ‘स्टोरी’ छन्। केही दिनअघि मलाई भरतपुर एयरपोर्टमा पत्रकार साथीले ‘राजाको टिप्पणीबारे के सोच्नु भएको छ?’ भनेर सोधे। मैले भनेँ, ‘मेरो दिमागमा त जंगली हात्ती आइरहेको छ, निल गाई आइरहेको छ।‘ वास्तवमै मेरो दिमागमा यात्रामा सुनिएका कथा–व्यथा नै घुमिरहेका थिए, पूर्व राजाको टिप्पणीमा प्रतिटिप्पणी गर्ने जाँगरै पलाएन।
नेताहरू सबै यसरी समुदायमा जाने, बोल्ने कम र सुन्ने ज्यादा गर्ने हो भने हाम्रो सोच्ने तरिकै फरक हुन्थ्यो। हामी छलफल पनि त्यसैमाथि गर्ने थियौँ। नेताहरू कोठामा बस्दै गर्दा पनि जनजीविकासँग जोडिएका, चासो दिँदा सम्बोधन भइहाल्ने यस्तै विषयमा कुरा हुन्थे होला। नेतालाई ‘नेतागिरी गरेदेखि मान्छे नै भेट्दै आएको हो त’ भन्ने लाग्ला। तर, आफ्नो निर्वाचन क्षेत्रका बासिन्दा भेट्ने कुरा फरक हो। निर्वाचन क्षेत्रमा हामीले मतादातालाई लिने तरिका फरक हुन्छ, मतदाताले पनि हामीलाई लिने तरिका फरक हुन्छ। मैले निर्वाचन क्षेत्र घुमेर थाहा पाउने कुरा र यसरी समुदायमा गएर थाहा पाउने कुरा फरक हुन्छ।
हुलाकी सडक ठाउँ ठाउँमा गजब बनेको छ। हाम्रो यो यात्रा पूर्ण रूपमा सकिएपछि आयोजनाका साथीहरूसँग बसेर गफ पनि गर्नु छ। ‘तपाईंहरूले यसको प्रयोग कसरी गर्ने भनेर सोच्नुभएको छ?‘ भनेर प्रश्न सोध्छु। सडक कतै अत्यन्त साँघुरो सडक छ त कतै एकदमै फैलिएको छ। चितवनमा मान्छेहरू भन्थे– चाहिनेभन्दा ठूलो सडक बनाउँदा जग्गाजमिन नास भयो। त्यो बाटोसँग जोडिएको बस्तीको ‘क्वालिटी अफ लाइफ’ ठ्याक्कै देखिन्छ। त्यहाँका घरहरूको अवस्था हेर्दा यतापटि (पूर्व–पश्चिम हाइवे)को भन्दा फरक छ।
नेता केशवकुमार बुढाथोकीको निधनमा पार्टीले तीन दिन शोक मनाउने भनेपछि भैरहवाबाट यात्रा छाडेर फर्किएँ। फागुन ७ देखि शुरू हुने महासमितिको बैठकको कारण तत्कालै यात्रा सुचारु गर्न सकिएन। महासमिति बैठक सकिएपछि भैरहवाबाट कञ्चनपुरसम्मको यात्रा हुनेछ। यसअघि कार्यक्रम नै तयार भइसकेको मध्यपहाडीको यात्रा त गर्ने नै छु, यस्ता यात्रालाई निरन्तरता दिनेछु। पैदल यात्राहरू गर्ने सोच पनि छ।
(कांग्रेस महामन्त्री थापासँग गरिएको कुराकानीमा आधारित।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
