नेपाल इटलीसँग १० विकेटले पराजित

नेपालले पेस गरेको १२४ रनको सामान्य लक्ष्य इटलीले १२.४ ओभरमै भेटायो।

काठमाडाैँ– टी२० विश्वकप अन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। वानखेडे रंगशालामा भएको खेलमा इटलीले नेपाललाई १० विकेटले हराएको हो।

नेपालले पेस गरेको १२४ रनको सामान्य लक्ष्य इटलीले १२.४ ओभरमै भेटायो। इटलीका एन्थोनी मोस्काले ६२ रन बनाउँदा जस्टिन मोस्काले ६० रन बनाए।

यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रेको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १२३ रन बनाएको थियो। 

नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाएका थिए। उनले तीन चाैका प्रहार गरे। कप्तान रोहित पौडेलले दुई छक्कासहित २३ रन जोडे। यस्तै, आसिफ शेखले २० र दीपेन्द्र सिंह ऐरीले १७ रन बनाए। करण केसीले अविजित १८ रन बनाए।

ओपनर कुशल भुर्तेल ५ रनमा आउट भए भने लोकेश बम ३, गुलशन झा ३ र नन्दन यादव शून्यमा आउट भए। सन्दीप लामिछानेले ५ रन जोडे।

इटलीका क्रिशान कलुगामागेले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। बेन मानेन्तीले ४ ओभरमा ९ रन मात्र दिँदै २ विकेट लिए। अली हसन, जेजे स्मट्स र जसप्रीत सिंहले समान १/१ विकेट लिए।

नेपालले आफ्ना दुवै खेलमा हार बेहोरेको छ भने पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको इटलीले दोस्रो खेलमा नेपालसँग जित हात पारेको छ। नेपाल आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो।