हुम्लाको कनका सुन्दरी गाउँपालिका-८ सिञ्जाका काफ्ले झण्डै डेढ दशकदेखि रामपुर र यसका आसपासमा कपडाको व्यापार गरिरहेका छन्।
रामपुर– बिहान उज्यालो हुनासाथ पिठ्युँमा कपडा बोकेर व्यापारका लागि गाउँ पस्नु जुम्लाका ‘काफ्ले बा’ अर्थात् शिव काफ्लेको दिनचर्या हो। गाउँमा उकालो ओरालो गर्दा कपडाको भारीले जीउ थकित भए पनि अनुहार भने जहिल्यै हँसिलो हुन्छ।
हुम्लाको कनका सुन्दरी गाउँपालिका-८ सिञ्जाका काफ्ले झण्डै डेढ दशकदेखि रामपुर र यसका आसपासमा कपडाको व्यापार गरिरहेका छन्। हरेक दिन ढाका टोपी, इस्टकोटकमा सजिएर पिठ्युँमा राडीपाखी, गलैँचा बोकेर गाउँ–गाउँमा पुग्छन्।
उमेरले पाँच दशक नाघेका काफ्लेलाई घुमन्ते व्यापारले अझै छोडेको छैन। उनी आफूले घुमन्ते व्यापार रहरले नभई बाध्यताले गरेको बताउँछन्। तर, यसमा रमाएका छन्।
अहिले उनट्ठ पाल्पाको रामपुरमा कोठाभाडा लिएर यस आसपासका स्थानमा व्यापारका लागि पुग्छन्। उनले शुरूमा करिब पाँच वर्षजति भारतको अलमुढा, नैनताल, बागेश्वर, गढवाल, हिमाचल, पिथरागढ, चम्पाव, डिडिहाटलगायत बजारमा राडीपाखीको व्यापार गरे।
नेपाल फर्किएपछि उनीपोखरा, पर्वतको कुस्मा, बुटवल, तानसेनलाई व्यापारको केन्द्र बनाएका छन्। तानसेनमा व्यापार गर्ने क्रममा उनी रामपुर आएका हुन्। “तानसेनमा व्यापार अलि कम हुन थाल्यो, तानसेनका एक जना बुबाले रामपुर ग्रामीण भेग भएकाले व्यापार व्यवसाय कम छ, त्यहाँका गाउँ–गाउँमा राम्रो व्यापार हुन्छ भने, म त्यही आशामा २०६८ सालतिर रामपुर आएर व्यापार शुरू गरेको हुँ, अहिलेसम्म पनि निरन्तर लागिरहेको छु,” उनले भने।
रामपुरमा शुरूआतमा राम्रो व्यापार भए पनि पछिल्ला वर्षमा भने व्यापार घटेको उनको अनुभव छ। रामपुरमा व्यापारिक पसल बढ्दै जादा घुमन्ते व्यापारमा असर पुगेको उनको अनुभव छ। पछिल्लो समय गाउँघरमा हुने मेला महोत्सवले गर्दा पनि व्यापारमा कमी आएको छ। उनको मुख्य व्यापार भनेको राडीपाखी हो। तर, अहिले बढी मात्रामा गलैँचा, तन्नाको व्यापार हुन्छ।
गाउँमा कहिलेकाहीँ आउने व्यापारीले स्थानीयलाई ठग्दा आफूहरू जस्ता घुमन्ते व्यापारीप्रतिको विश्वास कम भएको उनको अनुभव छ। पहिले गाउँ–गाउँमा पुग्दा डर, धम्की भोग्नुपरे पनि अहिले त्यसो नभएको उनको अनुभव छ।
“सबैले आफ्नै परिवारको सदस्यको व्यवहार गर्नुहुन्छ, राम्रोसँग चिन्नुहुन्छ, चलेको दरभाउअनुसार व्यापार गरिरहेको छु, दुई पैसा अहिलेसम्म ठगेर व्यापार गरेको छैन, सबैको माया र साथ पाएको छु, यहाँ बस्न ढुक्क छ, कसैको डर, धम्की छैन, त्यही भएर अन्यत्र ठाउँको तुलनामा रामपुरमा धेरै समय बसिरहेको छु,” उनले भने।
पहिला दिनमा २० हजारसम्म कमाई गर्ने गरेकामा अहिले व्यापार घटेर दिनमा बढीमा चार हजार जति कमाइ हुने गरेको उनी बताउँछन्। ठूलो सपना छैन, सामान्य खाना, लाउन पुगेकामा यसमै खुशीका साथ जीवन बिताइरहेको उनीले बताए। राडीपाखीका सामान जुम्लाबाट खरिद गरेर ल्याउँछन् भने अन्य सामान काठमाडौँबाट खरिदगरी व्यापार गरिरहेका छन्।
