यो साता उकालोमा, ‘ईभीको लाइसेन्स लिन ‘म्यानुअल’ गाडीको ट्रायल किन दिनुपर्ने?’, ‘महान्यायाधिवक्ता भण्डारीको विवादास्पद निर्णयः नाबालिग बलात्कारका अभियुक्तविरुद्ध पुनरावेदन नगर्ने’, ‘नेपाल–साइनो जोगाइराखेका मलेसियाका ‘गुर्खा’ लगायतका खबरले हेडलाइन बनाए।
न्युजलेटरको शुरूआत पोखरा विमानस्थल निर्माणमा भएको आठ अर्ब भ्रष्टाचार र यसमा जोडिएका नेता-कर्मचारीबारेको समाचारबाट गरौँ। तीन वर्ष लामो अनुसन्धानपछि अख्तियारले पोखरा विमानस्थल निर्माणमा आठ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै पूर्वमन्त्री, पूर्वसचिवहरू, प्राधिकरणका उच्च अधिकारी, परामर्शदाता र चिनियाँ कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वअर्थमन्त्री रामशरण महत, पूर्वपर्यटनमन्त्री स्व. पोस्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपकचन्द्र अमात्य, १० पूर्वसचिवलगायतलाई अभियुक्त बनाएको छ। अख्तियारले आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै उनीहरूसहित ५५ जना र चिनियाँ कम्पनीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
पोखरामा पहिलोपटक सन् १९७१ मा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको परिकल्पना गरिएको थियो। सोही समयमा एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा जर्मन कन्सल्टिङ कम्पनी, डीआईडब्ल्यूआईले विमानस्थल निर्माणका लागि साइट छनोट, विस्तृत इन्जिनियरिङ अध्ययनसहितको गुरुयोजना बनाएको थियो।
सन् १९८३ मा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले उक्त मास्टर प्लानको समीक्षासहित विस्तृत अध्ययन गरेको थियो। अध्ययनले विमानस्थल एकैपटक निर्माण गरिए आर्थिक भार अत्यधिक पर्ने निष्कर्ष निकाल्दै दुई चरणमा परियोजना अघि बढाउन सुझाएको थियो। पहिलो चरण सन् १९९५–२००० बीच सम्पन्न गर्न ४० मिलियन अमेरिकी डलर लागत पूर्वानुमान गरिएको थियो। त्यस्तै, दोस्रो चरण सन् २००१–२०१० का लागि थप ४५ मिलियन डलर खर्च हुने जाईकाको अनुमान थियो।
पछि जाईकाको यो लागत अनुमानलाई समेत आधार लिई जोशी एसोसिएट्स कन्सल्टिङ इन्जिनियरिङ एन्ड आर्किटेक्ट्स्ले विमानस्थल निर्माणका लागि १४५ मिलियन डलर लागत अनुमानसहित विस्तृत अध्ययन प्रतिवेदन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बुझाएको थियो। प्राधिकरण सञ्चालक समिति बैठकले २०६७ असोज ६ मा उक्त लागत अनुमानलाई स्वीकृत गरेको थियो। यसै लागत अनुमानलाई मुख्य आधार मानेर अख्तियारले अनुसन्धान अघि बढाएको थियो। यो मुद्दामा को कसरी बने अख्तियारको अभियुक्त? यसबारे थप बुझ्न दिपा दाहालको यो रिपोर्ट पढ्नुहोस् : पोखरा विमानस्थलमा ८ अर्ब भ्रष्टाचार : कसरी बुने पूर्वमन्त्रीहरूदेखि चिनियाँ कम्पनीले सेटिङको जालो?
