कोरला नाका सञ्चालनसँगै स्थानीयलाई व्यापार र रोजगारीको अवसर

कोरला नाकास्थित नेपालतर्फको दशगजा क्षेत्र र चीनतर्फको लिजी बजारमा माथिल्लो मुस्ताङका बासिन्दाले व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन्।

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि विगत दुई वर्षदेखि माथिल्लो मुस्ताङका स्थानीयले रोजगारी प्राप्त गरेका छन्। कोरला नाकास्थित नेपालतर्फको दशगजा क्षेत्र र चीनतर्फको लिजी बजारमा माथिल्लो मुस्ताङका बासिन्दाले व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन्।

यो नाका विसं २०८० कात्तिक २७ गतेदेखि खुला गरिएको थियो। त्यसअघि माथिल्लो मुस्ताङका नागरिकहरू कृषि, पशुपालन र घरायसी कामधन्दामा सीमित थिए। सो नाका माथिल्लो मुस्ताङका बासिन्दाका लागि मात्र खुला हुँदै आएकामा सरकारले अन्तरदेशीय व्यापारिक मार्गका रूपमा गत भदौ ३० मा पूर्ण रूपमा खुला गरेको हो।

लोमान्थाङ–२ किम्लिङका स्थानीय लिन्डुप गुरुङ कोरला नाकामा त्रिपाल टाँगेर व्यापार गरिरहेका छन्। नाका नखुल्दा कृषि र पशुपालनमै सीमित गुरुङले अहिले कृषि र पशुपालनलाई थाती राखेर व्यापार गर्न थालेको बताए। यहाँ त्रिपाल टाँगेर व्यापार गर्ने करिब ८० देखि ९० जनामध्ये हाल धेरैजसो जाडो छल्न बेँसी झरिसकेका छन्।

यो नाका समुद्री सतहदेखि चार हजार ६१० मिटरको उचाइमा अवस्थित छ। नाकामा चिसोका कारण पर्यटकीय रौनक घटे पनि नाका बन्द नहुने जनाइएको छ। नाकामा व्यापार गर्नेहरूले व्यापार व्यवसाय सञ्चालनका लागि आफ्नै आन्तरिक नियम बनाएका छन्।

पर्यटकहरूलाई चिनियाँ उत्पादन बिक्री गर्न आलोपालो व्यापार गर्ने सहमति भएको छ। त्रिपाल टाँगेर व्यापार गर्नेहरूका लागि एक जीप बराबर दुई जना व्यापारीले व्यापार गर्न पाउने र चार वटा मोटरसाइकल आएमा एक जीप बराबर दुई जनाले व्यापार गर्न पाउने नियम बनाइएको स्थानीय व्यापारी लिन्डुप गुरुङले जानकारी दिए।

नाकामा तीन सय जनाभन्दा बढीले व्यापार व्यवसाय सञ्चालन गरेका छन्। यहाँ एक सयभन्दा बढी युवाले लोड–अनलोड र विद्युतीय गाडी तथा मालवाहक कन्टेनर भित्र लाने–ल्याउने काम पाएका छन्। ती युवाहरूले दैनिक पाँचदेखि १० हजार रुपैयाँसम्म आम्दानी गर्छन्।