जुम्लामा शिशु जन्माएकी २० वर्षीया अस्मिता नेपालीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा निधन भएको छ।
कर्णाली— जुम्लाको तिला गाउँपालिका-३ सार्कीबाडाकी २० वर्षीया अस्मिता नेपालीको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको छ। फागुन २५ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शिशुलाई जन्म दिएकी नेपालीको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि बिहीबार हेलिकोप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको थियो।
प्रदेश अस्पताल सुर्खेतका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. ललिजङ्ग शाहीले उपचारका क्रममा बिहीबार राति अस्मिताको मृत्यु भएको जानकारी दिए। उनले भने, “नेपालीलाई गर्भावस्थामा रक्तचाप बढेको समस्याका कारण अस्पताल ल्याइएको थियो। उनमा मिर्गौला र कलेजोको पनि समस्या थियो। प्रसूति तथा स्त्रीरोग विशेषज्ञबाट हुनुपर्ने उपचार जुम्लामा सम्भव नभएपछि उनलाई यहाँ ल्याइएको हो।”
शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौँ लैजाने प्रयास गरिए पनि बिरामीको अवस्थाका कारण तत्काल त्यहाँ लैजान सकिने स्थिति थिएन। डा. शाहीका अनुसार, डायलासिसको सम्भावनाका लागि यहाँ ल्याई ‘सेन्ट्रल भेनस क्याथेटराइजेसन (सीभीसी)’ गर्ने प्रयास गरिए पनि त्यो सफल भएन। अन्ततः उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार थालिएको थियो। उपचारकै क्रममा बिहीबार राति १:०० बजे उनको मृत्यु भएको हो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक कमल थानीले बिरामीको अवस्था जटिल बन्दै गएपछि ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको जानकारी दिए। उनले थपे, “उनको कलेजो र मिर्गौलामा गम्भीर समस्या देखिएको थियो। जुम्लामा चार दिनअघि शिशु जन्मिएपछि उनको उपचार गरिएको थियो, तर दुर्भाग्यवश बचाउन सकिएन।” प्रतिष्ठानका अनुसार नवजात शिशुको स्वास्थ्य अवस्था भने सामान्य छ।
मृतकका श्रीमान् राज नेपालीले निरन्तर प्रयास गर्दा पनि पत्नीलाई बचाउन नसकेको भन्दै दुखेसो व्यक्त गरे। आर्थिक अवस्था कमजोर भएकाले ऋण काढेर सुर्खेतबाट कर्णाली राजमार्ग हुँदै आज शव जुम्ला पुर्याइएको छ। परिवारका अनुसार आजै उनको दाहसंस्कार गरिनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
