अभ्यास खेलमा क्यानडामाथि नेपाल ६ विकेटले विजयी

आईसीसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको छ।

काठमाडौँ– आईसीसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको छ। चेन्नईस्थित एमए चिदम्बरम मैदानमा क्यानडाले दिएको १६२ रनको चुनौतीपूर्ण लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। नेपालले १२ बल बाँकी छँदै लक्ष्य भेट्टाएको हो।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो। क्यानडाका लागि नवनित ढलिवालले ४१ र श्रीयस मोभाले अविजित ३८ रन जोडे। बलिङतर्फ नेपालका सन्दीप लामिछाने र कुशल भुर्तेलले २–२ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले १–१ विकेट हात पारे।

नेपालको जितमा आशिफ शेखको प्रदर्शन उत्कृष्ट रह्यो। उनले २९ बलमा ६ चौका र ३ छक्काको मद्दतले ५८ रनको अर्धशतकीय पारी खेले। यस्तै, सन्दीप जोराले ४४ र गुल्सन झाले अविजित ३१ रनको योगदान दिए। ओपनर कुशल मल्ल १२ रनमा आउट भएको खेलमा आशिफ 'रिटायर्ड हर्ट' भएपछि क्रिजमा पुगेका गुल्सनले इनिङ्स सम्हालेका थिए। यसअघि मङ्गलबार भएको पहिलो अभ्यास खेलमा पनि नेपालले युएईमाथि ७ विकेटको जित निकालेको थियो।

आगामी फेब्रुअरी ७ देखि भारत र श्रीलङ्कामा सुरु हुने विश्वकपमा नेपाल समूह ‘सी’मा रहेको छ। नेपालले फेब्रुअरी ८ मा साबिक विजेता इङ्ल्यान्डसँग खेल्दै आफ्नो विश्वकप यात्राको सुरुआत गर्नेछ। समूह ‘सी’मा नेपालसँगै वेस्ट इन्डिज, इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन्। नेपालले समूह चरणका आफ्ना सबै खेलहरू मुम्बईमा खेल्ने तालिका रहेको छ।