अब कुरा गरौँ महान्यायधिवक्ता सविता भण्डारी बरालले नाबालिग जबरजस्ती करणीसम्बन्धी संवेदनशील मुद्दामा पुनरावेदनको बाटो थुनिदिएको समाचारको। पहिलो महिला महान्यायाधिवक्ताको रूपमा नाम लेखाएकी भण्डारी बरालले नाबालिग जबरजस्ती करणीसम्बन्धी संवेदनशील मुद्दामा पुनरावेदनको बाटो थुनिदिएकी छन्।
महान्यायाधिवक्ताको कार्यालयले कात्तिक १६ गते १३ वर्षीया नाबालिग बलात्कार मुद्दाका ‘हाइप्रोफाइल’ अभियुक्त ४३ वर्षीय सुशील चटौतविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको हो।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेका अनुसार, पुनरावेदन नगर्ने निर्णय हुनुका दुई आधार छन्– पीडित बालिकाले मुद्दा अगाडि नबढाउन दिएको निवेदन र पीडितले अदालतमा अनुसन्धानका क्रममा दिएको भन्दा विपरीत गरेको बकपत्र। अर्थात्, घटना नभएको भन्दै दिइएको इन्कारी बकपत्र।
तर यो मुद्दामा पीडित र उनको परिवारलाई अनुसन्धानकै चरणदेखि चटौत परिवारले ‘होस्टाइल’ बनाएको थियो। होस्टाइल भइसकेको पीडित पक्षको निवेदनकै आधारमा महान्यायाधिवक्ता भण्डारीले मुद्दा पुनरावेदन नगर्ने निर्णय गरिदिएकी हुन्। भ्रष्टाचार नियन्त्रण र सुशासनको वाचासहित बनेको सरकारको प्रमुख कानूनी सल्लाहकारले नाबालिग बलात्कारजस्तो जघन्य अपराधका अभियुक्तलाई उन्मुक्ति दिलाएर न्याय पाउने बाटो नै थुनिदिएकी छन्। यसबारे थप जानकारी लिन मनबहादुर बस्नेतको यो रिपोर्ट पढ्नुहोस् :महान्यायाधिवक्ता भण्डारीको विवादास्पद निर्णयः नाबालिग बलात्कारका अभियुक्तविरुद्ध पुनरावेदन नगर्ने
साताका प्रमुख हेडलाइनहरू
देश-समाज
‘चुनाव नलड्ने मन्त्रिपरिषद्’का मन्त्री कुलमानलाई लागेको चुनाव
सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछि ‘चुनाव नलड्ने व्यक्ति’को खोजी गर्दा मन्त्रिपरिषद् विस्तारमा ४४ दिन अलमल भयो। तर कार्की प्रधानमन्त्री भएको तेस्रो दिनमै मन्त्री बनाइएका घिसिङ अहिले चुनावी अभियानमा छन्।
ईभीको लाइसेन्स लिन ‘म्यानुअल’ गाडीको ट्रायल किन दिनुपर्ने?
सरकारले ईभी किन्न कर छुटलगायत सुविधा दिएर प्रोत्साहनको नीति लिएपछि सडकमा यस्ता गाडीको चाप बढिरहेको छ। तर यस्ता अटोम्याटिक गाडीका लागि छुट्टै लाइसेन्सको व्यवस्था नहुँदा म्यानुअल गाडी सिक्नुपर्ने बाध्यता छ।
यस वर्ष न्यानो हिउँदः वर्षा कम हुने, सुक्खापन बढ्ने
चार वर्षअघिको हिउँदमा वर्षा भएयता सुक्खापन बढ्दो छ। यो साल पनि हिउँदमा वर्षा कम हुने सम्भावना छ, जसले गर्दा न्यूनतम तापक्रम सरदर आसपास वा त्योभन्दा माथि रहने सम्भावना हुन्छ।
सूर्यविनायक–धुलिखेल सडक : ठेक्काको म्याद सकियो, काम आधा मात्र
दुई खण्डमा ठेक्का लगाइएको सूर्यविनायक–धुलिखेल सडकको एउटा खण्डको म्याद सकिन दुई दिन बाँकी छ, अर्को खण्डको म्याद एक महिनापछि सकिँदैछ। तर तीन वर्षदेखि सास्ती खेपेका यात्रुले अझै सुबिस्ता नपाउने भएका छन्।
नेपाल–साइनो जोगाइराखेका मलेसियाका ‘गुर्खा’
क्वालालम्पुरको कोटा राया क्षेत्रमा ‘फैसन सेन्टर’ चलाउने शान्ति थापाका जिजुबाजे मलेसिया पुगेका थिए। यसरी चारपाँच पुस्ताअघि नै यहाँ आएका परिवारका सन्तान मलेसियाभरि छरिएका छन्। १०० वर्षअघि नै नेपाली कसरी मलेसिया पुगे?
