हिंसाबीच विश्वकप आयोजनामा मेक्सिकोप्रति फिफाको विश्वास

मेक्सिकोमा लागुऔषध गिरोहका नेताको मृत्युपछि हिंसा भड्किए पनि फिफाले आगामी विश्वकप आयोजना गर्ने मेक्सिकोको क्षमतामा शंका नरहेको जनाएको छ।

लागुऔषध गिरोहका शक्तिशाली नेताको मृत्युपछि भड्किएको हिंसाले मेक्सिकोको सुरक्षा अवस्थाबारे अन्तर्राष्ट्रिय चासो बढिरहेका बेला विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्षले आगामी विश्वकप आयोजना क्षमतामा पूर्ण भरोसा व्यक्त गरेका छन्। तीन महिनाभन्दा बढी समय बाँकी रहँदा देशले सह-आयोजकका रूपमा जिम्मेवारी सम्हाल्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठिरहेका बेला फिफा अध्यक्ष जियानी इन्फ्यान्टिनो विश्वस्त देखिएका हुन्।

उनले कोलम्बियामा आयोजित पत्रकार सम्मेलनमा मेक्सिकोको अवस्थाबारे निगरानी गरिरहेको बताउँदै मेक्सिको, त्यहाँकी राष्ट्रपति क्लाउडिया सेनबाम र सम्बन्धित निकायहरूमाथि पूर्ण विश्वास रहेको उल्लेख गरे। उनका अनुसार विश्वकपका खेलहरू सकेसम्म सहज रूपमा सम्पन्न हुनेमा फिफा आशावादी छ। “मेक्सिको महान् देश हो, संसारका अन्य देशमा जस्तै यहाँ पनि घटनाहरू हुन्छन्; हामी चन्द्रमामा बस्दैनौँ,” उनले भने। व्यवस्था र सुरक्षाको प्रत्याभूति सरकार, प्रहरी र अधिकारीहरूले दिने उनको विश्वास छ।

हालै मेक्सिकाली सेनाले ‘एल मेन्चो’ भनेर चिनिने नेमेसियो रुबेन ओसेगुरा सर्भान्टेसलाई कारबाहीका क्रममा मारेपछि देशका विभिन्न भागमा हिंसा फैलिएको थियो। उनी जलिस्को न्यु जेनेरेसन लागुऔषध गिरोहका प्रमुख मानिन्थे। त्यसपछिका दिनहरूमा लागुऔषध गिरोहका समूहले करिब एक दर्जन राज्यमा सवारीसाधन जलाउने र सडक अवरुद्ध गर्ने लगायतका गतिविधि गरेका थिए। अधिकारीहरूका अनुसार ती हिंसामा कम्तीमा ७० जनाको मृत्यु भएको छ।

हिंसाको प्रभाव खेल क्षेत्रमा पनि परेको छ। स्थानीय लिगका चार उच्चस्तरीय खेल गत आइतबार स्थगित गरिएका थिए, जसमा मध्य सहर क्वेरेटारोमा तय गरिएको खेल पनि समावेश थियो। सोही सहरमा भएको मैत्रीपूर्ण खेलमा मेक्सिकोले आइसल्यान्डलाई ४–० ले पराजित गरेको थियो। खेल शुरू हुनुअघि ओसेगुरालाई पक्राउ गर्ने अभियानका क्रममा ज्यान गुमाएका सैनिकहरूको सम्मानमा कोरेगिडोरा रंगशालामा एक मिनेट मौनधारण गरिएको थियो।

तालिका अनुसार जुन ११ मा मेक्सिको सिटीमा हुने उद्घाटन खेलसहित मेक्सिकोमा १३ वटा विश्वकप खेल आयोजना हुनेछन्। जलिस्को लागुऔषध गिरोहको प्रभाव क्षेत्र मानिने ग्वाडलाजाराले चार खेल आयोजना गर्ने तय छ। कोलम्बियाले एक खेल मेक्सिको सिटीमा र अर्को ग्वाडलाजारामा खेल्ने तयारी गरेको छ। कोलम्बियाली फुटबल महासंघका अध्यक्ष रामोन जेशुरूनले आफ्ना प्रारम्भिक दुई खेल मेक्सिकोमा भए पनि देशले वर्तमान संकट पार गर्ने विश्वास व्यक्त गरे। उनले यो अस्थायी समस्या मात्र भएको र छिट्टै समाधान हुने धारणा राखेका छन्।

तर सबै राष्ट्र समान रूपमा आश्वस्त छैनन्। पोर्चुगल फुटबल महासंघले मार्चमा मेक्सिकोसँग हुने मैत्रीपूर्ण खेलअघि घटनाक्रम नजिकबाट हेरिरहेको जनाएको छ। जमैकाले मार्च २६ मा ग्वाडलाजारामा इन्टरकन्टिनेन्टल प्लेअफ सेमिफाइनलमा न्यु क्यालेडोनियासँग खेल्ने कार्यक्रम छ, जसको विजेताले विश्वकप स्थानका लागि कङ्गोसँग प्रतिस्पर्धा गर्नेछ। जमैकन फुटबल महासंघका अध्यक्ष माइकल रिकेट्सले खेलहरू महिनाको अन्त्यतिर भएकाले केही समय बाँकी रहेको बताउँदै वर्तमान अवस्थाले आफूलाई चिन्तित बनाएको स्वीकार गरे। उनले कनकाकाफ र फिफाबाट आवश्यक निर्देशनको प्रतीक्षा गरिरहेको बताए।

मोन्टेरीमा अर्को प्लेअफ खेल हुने कार्यक्रम छ, जहाँ बोलिभियाले सुरिनामसँग खेल्नेछ र विजेताले प्रतियोगितामा स्थानका लागि इराकसँग प्रतिस्पर्धा गर्नेछ। सोमबार राष्ट्रपति सेनबामले ग्वाडलाजारामा हुने विश्वकप खेलहरू योजना अनुसार नै हुने र कुनै जोखिम नरहेको स्पष्ट पारेकी थिइन्।

इन्फ्यान्टिनोले फिफा मेक्सिकाली सरकारसँग नियमित सम्पर्कमा रहेको र परिस्थितिको निरन्तर अनुगमन भइरहेको बताए। उनका अनुसार आगामी विश्वकप ‘अविश्वसनीय उत्सव’ बन्नेछ र वर्तमान चुनौतीबीच पनि मेक्सिकोले आफ्नो दायित्व सफलतापूर्वक पूरा गर्ने विश्वास फिफासँग रहेको छ।