जुम्लामा राडीपाखी लिन उनी चार/चार महिनामा जान्छन्। काठमाडौँमा महिनामा एकपटक पुग्छन्। राडीपाखी विशेषगरी पूजाआजामा प्रयोग गरिने भएकाले बजारका सामानभन्दा राडीपाखी नै ग्राहकले रोज्ने गरेको उनले बताए। राडीपाखी भेडाको ऊनबाट बनेको हुनाले पूजाआजाका लागि चोखो हुन्छ भन्ने विश्वास छ।
काफ्लेको परिवारमा श्रीमती, एक छोरी, दुई छोरा छन्। उनीहरूको पालनपोषण, पढाइ खर्च काफ्लेको काँधमा छ। एक व्यक्तिको घुमन्ते व्यापारको कमाइले परिवारको गुजारा अहिलेसम्म चलेको उनी बताउँछन्।
जेठो छोरो स्नातक अध्ययन पूरा गरी अहिले लोकसेवा आयोगको तयारीमा छन्। कान्छो छोरो एसईई उत्तीर्ण गरेपछि वैदेशिक रोजगारीका लागि कोरियन भाषा पढ्दैछन्। छोरी कक्षा ११ मा गाउँकै स्कुलमा अध्ययनरत रहेको उनले बताए।
“अहिले छोराछोरी हुर्केबढेसँगै परिवारको खर्च बढ्दै गयो, थोरै खर्चले घरखर्च धान्न मुस्किल छ, व्यापार भने पहिलाको तुलनामा घट्दै छ, एक व्यक्तिको कमाइले जीविका चलाउन हम्मेहम्मे परेको छ, बाध्यताले गाउँ–गाउँमा राडीपाखी, गलैँचालगायतका कपडा बोकेर व्यापारमा हिँडेछु,” उनले भने।
बाउबाजेको पालादेखि नै चलिआएको यो पेसा उनले अहिलेसम्म पनि निरन्तरता दिइरहेका छन्। यसरी व्यापार गर्ने हिजोआज पुराना व्यक्तिले छाड्दै गएका छन्। बाउबाजेले गरेको पेसा आजसम्म धान्दै आएका काफ्ले यो पेसा आफ्ना सन्ततिलाई हस्तान्तरण गर्न इच्छुक छैनन्। परिवारको आर्थिक अवस्था कमजोर हुँदा पढ्ने रहर भए पनि पढ्न नपाएको उनको गुनासो छ।
कक्षा १० सम्म पढ्नु भएका काफ्ले आफूले दुःख गरेरै भए पनि छोराछोरीको उज्ज्वल भविष्य बनाउने सपना बुनेर व्यापारमा खटेका छन्। अहिले उनले रामपुरका अलावा पाल्पाकै पूर्वखोला, रम्भा, बगनासकाली गाउँपालिका, स्याङ्जाको चापाकोट नगरपालिका, मालुंगा, मिर्मी, बयरघारी, वालिङ, चिन्नेबास, गल्याङका गाउँसम्म व्यापार गर्छन्।
घुमन्ते व्यापारमा उनको साथमा पहिला दुई/तीन जना साथी थिए, अहिले भने उनी एक्लै छन्। उनीसँगै व्यापार गर्ने साथीहरू पछिल्ला समय सन्तोषजनक व्यापार नभएपछि यो व्यवसाय छाडेर गएका छन्। लामो समयसम्म रामपुरमा व्यापार गर्दै आएका काफ्लेले अब अर्घाखाँची र गुल्मी जिल्लामा पुगेर व्यापार गर्ने सोच बनाएका छन्।
उनको गाउँ जुम्लाबाट व्यापार गर्ने थलो पाल्पा रामपुर आउन वा रामपुरबाट जुम्ला जान एकतर्फी मात्रै तीन दिनको यात्रा गर्नुपर्छ। जुम्लाबाट शुरू गरेको यात्रा कालीकोट, दैलेख, सुर्खेत, कोहलपुर र बुटवल हुँदै पाल्पा रामपुर आइपुगिन्छ। त्यहाँबाट सामान यहाँसम्म ढुवानी गर्न सहज छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