विचार-टिप्पणी
दासहरूको पार्टी र लासहरूको पार्टी
कांग्रेसमा गगन थापा, विश्वप्रकाश शर्मा र गुरु घिमिरेहरू राम्रै किसिमले प्रस्तुत भएका छन्। तर कांग्रेसको सिंगो संरचनामा उनीहरू प्रभावकारी देखिँदैनन्।
संशयमा निर्वाचन, लोकतन्त्र संकटको डिलमा
फागुन २१ गते निर्वाचन नभए वर्तमान सरकारको वैधता नै समाप्त हुने र देशमा गम्भीर संवैधानिक संकट पैदा हुने हेक्का कार्की सरकारले राख्नैपर्छ।
जब समाजवादी आदर्श 'मसाजवादी' हुन्छ…
कांग्रेस र कम्युनिस्ट पार्टीको ट्रेडमार्क बचेको छ, राजनीतिक सिद्धान्तको हुर्मत लिइएको छ। महाधिवेशनको पूर्वसन्ध्यामा कुनै पनि खालका बहसहरू नहुनु नै त्यसको संकेत हो।
‘गाउँले उस्तै रहुन्, आफू झिल्के बनेर बेलाबखत पुग्न पाइयोस्’
भावना र स्मृतिका कारण सबैलाई गाउँ प्यारो लागे पनि सुविधा र सहजताका कारण अधिकांशले शहर रोजेको देखिन्छ। रहर र लहर हेर्दा यो कसैले थाम्न सक्ने देखिँदैन।
अन्तर्वार्ता
‘निर्देशन आओस्— ओमानबाट शुरू हुनेछ प्रवासी नेपाली मताधिकार’
‘दूतावासभित्रै दैनिक निश्चित संख्यामा पालोक्रम खुलाएर मतदान गराउन सकिन्छ। कम्तीमा एक साताको पालोक्रम राख्यौँ भने निश्चित रूपमा केही मत झर्छ नै। शतप्रतिशत त सम्भव छ भन्न मिल्दैन।’
‘भोट हालुन् वा नहालुन्, मताधिकार सबैलाई दिनुपर्छ’
‘एक तिहाइ नेपालीलाई मतदानबाट वञ्चित गराएर चुनिएको प्रतिनिधिले सबैको प्रतिनिधित्व गर्न सक्दैनन्। मताधिकार दिनुपर्छ भन्ने सर्वोच्च अदालतको फैसला पनि त्यसैमा आधारित थियो।’
कला, संस्कृति/ जीवनशैली
शिलालेख देखाउनू श्यामसुन्दरलाई
श्यामसुन्दरलाई लिपि अध्ययन निकै निरस विषय लाग्थ्यो, तर त्यही जागिरमा उनले ३५ वर्ष बिताए। अवकाशपछि लिपिकै विषयमा विद्यावारिधि पनि टुंग्याए, जुन पूरा गर्न उनलाई १४ वर्ष लाग्यो।
खेल
१०औँ राष्ट्रिय खेलकुदको छैन टुंगो, संघ र प्रदेश एक–अर्कातिर सोझ्याउँछन् औँलो
सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाधार लगभग तयार छन्, खेलाडी पनि प्रतीक्षामा छन्। तर मिति नै घोषणा हुन नसकेको दोष संघ र प्रदेशका खेल निकाय एक–अर्कातिर तेर्साइरहेका छन्।
विराटनगरलाई ४० रनले पराजित गर्दै लुम्बिनी एनपीएलको फाइनलमा
विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनी लायन्सले एनपीएलको उपाधिका लागि सुदूरपश्चिमसँगको भेट पक्का गरेको छ।
विश्व
दुई यार : पुटिनलाई गीता उपहार दिएर विश्वलाई के सन्देश दिन खोजे मोदीले?
सन् २०११ मा रुसमा भागवद् गीतामाथि प्रतिबन्ध लगाउने प्रयास भएको थियो र भारतीय पक्षले उक्त कदमको विरोध गरेको थियो। त्यतिबेला न भारतमा मोदी प्रधानमन्त्री थिए, न रुसमा पुटिन नै राष्ट्रपति।
म्यानमारको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु
एक सैन्य जेटले बुधबार साँझ बांग्लादेशको सिमानामा रहेको पश्चिमी राखाइन राज्यस्थित म्राक–यूको अस्पतालमा बम प्रहार गरेको अस्पतालका सहायताकर्मीले बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
