यो साता उकालोमा, ‘प्रवासी र बेजिल्ला मताधिकारः प्रधानमन्त्री कार्यालयमा थन्कियो अध्यादेशको मस्यौदा’, ‘अन्ततः सग्लो रहेन नेपाली कांग्रेस’, ‘मधेशमा बालेन ‘क्रेज’: अब की बार, बालेन सरकार’ लगायतका खबरले हेडलाइन बनाए।
यो साताको न्युजलेटर शुरू गरौँ— देशको चुनावी सरगर्मी र नेपाली कांग्रेसभित्रको पछिल्लो हलचलबाट। देशमा चुनावी सरगर्मी बढेको छ। निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरू निर्वाचन केन्द्रित अभियानको तयारीमा जुटेका छन्। यही बीचमा मुलुककै सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा भने ठूलो हलचल पैदा भएको छ। एकातिर कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन् भने, अर्कातिर शेरबहादुर देउवा पक्षले उक्त महाधिवेशनलाई ‘अवैधानिक’ भनिरहेको छ।
विशेष महाधिवेशनसँगै चर्किएको यो विवादले नेपाली कांग्रेस अब आधिकारिकताको कानूनी लडाइँमा प्रवेश गरेको छ। कांग्रेसका बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भएको दाबी गरिएको विशेष महाधिवेशनले गगनकुमार थापाको सभापतित्वमा नयाँ केन्द्रीय समिति चयन गरेको छ र आफू नै आधिकारिक कांग्रेस भएको दाबी गरेको छ।
अनि पूर्णबहादुर खड्का कार्यवाहक सभापति रहेको चार वर्षअघिको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले थापासहित तीन नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गर्दै पार्टीको संस्थापन आफै रहेको जनाएको छ।
१४औँ महाधिवेशनबाट शेरबहादुर देउवाको नेतृत्वमा चयन भएको (जेनजी आन्दोलनपछि देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि औपचारिक रूपमा भने खड्का नै नेतृत्वमा छन्) कार्यसमिति र विशेष महाधिवेशन पक्षधरले आह्वान गरेको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि कांग्रेस औपचारिक रूपमै दुई समूहमा विभक्त भएको छ। दुई वटा कार्यसमिति बनेसँगै राजनीतिक रूपमा कांग्रेस विभाजन भइसकेको छ। अब कानूनी रूपमा आधिकारिकता कसले पाउने भन्ने प्रश्न खडा भएको छ। हाल निर्वाचन आयोगमा दुवै पक्षले आधिकारिकताका लागि निवेदन दिएको अवस्था छ।
यसबारे थप पढ्न हेर्नुहोस् बीपी अनमोलको यो रिपोर्ट: कांग्रेसमा अब को आधिकारिक? सर्वोच्चसम्म पुग्न सक्छ कांग्रेस विवाद
अब कुरा गरौँ, प्रवासी र बेजिल्ला मतदानको व्यवस्था के भयो भन्ने समाचारको। फागुन २१ गते निर्वाचन हुने घोषणा भएपछि नै प्रवासी मताधिकार र बेजिल्ला मतदानको व्यवस्था मिलाउनुपर्ने माग उठेको थियो। प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याललाई माग सम्बोधनका लागि काम गर्न निर्देशन पनि दिएकी थिइन्।
गृह मन्त्रालयले कानूनी व्यवस्थाका लागि असोज तेस्रो सातादेखि काम थालेको थियो। तर चुनावी प्रक्रिया शुरू भइसक्दा समेत प्रवासी मताधिकार र बेजिल्ला मतदानको विषय सुनिश्चित भएको छैन।
