जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा

पाहुना टोली आभा एफसी उज्वेकिस्तानलाई १–० ले पराजित गर्दै १४ वर्षपछि आहा रारा पोखरा गोल्डकपको फाइनलमा पुगेको जावलाखेल युथ क्लबले अब उपाधिका लागि आयोजक सहारा क्लबसँग भिड्नेछ।

कास्की— जावलाखेल युथ क्लब पोखरामा जारी २३औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित ‘आहा रारा पोखरा गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

पोखरा रङ्गशालामा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा पाहुना टोली उज्वेकिस्तानको आभा एफसीलाई १–० गोलले पराजित गर्दै जावलाखेल उपाधि नजिक पुगेको हो। आहा रारामा १४ वर्षपछि फाइनलमा स्थान बनाएको जावलाखेलले अब शनिबार उपाधिका लागि आयोजक टोली सहारा क्लब पोखरासँग प्रतिस्पर्धा गर्नेछ।

आयोजक सहारा क्लब बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै फाइनल पुगिसकेको छ। जावलाखेल यसअघि विसं २०६८ मा मनाङ मर्स्याङ्दी क्लबसँगको उपाधि भिडन्तमा पराजित भएयता फाइनल पुग्न सकेको थिएन।

खेलको ५२औँ मिनेटमा आभाका खुसन गनिजानोभले आत्मघाती गोल गरेपछि जावलाखेलले अग्रता लिएको थियो। धर्वेन्द्र कुँवरको क्रस बललाई क्लियर गर्ने प्रयास गर्दा गनिजानोभको खुट्टामा लागेर बल आफ्नै पोस्टभित्र छिरेको थियो। जावलाखेल खेलको ६०औँ मिनेटमा १० खेलाडीमा सीमित भए पनि त्यसको फाइदा पाहुना टोलीले उठाउन सकेन। आभाका सार्दोवेक मातुमारोभलाई मुक्का हानेपछि जावलाखेलका युवराज ढकाल रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका जावलाखेलका विदेशी खेलाडी जोखिदजोन राखिमोभ ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। गत माघ २७ गतेदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल फागुन ९ गते शनिबार हुनेछ।

प्रतियोगिताको विजेता टोलीले १४ लाख १ हजार रुपैयाँ र उपविजेताले ७ लाख १ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक सहारा क्लबले जनाएको छ। यसैगरी, सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन् भने अन्य पाँच विधामा उत्कृष्ट हुनेले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।