सरकार र जेन–जीबीच हुने भनिएको सम्झौतापत्र तयार पार्दा यसै विषयमा कुरा नमिलेर करिब एक महिनासम्म सम्झौता रोकिएको थियो। सरकार पक्ष विदेशमा र बेजिल्ला बसोबास गर्नेलाई मतदानको व्यवस्था गराउन सहमत भएपछि मात्रै मंसिर २४ गते सम्झौताले औपचारिकता पाएको थियो।
गृहमन्त्रीको सचिवालयमा रहेर विदेश र बेजिल्ला बसोबास गर्नेको हकमा कानून ल्याउने मस्यौदामा काम गरेका सार्थक भट्टराई जेन–जीहरूकै मागअनुसार मन्त्रालयले मस्यौदामा काम सम्पन्न गरिसकेको बताउँछन्। सम्बन्धित सबै निकायसँग सुझाव मस्यौदामा आवश्यक विषयहरू समेटेको उनको भनाइ छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले पनि पुस ११ गते मन्त्रालयस्तरीय निर्णय भएर १२ गते उक्त मस्यौदा मन्त्रिपरिषद् पुगिसकेको बताउँछन्। “हामीले हाम्रो तर्फबाट गर्ने सबै काम गरिसकेका छौँ,” काफ्ले भन्छन्, “अब मन्त्रिपरिषद्बाट पारित हुनेबित्तिकै अध्यादेश जारी हुने हो।”
गृह मन्त्रालयले पुस १२ गते प्रधानमन्त्री कार्यालयमा मस्यौदा पठाए पनि उक्त मस्यौदालाई कर्मचारीले प्राथमिकतामा राखेका छैनन्। किन? पढ्नुहोस् आदित्य नेपालको यो रिपोर्ट : प्रवासी र बेजिल्ला मताधिकारः प्रधानमन्त्री कार्यालयमा थन्कियो अध्यादेशको मस्यौदा
साताका प्रमुख हेडलाइनहरू
देश-समाज
अन्ततः सग्लो रहेन नेपाली कांग्रेस
संस्थापन पक्षले कारबाही गरेपछि विशेष महाधिवेशन पक्षले महाधिवेशनको बन्दसत्रबाट गगन थापालाई सभापति निर्वाचित गर्दै नयाँ कार्यसमितिको घोषणा गर्ने तयारी गरेको छ।
चिनियाँ लामा नागरिकतामै बने ‘औतारी गुरु’
चिनियाँ लामा बन्न ५ करोड बुझाएको भनेर मन्त्रीले नै आरोपित गरेका बौद्ध धर्मका गुरु भूपति बज्र लामाको नागरिकता पनि विवादित छ। नागरिकता तोडमोडमा फौजदारी कसुरको जाहेरी परे पनि अनुसन्धान भएको छैन।
मधेशमा बालेन ‘क्रेज’: अब की बार, बालेन सरकार
मधेशका कतिपय जिल्लामा बालेनलाई ‘भावी प्रधानमन्त्री’का रूपमा भित्तामा ब्यानर राख्न थालिएको छ। यस्तो क्रेज देखिनुको मुख्य कारण पहिलोपटक मधेशी मूलका प्रधानमन्त्री देख्ने चाहना भएको स्थानीय बताउँछन्।
चीनमा डढेलो, काठमाडौँसम्मै धुम्म
सोमबार अचानक तातोपानी नाका बन्द गरियो, त्यसको कारण थियो चीनतर्फ फैलिएको डढेलो। डढेलोले तातोपानी क्षेत्रमा मात्र नभई काठमाडौँसम्मै असर गरेको छ।
सडकले बदलिएका मुस्ताङ र मुस्ताङी
मुस्ताङमा गाडी पसेको दुई दशक भयो, अहिले उत्तरी नाका कोरलासम्मै सवारीसाधनमा जान सकिन्छ। गाडी पुगेसँगै मुस्ताङीको भान्सामा पाक्ने परिकार र लगाउने पोसाक मात्र होइन, पेसा पनि फेरिँदैछ।
रविका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका कसुर फिर्ता: सरकार अभियुक्तप्रति किन उदार?
जेनजी विद्रोहपछि भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने वाचासहित बनेको सरकारको प्रमुख कानूनी सल्लाहकार एवं पीडितको पक्षबाट कानूनी प्रतिरक्षा गर्ने संवैधानिक कर्तव्य बोकेकी महान्यायाधिवक्ता सविता भण्डारी गम्भीर प्रकृतिका कसुरमा समेत अभियुक्तप्रति उदार देखिएकी छन्।
पोखरिया नगरपालिकाः संगठित बेथितिको अड्डा बनेको स्थानीय सरकार
सयौँ कर्मचारीको अवैध नियुक्तिका लागि घुसको खुला लेनदेन, कर्मचारीहरूको शंकास्पद बैंक कारोबार र आधारभूत सेवाको दयनीय अवस्थाले पर्साको पोखरिया नगरपालिका, स्थानीय सरकारको विकृत उदाहरण बन्न पुगेको छ।
उज्यालो नेपाल पार्टी नयाँ दलसँग मिलेर समानुपातिकमा नाम पठाउने तयारीमा
रास्वपासँगको एकता १२ दिनमै भत्किएपछि उनेपाको अध्यक्ष बनेका कुलमान घिसिङले ‘राष्ट्रिय परिवर्तन पार्टी’सँग मिलेर निर्वाचन लड्न समानुपातिकतर्फका उम्मेदवारको नयाँ सूची बुझाउने तयारी अघि बढाएका छन्।
रसुवागढी बाढीः बन्यो मितेरी पुल, मर्मत सकिएनन् जलविद्युत् आयोजनाहरू
गत असारको बाढीले बगाएको रसुवागढीस्थित मितेरी पुल चीन सरकारले निर्माण सकिसकेको छ, तर क्षतिग्रस्त जलविद्युत् आयोजनाहरूको मर्मत नसकिँदा पूर्णरूपमा सञ्चालन भएका छैनन्।
सम्झनामा ट्रलीबसः अझै छ सञ्चालनको सम्भावना?
५० वर्षअघि सञ्चालनमा आएको ट्रलीबस ३५ वर्षसम्म सेवा दिएर बन्द भयो। अबको पुस्ताले जीर्ण भएर राखिएका ट्रलीबस र ठाउँठाउँ रहेका अवशेष मात्र देख्न सक्छन्। के अझै सञ्चालनको सम्भावना छ?
विचार
कांग्रेसमा दाइ प्रथाविरुद्ध विद्रोह
देउवा हुन् या ‘सातभाइ’ वा शेखर हुन् या अन्य कोही, कांग्रेसका दाइहरूको मजबुन एउटै हो, ‘अझै नेतृत्वमा हाम्रो रोलक्रम आएको छैन, गगन अहिल्यै कसरी सभापति बन्न सक्छ?’
जस्तो ममता उस्तै गगन गर्जन
इमर्जेन्सीपछि प्रतिपक्षमा पुग्दा इन्दिरा गान्धीलाई कारबाही गर्न खोज्ने सरकारविरुद्ध प्रदर्शनहरूमा सहभागी भई ममता ‘नोटिस’ मा परेकी थिइन्। राजाले सत्ता हातमा लिएपछि भएको आन्दोलनमा गगन चम्किए।
इतिहासको आलोकमा देउवाले गुमाएको मौका
कांग्रेस पार्टी प्रजातान्त्रिक भए पनि व्यवहार तानाशाही भयो। प्रजातान्त्रिक पार्टीले त प्रजातान्त्रिक संस्कार, नियम, कानून र विधानअनुरूप अगाडि बढ्नुपर्ने हो। तर त्यो स्थिति देखिँदैन।
स्वास्थ्य
मानसिक स्वास्थ्य उपचारका नाममा ‘ठगी’, नियमन गर्न सर्वोच्चले दिएको आदेश अलपत्र
देशमा कति मनोपरामर्शदाता छन् र कुन पद्धतिबाट अभ्यास गरिरहेका छन् भन्ने न तथ्यांक छ, न त गलत अभ्यासबाट भइरहेको क्षतिको लेखाजोखा। कतिपयले त ‘म्युजिक थेरापी’का नाममा पनि ठगिरहेका छन्।
अर्थ/बजार
चुनौतीपूर्ण बन्दै डिजिटल अर्थतन्त्रको औपचारिकीकरण
सम्पूर्ण आर्थिक गतिविधिमा डिजिटाइजेसन गहिरोसँग घुलमिल भइसक्दा पनि डिजिटल व्यवसाय मोडेलहरूले कर प्रणालीमा ल्याएका चुनौतीहरू परम्परागत व्यवसायभन्दा फरक र जटिल छन्।
खेल
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलंका र भारत जाने
भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी२० पुरुष विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका र भारत जाने भएको छ।
विश्व
इरानमा विरोध प्रदर्शन: मृतकको संख्या २ हजार ५०० नाघ्यो
इरानी राज्य टेलिभिजनले पहिलोपटक मृतकहरूको पुष्टि गर्दै ‘धेरै शहीदहरू’ भएको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
